काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजनीतिक र सरकारको स्थिरताका लागि दुई ठूला दल मिलेर समीकरण बनाएको बताएका छन्। धनगढीस्थित नेपाली कांग्रेस कैलालीको कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले शान्ति, विकास, सुशासन र समृद्धिका लागि कांग्रेस–एमाले मिल्नु परेको जिकिर गरे।
‘संसदीय अभ्यासमा दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार बनाएको विरलै देखिन्छ, तर हामीले दुई ठूला दल मिलेर सरकार बनाएका छौँ’ गृहमन्त्री लेखकले भने, ‘निर्वाचनपछि स्थिर सरकार दिन नसक्ने अवस्था रह्यो । सरकार स्थिर नबन्दा मुलुकले सम्बोधन गर्नुपर्ने विषय र सेवाप्रवाह कमजोर बन्यो । त्यसैले स्थिर सरकार बनाऔँ भनेर दुई दल मिलेका हौँ।’
यसअघि तीनचार महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने, गठबन्धन फेरबदल भइरहने र त्यसले प्रदेश सरकार पनि फेरिने गतिविधिले जनतामा निराशा र राजनीतिप्रति वितृष्णा देखिएको उनले बताए। अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन, विकास निर्माणलाई अगाडि बढाउन र लगानीको वातावरण तयार गरी दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य लिएर दुई दल एक ठाउँमा उभिएको उनको भानाइ छ।
ठूला दल मिलेरै मुलुकमा बहुदल, शान्ति स्थापनाजस्ता परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले महत्वपूर्ण विषय सम्बोधन गर्न ठूला दल मिल्न आवश्यक रहेको बताए। उनले कांग्रेस र एमाले दुई प्रमुख प्रतिस्पर्धी दल भएकाले सुझबुझपूर्ण तरिकाले अगाडि बढ्न आवश्यक रहेको बताए।
‘हामी अहिले मिलेका छौँ, तर कांग्रेस एमाले प्रतिस्पर्धी पार्टी हुन्। समीकरण बनाएर अगाडि बढ्दै गर्दा सँगसँगै प्रतिस्पर्धा पनि दिमागमा छ’ उनले भने, ‘सहमति गरेर अगाडि बढीरहेको यो अवस्थामा संघ र प्रदेशका सरकारले अत्यन्त सुझबुझका साथ अगाडि बढ्न आवश्यक छ ।’ उनले कार्यकर्तालाई अहिलेको समीकरणको भाव र उद्देश्यअनुसार अगाडि बढ्न आग्रह गरे। गृहमन्त्री लेखकले समीकरण निर्माणका क्रममा भएको सहमति इमान्दारितापूर्वक पूर्ण कार्यान्वयन गरिने बताए।
राजनीतिक दलहरुबीच सहमति गरेरै संविधान संशोधन गरिने उनको भनाइ थियो। संविधानको समीक्षा गरेर समयसापेक्ष संशोधन गर्ने दुई दलबीचको सहमतिको एजेण्डा अगाडि बढेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘संविधानको १० वर्षको अभ्यासका क्रममा संविधानका समस्याहरु पहिचान गरेर राजनीतिक दलहरुको सहमतिका आधारमा संविधान संशोधन गर्छौँ।’