– संगिता पाख्रीन ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन यहि मिति २०८१ असार १६-२० काठमाडौमा सम्पन्न हुने निर्णय भए अनुसार महाधिवेशनको निम्ति सम्पुर्ण तयारिहरु लगभग पूरा भैसकेको छ । नेता कार्यकर्तामा एक प्रकारले उल्लासमय र उमंगमय वातावरण छाएको देखिन्छ । पार्टिलाइ थप गतिशिल बनाएर भरोसायोग्य मुल कम्युनिष्ट शक्तिको रुपमा स्थापित गर्न सकिने दृढ विश्वास कार्यकर्तामा देखिन्छ ।
नेकपा- एकीकृत समाजवादिले महाधिवेशन मार्फत के कस्तो फैसलाहरु गर्ला त ? राजनैतिक वैचारिक कार्यदिशा के कस्तो अबलम्बन गर्ला त ? यो केवल नेकपा- एकिकृत समाजवादिमा समाहित नेता कार्यकर्ताहरुको मात्र चासोको विषय रहेन,यो विषय सम्पुर्ण नेपाली राजनैतिक दल तथा राजनितीमा चासो राख्ने स्वदेश तथा विदेशमा रहने सम्पुर्ण नेपालीहरुको चासो र जिज्ञासाको विषय बनेको छ र सम्वन्धित सरोकारवाला सबै दल, संस्था र व्यक्तिहरुले बडो उत्सुकताका साथ हेरिरहेका छन् ।
स्वभावैले कुनै पनि दलको महाधिवेशनको कार्यभार भनेको पार्टिको विगतको कार्य प्रगती, पार्टिले विगतमा अवलम्वन गरेको वैचारिक कार्यदिशा र समग्र आन्दोलनको समिक्षा, आन्तरिक शक्ति निर्माण र संगठनात्मक अवस्था लगायत सम्पुर्ण सकारात्मक- नकरात्मक, बलियो र कमजोरी पक्षहरुको सुक्ष्म- सुक्ष्म अध्ययन विश्लेषण मुल्यांकन र समिक्षा गर्दै आगामी वैचारिक कार्यदिशा, रणनीति र कार्यनितिहरु तय गर्दै राष्ट्रिय राजनितिमा राज्य सत्ता प्राप्तिको खातिर पार्टिलाइ मुख्य शक्तिको रुपमा स्थापित गराउँदै राज्य सञ्चालनको मुलप्रवाह शक्ति वा राज्य सत्ता सन्चालनको मुल शक्ति वन्ने बनाउने ध्येय सहित सक्षम र सबल नेतृत्व निर्माण वा निर्वाचित गराउने कार्य सम्म पर्दछ ।
पार्टिले लिने सैद्धान्तिक – वैचारिक कार्यदिशा, पार्टिको संगठनात्मक प्रस्ताव, अवको नेपाली क्रान्ती वा नेपाली विसेषताको समाजवादि यात्रा कस्तो हुने आदि विषयमा पार्टिले केन्द्रीय सचिवालयमा व्यापक छलफल पश्चात वैचारिक प्रस्तावित दस्तावेज मातहत कमिटी मा छलफलको लागि पठाइ सकिएको अवस्था छ र यो तल्लो-तल्लो कमिटी र कार्यकर्ता माझ घनिभुत छलफल र वहस भैरहेको अवस्था छ । महाधिवेशन मा आउने प्रतिनिधिहरु पनि देशव्यापी रुपमा २०८१ असार ५ गते एकसाथ निर्वाचित भैसकेका छन् । उनिहरुले वैचारिक कार्यदिशा बारे महाधिवेशनमा छलफल र निर्णय वा फैसला गर्नेनै छन् ।
महाधिवेशनको मुख्य तीन कार्यभारहरु:
सबैलाई जानकारी छ कि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी नेपालको लामो कम्युनिष्ट आन्दोलनमा आएको सैद्धान्तिक,वैचारिक विचलनको कारण विद्रोहको जगमा उभिएर स्थापना भएको पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक उपलब्धिहरु समेत नामेट हुने गरेर कम्युनिष्ट आन्दोलनलाइ नै विसर्जन गर्ने हिसावले नेकपा एमालेमा आएको विचलनलाइ चिर्दै नेपालमा रहेको कम्युनिष्ट आन्दोलनको वर्तमान आवश्यकता र औचित्यलाइ पुष्टि गराउँदै वास्तविक र सहि समाजवादी आन्दोलनको नेतृत्व गर्ने कम्युनिसष्ट पार्टी को आवश्यकता भएर नै नेकपा एमालेको विसर्जनवादी नीति र नेतृत्व विरुद्ध विद्रोह गर्दै नेकपा एकीकृत समाजवादिको स्थापना वा निर्माण गर्नुपरेको हो । त्यसैले विद्रोहको औचित्य पुष्टि गराउँदै अवलम्वन गरिने विद्रोही विचार र नेतृत्वको अनुमोदन गराउनु यो महाधिवेशन को प्रमुख कार्यभार हो । दशौं राष्ट्रिय महाधिवेशन को मुख्यतया तीन कार्यभारहरु रहेका छन:
क.बिद्रोहको औचित्य पुष्टि र अनुमोदन ।
ख. सहि समाजवादी क्रान्तिको दिशामा अगाडी बढ्ने क्रान्तिकारी विचारको अनुमोदन ।
ग. बिद्रोह गर्ने क्रान्तिकारी नेतृत्वको अनुमोदन ।
यसरी नेकपा (एकीकृत – समाजवादी ) को माहाधिवेधनले मुख्यतया विद्रोह गर्नु पर्ने कारण र एमाले सँग विच्छेद गरिनु पर्ने कारण पुष्टि गराउँदै त्यो विद्रोहलाइ अनुमोदन गर्नु प्रथम प्रमुख कार्यभार हो । विभाजन एकता र रुपान्तरणको निम्ति विगतमा हामिले गरेको विद्रोहको औचित्यलाइ पुष्टि गर्दै अनुमोदन गराउनु पर्दछ ।
एमाले लगायत अन्य कतिपय कम्युनिष्ट पार्टिहरुले समाजवादी क्रान्तिकारी विचारलाइ नै परित्याग वा विसर्जन गरिसकेको अवस्थामा सहि समाजवादी आन्दोलनको नेतृत्वकर्ता सहि कम्युनिष्ट पार्टिको आवश्यकतालाई ध्यानमा राखेर पार्टी स्थापना गरिएको हुनाले सहि मार्क्सवादी समाजवादी विचार, दृष्टिकोण, व्यवाहार र क्रान्तिकारी विचारलाइ अनुमोदन गर्नु पर्ने छ ।
त्यसपछिको प्रमुख कार्यभार भनेको विद्रोहताका नेतृत्वदायी भुमिकामा रहेको नेतृत्वकर्ता नेताहरुको अनुमोदन नै हो ।
अवको नेतृत्व
विद्रोहको अनुमोदन सँगै क्रान्तिकारी समाजवादी विचारधाराको अनुमोदन पश्चात सवै भन्दा ठूलो कार्यभार भनेको सहि नेतृत्व को छनौट, निर्वाचन वा मनोनयन नै हो । हाललाइ नेतृत्वको कुरा गर्दा सर्वप्रथम नेकपा एकीकृत समाजवादी गठन गर्दै गर्दा खेरी धेरै नेता कार्यकर्ताहरुमा आएको दुविधा, अस्पष्टता र ढुलमुले चरित्रलाइ ख्याल गर्नु जरुरी छ ।
धेरै नेता कार्यकर्ताहरुले एमालेले लिएको बाटो गलत भएको थाहा पाएर पनि विभिन्न प्रलोभन, राजनितिलाइ पेशा झैँ स्वार्थ पुर्ती गरिखाने माध्यम वनाएर विद्रोह गर्ने आँट गरेनन् । जनताको स्वार्थ भन्दा आफ्नो स्वार्थलाइ केन्द्रमा राखेर साँचो र सत्य कुरा बोल्ने सम्म हिम्मत गरेनन र सहि बाटो हिड्न सम्म हिम्मत गरेनन् । विद्रोह गर्ने आँटै गरेनन् । देश र जनताको लागि सहि निर्णय लिनु भन्दा आफू कसरी सुरक्षित हुन्छु आफू कुन पदमा कसरी अटाउन सक्छु? भन्ने आफ्नै चिन्तामा मात्र रुमलिएको र आफ्नो भविष्यको मात्र चिन्ता गरेको पाइयो ।
यस्तो अवस्थामा एउटा साहसी दृढ विस्वास, आत्म विस्वास सहितको नेता र नेतृत्व को खाँचो र अपरिहार्यता थियो । जसको नेतृत्व वर्तमान पार्टी अध्यक्ष कमरेड माधव नेपाल वाट मात्र सम्भव भएको थियो । विद्रोहको लाइनमा रहेका धेरै नेताहरु आत्मसमर्पणवादी भगौडाको रुपमा देखा परेको कुरा सवैलाइ विदितै छ । यस्तो अवस्थामा नेतृत्व गरेर विद्रोहको जग वसाल्ने नेता र नेतृत्वको इतिहासले मुल्यांकन गर्नु पर्दछ । नेकपा एकीकृत समाजवादी नेपाली कम्युनिष्ट आन्दोलनलाइ यहाँ सम्म ल्याइपुर्याउने प्रमुख वामपन्थी दलको नेतृत्वदायी भुमिकामा रहने दुई दुई जना (झलनाथ खनाल र माधव नेपाल ) शिर्ष नेताहरु रहेको पार्टी हो । संख्या र आकारमा जे जस्तो अवस्थामा हाल देखा परेको भए पनि भविष्यमा नेपाली समाजवादी क्रान्तिको भावी कार्यभार पूरा गर्ने सवै भन्दा भरपर्दो विस्वासिलो र भरोसायोग्य पार्टी वन्ने हो । अन्य पार्टिहरुले यो विश्वास गुमाइ सकेको अवस्था छ । त्यस्को निम्ति सतिसाल झैँ अविचलित दृढ इच्छाशक्ति सहितको दुरदर्शी अन्य सवैतिरबाट स्विकार्य नेतृत्व जरुरी छ ।
यो सँगसँगै विद्रोहताकाको नेतृत्व को अनुमोदन जरुरी छ । जस्ले नेतृत्व गरेर विद्रोह गरे उनको नेतृत्वमा पार्टिलाइ थप संस्थागत गराउनु अहिलेको आवश्यकता हो । ढुलमुले चरित्रको नेताहरुबाट यो सम्भव हुन्न । पार्टी निर्माण पश्चातका छोटो अवधिमा पनि अन्य दलहरु सँगको सहकार्य गठवन्धन आदि गर्ने सवालमा पनि नेताहरुविच अन्योलता र अस्पष्टता प्रसस्तै देखा परेका थिए । जुन पार्टी काम लाग्दैन भनेर विद्रोह गरियो त्यै पार्टिलाइ हेर्ने र वुझ्ने दृष्टिकोण मा समेत दुविधा उत्पन्न भएको धेरै देखियो । विद्रोह गरेर स्थपना भएको पार्टिमा यस्तो अन्योलता देखा पर्नु दुखद कुरा हो यस्तो अवस्था बाट नेतृत्वले पार लगाउनु पर्दछ । पार्टिको आन्तरिक नेतृत्व गर्ने अलावा थप अन्य शक्ति अन्य दलहरुको र राष्ट्रिय अन्तरास्ट्रिय रुपमा पनि ग्राह्य नेतृत्व निर्माण गर्नु पर्ने हुन्छ ।
यस्तो अवस्थामा हाललाइ सवै भन्दा उपयुक्त नेतृत्व कमरेड माधव नेपालनै देखिनु हुन्छ । हाललाइ अन्य विकल्प को खोजी गर्नु जरुरी छैन । तर वहाँले पनि मतहतका अन्य पदाधिकारिहरुमा योग्यतम सक्षम नेताहरु र पार्टिको निम्ति योगदान गर्न सक्ने नेताहरुलाइ स्थान दिनु पर्ने हुन्छ । हाल काम गर्ने भन्दा बढी नेताहरुलाइ रिझाएर नेता वन्ने र अवसर लिने गलत प्रवृत्ती हावी छ । यसवाट मुक्त भएर सहि नेतृत्वहरुलाइ केन्द्रीय कमिटिमा सामेल गराउनु पर्दछ । सवै वर्ग, लिंग, क्षेत्रका नेताहरुलाइ समेटेर लैजानु सक्नु पर्दछ । परम्परागत हिसावले होइन कि अवको दिनमा सवै खाले गलत प्रवृत्तिलाइ तिलान्जली दिँदै पार्टिलाइ नयाँ सिरावाट हाँक्ने साहस गर्नै पर्दछ ।
* लेखक नेकपा एकीकृत समाजवादी दोलखा जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।