मकवानपुरको हेटौँडाबाट अनलाइनमार्फत ठगी गर्ने भारतीय गिरोहका नाैजनालाई मकवानपुर प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। प्रहरीले उनीहरूलाई हेटौँडा उपमहानगरपालिका– ४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घरबाट पक्राउ गरेको हो।
उनीहरूले वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगीधन्दा चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। साउन २१ गते साँझ ६ बजेको समयमा वाग्लेको घरको पाँचौँ तलाको फ्ल्याट भाडामा लिई मेडी असिस्ट नामको कम्पनीमार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षकले बताए।
ठगी कारोबारमा १२ जनाको संलग्नता रहे पनि प्रहरीले नाैजनालाई मात्रै पक्राउ गरेको हो । बाँकी तीनजना फरार रहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक रिजालका अनुसार फरार हुनेमा द्रविनकुमार सिंह, रजत शर्मा र प्रकाश रहेका छन् ।
यस्तै, पक्राउ पर्नेहरूमा भारतको पटना आलमगन्जका २८ वर्षका नवनीत कुमार, झारखण्डको २७ वर्षका शाहरुख खान, बिहारका २९ वर्षका कुन्दन कुमार, उत्तराखण्डस्थित नैनीतालका २६ वर्षका आशिष कब्डौला, झारखण्डको राँचीका ३४ वर्षका विशाल कक्कड, सोही स्थानका ३८ वर्षका लोकेशकुमार दुवे, २९ वर्षका विकासकुमार सिंह, वेस्ट दिल्लीका २८ वर्षका अरुण कुमार र उत्तर प्रदेशको गजियावादका ४० वर्षका कुनाल शर्मा रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका सात थान ल्यापटप, तीन थान राउटर, १३ थान मोबाइल, एक थान हार्डडिस्क, चार थान हेडफोन, दुई थान माउस, १८ थान ल्यापटपका चार्जर, वेब क्यामेरा एक थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प दुई थान र मेडी एसिस्ट लेखेको स्ट्याम्प दुई थान बरामद गरेको छ।
०८० फागुन १० गते हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा भारतको नयाँदिल्ली स्थायी घर भएका द्रविनकुमार सिंहको नाममा मेडी असिस्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने नाममा ठगी धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ । सिंहले आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट मेडी असिस्ट कम्पनी देखाएर मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर लिएर कम्पनीमा १२ जना व्यक्तिलाई काममा राखेको पाइएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए।
उनीहरूले भारतको राँचीस्थित मुख्य कार्यालयमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयरमार्फत काम गर्ने गरेको खुल्न आएको उनले बताए । सो सफ्टवेयरमार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको उनको भनाइ छ । अनुसन्धानका क्रममा हालसम्म कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानुनबमोजिम नगरिएको र अभिलेखीकरण नभेटिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक रिजालले पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए।
नयाँपत्रिकामा प्रकाशित छ ।