देउखुरी । लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री गाउँमा सिंचाई योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै वनघुस्री, सुरेश टोल, पश्चिम वनघुस्री, मझलाने टोलका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिन अहिले हराभरा भएको छ । वर्षौदेखि यस क्षेत्रका किसानले आकासेपानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा कमी आएको थियो । लमही नगरपालिकाद्धारा सहरी साशकीय पूर्वाधार आयोजना मार्फत कार्यान्वयनमा आएको हो । काम सम्पन्न भएर सिँचाइ योजनामा सञ्चालन गरिएको लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेलले जानकारी दिए । सिँचाइ सुविधा नहुँदा कतिपय किसानको खेत बाँझै भएको र अहिले योजना सम्पन्न भएसँगै किसानले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको स्थानिय खुसिराम चौधरीले बताए । सिँचाइ योजनाबाट यस क्षेत्रका करिब दुईसय घरधुरी कृषकको एकसय ५० विघा रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको वडाध्यक्ष गिरीले जानकारी दिए ।
सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राख्नुभएका वनघुस्री निवासी खुसिराा चौधरीले यसपालि भने असारमै खेत रोप्ने तयारी गर्नुभएको छ । योजना सम्पन्न भएपछि स्थानीय कृषकलाई धान रोपाइँ गर्न आकासे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको चौधरीले बताए । उनले भने,–। ‘सिँचाइ नहुँदा मैले तीन वर्ष जति केही खेत बाँझै राखेँ, केहीमा खेती गरेँ । अहिले कुलोमा पानी आएकाले बाँझो रहेको खेतमा असारको दोस्रो हप्ताभित्र धान रोप्ने तयारी गरेको छु । अब बाह्रै महिना खेती गर्न सकिने छ । सिँचाइ सुविधा नहुँदा यसअघि गाउँमा हिउँद र बर्षायाममा मात्र खेती गरिने हुँदा अब सधैँ गर्न सकिने छ ।’ सोही प्रकारले अर्का स्थानीय किसान प्रेमलाल चौधरीले सिँचाइको वैकल्पिक व्यवस्था नहुँदा सधैँ आकाशे पानीको भर पर्नुपर्ने बताए । उनले भने,–। ‘गाउँमा यसअघि सिँचाइ सुविधा थिएन, सिँचाइ सुविधा नहुँदा पनि पुर्खाहरूले धेरै दुःख कष्ट गरी खेती किसानीको काम गर्नुभयो, अब गाउँमा खेती किसानी गर्नलाई सहज भएको छ ।’ ‘अहिले खेतमा सिंचाईको पानी पुगेपछि आकाशे पानी पर्खेर वर्षको एक बाली धान खेतीमा चित्त बुझाउनुपर्ने अवस्था अन्त्य भएको छ । अब धानको सिजन बाहेक तरकारी लगाउने सोचेको छु ।
छोटो समयमै सिंचाईको योजना सञ्चालन गर्न सफल भएको लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बताए । उनले बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यसक्षेत्रमा ताजा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । यता लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले किसानको बर्षौदेखिको सपना पूरा भएको बताए । उनले सहज रुपमा सिंचाई पु¥याएर नगर क्षेत्रका किसानहरुको अवस्था फेर्ने निति अनुसार नगरपालिका अगाडि बढेको बताए। उनले गाउँका धेरै किसानको आर्थिक अवस्था बदल्न नगरपालिकाले कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताए । सिंचाईको व्यवस्था भएपछि धेरै किसानको आर्थिक अवस्थामा सुधार आउने विश्वास लिएको भन्दै नगर प्रमुख चौधरीले आफुले अहिले किसानले आफ्नै खेतबारीमा आफुलाई चाहिने भन्दा बढी अन्नवाली उब्जाउने छन् भन्ने विश्वास लिएको बताए । उनले कृषिमा आत्मनिर्भर बन्न सिंचाईलाई प्रथामिकतामा राखेको बताए ।