काठमाडौँ, १५ जेठ । काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतको पूर्वाधारसहित सूचना प्रविधि पार्क सन्चालनको काम अगाडि बढाउने सरकारको घोषणा छ । यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सन्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने छ ।
सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सन्चालनको लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री पुनले बताए ।
ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाउने सरकारको योजना छ ।
सरकारी डाटा सेन्टरको स्तरोन्नती गरिने र निजी क्षेत्रबाट सञ्चालन हुने डाटा सेन्टरको लागि मापदण्ड तयार गरिने मन्त्री पुनले बताए ।
विद्युतीय तथ्यांकको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने छ ।
सूचना प्रविधिका विद्यार्थीलाई इन्टर्नको व्यवस्था
सरकारले सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइनेसमेत जनाएको छ ।
सबै वडा केन्द्र, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याइने छ ।
डिजिटल डिभाइड कम गर्न पिछडिएको वर्ग, क्षेत्र र महिलाको सूचना प्रविधिमा पहुँच बिस्तार गरिने छ ।