काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सामेल गराउने पक्का भएको छ ।
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे ठोस निर्णय लिएका हुन् ।
तीन दलका शीर्ष तहमा भएको छलफल अनुसार नागरिक उन्मुक्ति र जनमतलाई जारी साताभित्रै मन्त्रिपरिषद्मा सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ ।
प्रदेशको अंकगणितलाई समेत ख्याल गरेर मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले १/२ दिनमै पुनर्गठन गर्न सक्ने उच्च स्रोतको दावी छ ।
नागरिक उन्मुक्तिबाट आफैँ सरकारमा सहभागी हुने अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । ‘म आफैँ सरकारमा जान्छु, प्रधानमन्त्रीसँग हाम्रो फाइनल कुरा भइसक्यो’ उनले भनिन् । उनका अनुसार प्रधानमन्त्रीले नागरिक उन्मुक्तिलाई पर्यटन मन्त्रालय दिने वचन दिएका छन् ।
माओवादीले पर्यटन र एमालेले महिला बालबालिका मन्त्रालय छाड्ने
यसैबीच माओवादीले लिएको पर्यटन मन्त्रालय छाड्ने भएको छ । नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउनका लागि माओवादीका हित बहादुर तामाङले सम्हालिरहेको पर्यटन मन्त्रालय छाड्ने भएको हो । ‘हित बहादुरजीले नेतृत्व गर्नुभएको मन्त्रालय नै छाड्ने भन्ने छ, निर्णय भइसकेको छैन’ माओवादीका एकजना पदाधिकारीले उज्यालो नेटवर्कसँग भने ।
त्यसैगरी एमालेले लिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पनि जनमतका लागि छाड्ने भएको छ । एमाले अध्यक्ष ओलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई अनुमति दिइसकेका छन् ।