काठमाडौं । तामाङ भाषाको चलचित्र ‘मायाला घ्रान’ को प्रिमियर शो हाउसफुल भएपछि दर्शकहरुले भुईंमा बसेर चलचित्र हेरेका छन् ।
जमल स्थित राष्ट्रिय नाचघरमा भएको उक्त प्रिमियर शोमा चलचित्र हेर्न अत्याधिक दर्शकहरु आएपछि आयोजकलाई भिड व्यवस्थापन गर्न गाह्राे भएको थियो ।
खचाखचले भरिएको भिडको बिचमा चलचित्र प्रदर्शन हुदा दर्शकले भुईमा बसेर चलचित्र हेरेका थिए भने सयौं जना गेटबाट नै फर्किन बाध्य भएको थियो ।


हिमालयन छुल्ठिम कार्पेट उद्योगका निर्देशक छेवाङ लामाको प्रमुख आतिथ्यतामा भएको प्रिमियर शोमा, मरिण गाउँपालिकाका प्रमुख विमर्श मोक्तान, तामाङ चलचित्रका महानायक अमिर दोङ, नेपाल सितोरियो कराँतेका राष्ट्रिय प्रशिक्षक ज्ञान बहादुर जिम्बा तामाङ, तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बल लगायतका विशेष अतिथिहरुको उपस्थितिको बिच चलचित्र देखाएको थियो ।
जिम्बा फिल्म् प्रालिको १३ औ चलचित्र मायाला घ्रानमा नायक कृष्ण लामा, नायिका अबिना गोले, आशिष रुम्बा, छिरिङ मोक्तान, सुनलाल वाइबा लगायतका दर्जनौं कलाकारहरुको अभिनय रहेको छ भने चलचित्र निर्देशन निमा लामाको रहेको छ ।
पेमा लामा योञ्जन प्रस्तुत कर्ता रहेको उक्त चलचित्रको पटकथा कृष्ण लामाको रहेको छ । विशेषगरी तामाङ चलचित्रमा समेत पुस्तान्तरणको बहस चलिरहेको बेला यस चलचित्रमा पनि दोस्रो पुस्तामा चलचित्र हस्तान्तरण गर्न खोजेको देखिन्छ ।


कथा, विषयवस्तु, अभिनय, गीत संगीत, छायांकन लगायत सबै पक्षलाई दर्शकले रुचाएको छ । गाउँ र शहरको कथामा तालमेल अनि पछिल्लो युवा पुस्ताको मोनविज्ञानलाई समेत चलचित्रले न्याय गर्न खोजेको तामाङ चलचित्रका महानायक अमिर दोङले उज्यालो नेटवर्कसंगको संवादमा बताए ।
उनले भने ‘ हाम्रो चलचित्रको बजार सानो छ, निर्माताले बजार हेरेर थोरै लगानीमा चलचित्र बनाउन खोज्छ त्यसका लागि कलाकार, निर्देशक देखि सिंगो टिमले कडा मेहनत गर्नुपर्छ, त्यो कुरा चलचित्र मायाला घ्रान हेरेपछि पनि पुष्टि हुन्छ ‘ साथै उनले मायाला घ्रान चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्ने बताए ।
सयौं दर्शकहरु चलचित्र हेर्न नपाएर फर्केको र चलचित्र हेरेपछिको दर्शकको प्रतिक्रियाले उत्साहित भएको भन्दै यस चलचित्रका प्रस्तुतकर्ता पेमा लामा योञ्जनले देशको विभिन्न भागमा चलचित्र प्रदर्शन गर्ने तयारी रहेको बताए ।
चलचित्रको गीत संगीतमा गायक तथा संगीतकार विशाल काल्तन, सुरेश लामा, गायिका जितु लोप्चन, सुमिना लो लगायतका कलाकारहरुले स्वर दिएका छन् ।






