काठमाण्डौं । सन् २०२३ अक्टोबरमा हमासको आक्रमण र त्यसयता इजरायलको अतिक्रमणका कारण १९ जुन २०२४ सम्ममा गाजापट्टीमा ३७ हजार तीन सय ९६ मानिस मारिएको गाजा स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई मानवीय मामिला समन्वयका लागि राष्ट्रसंघीय कार्यालयले उद्धृत गरेको छ । मन्त्रालयको तथ्यांकमाथि इजरायली अधिकारीले विरोध गरेका छन् । यद्यपि यो तथ्यांकलाई इजरायली गुप्तचर सेवा, राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सही भनेर स्वीकार गरेका छन् । तथ्यांकको यस निष्कर्षलाई विभिन्न अनुसन्धानले समेत समर्थन गरेको छ, जहाँ राष्ट्र संघीय राहत एवं कार्य निकाय (युएनआरडब्लुए) का कर्मचारीको मृत्युदरमा भएको उतारचढावलाई मन्त्रालयले दस्ताबेजीकृत तथ्यांकसँग तुलना गरिएको थियो । र, यी अनुसन्धानले तथ्यांकमा छेडखानी भएको आरोप विश्वसनीय नरहेको जनाएको छ ।
धेरैजसो पूर्वाधार ध्वस्त भएका कारण गाजा स्वास्थ्य मन्त्रालयका लागि तथ्यांक संकलनको काम कठिन हुँदै गइरहेको छ । मन्त्रालयले अस्पतालमा मरेका वा मृत अवस्थामा ल्याइएका मानिसको संख्या, भरपर्दो मिडिया स्रोतबाट प्राप्त जानकारी र पहिलो प्रतिक्रियाकर्ताका आधारमा मृत्युसम्बन्धी अभिलेख तयार गर्नुपरेको छ । गाजामा मौजुदा परिवर्तनले अवश्यम्भावी रूपमा अभिलिखित गरिएको विस्तृत तथ्यांकलाई अवमूल्यन गरेको छ । नतिजा गाजा स्वास्थ्य मन्त्रालयले कुल मृत्यु संख्यामा अज्ञात शवको संख्याको छुट्टै अभिलेख राख्ने गरेको थियो । १० मे २०२४ सम्ममा ३५ हजार ९१ मृतकमध्ये ३० प्रतिशत मृतकको सनाखत भएको थिएन ।
तथ्यांकको गुणस्तरमा सुधार ल्याउन लागू गरिएको यो विधिलाई केही अधिकारी र समाचार एजेन्सीले तथ्यांकको शुद्धताको अवमूल्यन गर्न प्रयोग गरेका छन् । यद्यपि मृत्यु संख्याको अभिलेख वास्तविक मृत्यु संख्याभन्दा कम हुन सक्ने सम्भावना अत्यधिक छ । गैरसरकारी संस्था एयरवार्सले गाजापट्टीमा भएका घटनाको विस्तृत मूल्यांकन गरेको थियो र प्रायः पहिचानयोग्य मृतकका सबै नाम मन्त्रालयको सूचीमा समावेश नगरिएको भन्ने पत्ता लगाएको थियो । यसबाहेक, राष्ट्र संघले २९ फेब्रुअरी २०२४ सम्ममा गाजापट्टीमा ३५ प्रतिशत भवन ध्वस्त भइसकेको अनुमान गरेको थियो । यसले अझै पनि भग्नावशेषमा पुरिएका शवको संख्या उल्लेखनीय रहेको अर्थात् १० हजारभन्दा बढी शव रहेको अनुमान गर्न सकिन्छ ।
प्रत्यक्ष क्षतिका अतिरिक्त सशस्त्र द्वन्द्वले अप्रत्यक्ष रूपमा स्वास्थ्यमा प्रभाव पनि पार्छ । द्वन्द्व तुरुन्तै समाप्त भए पनि प्रजनन, सरुवा र नसर्ने रोगजस्ता कारणबाट महिनौँ र वर्षौंसम्म धेरै अप्रत्यक्ष मृत्यु भइरहन्छन् । यो द्वन्द्वको तीव्रतालाई हेर्ने हो भने कुल मृत्युको संख्या उल्लेखनीय हुन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य सेवा पूर्वाधारको विनाश, खाद्यान्न, पानी एवं आश्रयको चरम अभाव र सुरक्षित स्थानमा शरण लिन नसक्ने जनसंख्याले मृत्युसंख्यामा योगदान पुर्याउँछ । यसबाहेक गाजापट्टीमा सक्रिय केही बाँकी मानवीय संस्थामध्ये एक युएनआरडब्लुएको घट्दो रकम सहयोगले क्षतिको स्थितिलाई थप दुष्कर बनाएको छ ।
हालैका द्वन्द्वमा यस्ता अप्रत्यक्ष मृत्यु प्रत्यक्ष मृत्युको संख्याको तीनदेखि १५ गुणासम्म बढी हुने गर्छन् । अभिलिखित ३७ हजार तीन सय ९६ मृत्युमा प्रतिएक प्रत्यक्ष मृत्युबराबर चार अप्रत्यक्ष मृत्युको संयत अनुमान (त्यस्तो अनुमान जहाँ न्यूनतम वा यथार्थभन्दा पनि कम अनुमान गरिन्छ) लागू गर्दा गाजामा हालको द्वन्द्वका कारण एक लाख ८६ हजार वा बढी मानिसको मृत्यु भएको दाबी गर्नु गलत हुनेछैन । सन् २००२ मा गाजापट्टी जनसंख्या अनुमान २३ लाख ७५ हजार दुई सय ५९ को प्रयोग गर्दा गाजापट्टीमा कुल जनसंख्याको ७.९ प्रतिशत मानिस मारिएका छन् । ७ फेबु्रअरी २०२४ मा जब प्रत्यक्ष मृतकको संख्या २८ हजार थियो, तब युद्धविराम नभएको खण्डमा ६ अगस्ट २०२४ मा मृत्यु संख्या दुई किसिमको हुने अनुमान गरिएको थियो । यदि महामारी नफैलिए वा द्वन्द्वमा बढोत्तरी नभए ५८ हजार दुई सय ६० जनाको मृत्यु हुने अन्यथा ८५ हजार सात सय ५० जनाको मृत्यु हुने अनुमान गरिएको थियो ।
चिकित्सा सहायता, खाना, शुद्ध पानी र अन्य आवश्यकताजस्ता अत्यावश्यक आपूर्तिको वितरण सुनिश्चित गर्न गाजामा तत्काल युद्धविराम आवश्यक छ । यसका साथै यो द्वन्द्वमा पीडाको मात्रा एवं प्रकृतिलाई पनि अभिलिखित गर्न आवश्यक छ । ऐतिहासिक उत्तरदायित्व सुनिश्चित गर्न र युद्धको पूर्ण लागत स्वीकार गर्नका लागि सत्यमा आधारित भएर मापन गरिएको दस्ताबेजीकरण महत्वपूर्ण छ । र, यो कानुनी आवश्यकता पनि हो । जनवरी २०२४ मा अन्तर्राष्ट्रिय न्यायालयले तोकेका अन्तरिम उपायले इजरायललाई ‘विनाश रोक्न प्रभावकारी कदम चाल्न र नरसंहार महासन्धिको दायराभित्रका कार्यका आरोपसँग सम्बन्धित प्रमाणको संरक्षण सुनिश्चित गर्न आवश्यक रहेको जनाएको थियो । गाजा स्वास्थ्य मन्त्रालय मृतकको गणना गर्ने एक मात्र संस्था हो । यसबाहेक मृत्युको तथ्यांक युद्धपछिको बहाली, पूर्वाधार पुनस्र्थापना र मानवीय सहायताको योजना बनाउन महत्वपूर्ण हुनेछ ।
(यो लेख ५ जुलाई २०२४ मा प्रकाशित भएको हो र १० जुलाईमा यसमा रहेका त्रुटि संशोधन भएका हुन् । लेखक खतिब चिकित्सा महामारी वैज्ञानिक हुन्, म्याककी इजरायल जर्नल अफ हेल्थ पोलिसी रिसर्चको सम्पादकीय मण्डलका सदस्य हुन् भने युसुफ म्याकमास्टर विश्वविद्यालयका स्वास्थ्य विज्ञानका प्राध्यापक हुन्)