देउखुरी । जहाँ पायो त्यहीँ फोहोर फाल्नु हुन्न । नदीमा फोहोर फाल्नु हुँदैन भन्ने जानकारी नभएर फालेका हैनन्, फालेर केही हुन्छ र भन्ने अर्को अज्ञानता जानी जानी अंगालिरहेका छन् । सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा आत्मसात् गर्न व्यक्ति, घरपरिवार र समुदायले नसकेको जानकारहरूको दाबी छ । वातावरण शिक्षाको सैद्धान्तिक ज्ञानले फोहोर वा प्रदूषणले तिनै तत्वमा बढी असर गर्छ भनेर जोड दिने गरिएको छ ।नदीमा फोहोर फाल्दा त्यही पानी कसरी घरको धारासम्म आइपुग्छ र मानव स्वास्थ्यमा असर पर्छ भन्ने पनि सिकाउनु पर्छ । वातावरण प्रदूषण र मानव जीवन एक सिक्काका दुई पाटा हुन् । एउटा दूषित भयो भने अर्को पनि दूषित हुन्छ भन्ने हेक्का समुदायमा पुग्न नसकेको पाइएको छ ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री अर्जुन केसीले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताए । विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई लमहीमा सम्बोधन गर्दै मन्त्री केसीले यस्तो कुरा बताएका हुन् । उनले प्रदुषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गरे । मन्त्री केसीले सबै नेपाली नागीरकहरुले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताए । उनले अहिले विश्वको चुनौती भनेको जलवायु परिवर्तनको निर्मुल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताए । उनले हरेक नेपालीहरुले आफ्नो जन्मदिनमा एक विरुवा रोप्दै जाने हो भने देश हराभरा हुने जानकारी समेत गराए । मन्त्री केसीले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताए । उनले जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्ने बताउनुहुदैँ, जंगल र जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा राख्नुभयो ।
वातावरण प्रदूषणका मुख्य कारण के हुन् भनी लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेसँग राखिएको जिज्ञासामा उनले भने,–। ‘शहरीकरण र सवारी साधनको तीव्र वृद्धि हुनु, सवारी साधनले फाल्ने धुँवा, घर घरबाट निस्कने फोहोर र औद्योगिक क्षेत्रबाट निस्कने फोहोर मुख्य समस्या रहेका छन् ।’ कार्यक्रममा डिभिजन वन कार्यालय दाङ(देउखुरी)का डिभिजनल वन अधिकृत राजु क्षेत्रीले वातावरण दिवसकै दिन सांकेतिकरुपमा बुधवार जैविक विविधता ग्रिनपार्कको विभिन्न ठाउँमा वृक्षरोपण गरी त्यसको सुरुवात गरिने जानकारी दिए । उनले भने,–। ‘वन विभागको मुख्य काम नै वातावरण जोगाउने हो र वन जागाउने भनेको नै वातावरण जोगाउने हो । वृक्षरोपण गर्नुका दुई कारण छन्, हरियाली बढाउने र प्रदूषण घटाउने ।’
‘यसका लागि सामुदायिक वनहरूलाई सशक्तिकीरण गरिएको छ । वन विभागले हरियाली जोगाउन वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार मिलेर कार्यक्रम अगाडि सारेको छ । हरेक वर्ष वन विभाग र वन कार्यालयहरूले पनि वृक्षरोपण गर्छन् ।’
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले विश्व वातावरण दिवसको दिनलाई सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्प्रेरणा दिने विश्वास व्यक्त गरे । त्यसैगरी कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगिले मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्वन गर्न सबैमा आह्वान गरे।
यस्तै कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण
विश्व वातावारण दिवसको अवसरमा लमहीको जैविक विविधता ग्रिनपार्कमा बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा लमहीमा रहेको जैविक विविधता ग्रिनपार्कमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री अर्जुन केसीले श्रीखण्डको विरुवा रोप्नु भएको थियो । लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, लमही नगरपालिका एवम् डिभिजन वन कार्यालय दाङ (देउखुरी)को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको डिभजिन वन कार्यालय दाङ (देउखुरी)को डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बताए । हाम्रो भुमि, हाम्रो भविष्य भन्ने नारा सहित बृक्षारोपण गरी लमहीमा पनि विश्व वातावरण दिवस मनाइएको हो ।
वातावरण दिवसमा जनचेतनामुलक -याली
विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी बुधवार मनाइएको छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, लमही नगरपालिका एवम् डिभिजन वन कार्यालय दाङ (देउखुरी)को संयुक्त आयोजनामा लमहीमा जनचेतनामुलक र्याली निकालिएको थियो । ¥यालीमा सहभागीहरुले जथाभावी फोहर नफालौ, सभ्य नगरिकको परिचयन दिउ, वातावरण जोगाऔं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । लमही नगरपालिका विपद् शाखा प्रमुख गायत्री थापाले घरको फोहरलाई जथाभावी नफाल्न आग्रह गर्दै, लोटही सोता करिडोरमा जनचेतनामुलक ¥याली निकालिएको जानकारी दिए ।