एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने धम्की दिएका छन् । संयुक्तराज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीको आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने पुटिनले धम्की दिएका हुन् ।
‘यदि संयुक्तराज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ’ सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उनले भने । उनले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताए । राष्ट्रपति पुटिनले चेतावनी दिँदै भने, ‘हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका उपग्रहहरूको गतिविधिहरूलाई ध्यानमा राख्दै तिनीहरूको असर कम गर्न कदम चाल्नेछौँ ।’
पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्र सन् १९८७ मा अमेरिका र सोभियत संघले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बन्धी सन्धिको विषय थियो । तर, वासिङटन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बलसन्धिबाट फिर्ता लिए र एक–अर्कामाथि उल्लंघनको आरोप लगाए । पछि रुसले संयुक्तराज्य अमेरिकाले विदेशमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो