देउखुरी । उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री खड्ग बस्नेतले बगार बाबा धार्मिक विकास क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताए । बगार बाबा धार्मिक विकास क्षेत्र रिहारले आयोजना गरेको भगवान विष्णुको मन्दिर शिलान्यास गर्दै उनले रिहार धाम धार्मिक रुपमा महत्वपूर्ण रहेकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए । मन्त्री बस्नेतले बगार बाबा धार्मिक विकास क्षेत्र समितिले बनाएको गुरुयोजनालाई कार्यान्वयन गर्न सरकारले सक्दो सहयोग गर्ने बताउँदै स्रोतको खोजी गरेर यस क्षेत्रलाई नयाँ तरीकाले विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार तयार रहेको बताए । उनले यस क्षेत्रको विकासमा स्थानीय तह र प्रदेशले मात्रै सम्भव नहुने भएकाले यसलाई संघमा राखेर विकास गर्नुपर्ने देखिएको छ, मन्त्री बस्नेतले भने–। ‘रिहार धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारबाट काम भइरहेको छ । लुम्बिनी प्रदेशमा धार्मिक र पर्यटन क्षेत्रलाई विकास गराउन सके रोजगारीमा वृद्धि हुन सक्नेछ ।’
लुम्बिनी प्रदेश धार्मिक र पर्यटनका लागि प्रचुर सम्भावना भएको क्षेत्र भए पनि सही रुपमा काम हुन नसक्दा ओझेलमा पर्दै गएको मन्त्री बस्नेतको भनाइ छ । उहाँले पर्यटन क्षेत्रमा चुनौतीसँगै अवसर भएको बताए । उनले भने,–। ‘अन्तरप्रदेश पर्यटक, भारतीय पयर्टकलाई भित्र्याउन सक्दा पर्यटन क्षेत्र प्रवद्र्धन हुनेछ । हामीले आन्तरिकसँगै भारतीय पयर्टकलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ ।’ ‘भारतीय सीमा आसपास क्षेत्रमा देउखुरी क्षेत्रका विभिन्न आकर्षक पर्यटकीय क्षेत्र, धार्मिकस्थलको प्रचारप्रसार गरिनु आवश्यक छ । यसका लागि निजी क्षेत्र एक्लैले सम्भव छैन । तीन तहको सरकारको समन्वय आवश्यक छ ।’ यता लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काले यस क्षेत्रको संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने धारणा व्यक्त गरे । उनले यस क्षेत्रलाई विकास गर्न गुरुयोजना बनाएर केन्द्र र प्रदेश सरकारबाट बजेट ल्याउन आवश्यक रहेको बताए । उनले भने,–। ‘रिहार धामको विकसको लागि तीनवटै तहका सरकारबाट एकीकृत विकासका काम गराउन पहल गर्न लुम्बिनी प्रदेश सरकार तयारी अवस्थामा रहेको छ ।
यहाँका समस्या, सम्भावना, चुनौती र अवसरबारे सरकारलाई अवधारणापत्र दिन जरुरी देखिन्छ ।’ कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाबाट नजिक रहेर पनि विकासमा फड्को मार्न नसकेकाले यस क्षेत्रको विकासका लागि लमही नगरपालिकाबाट पहल गरिएको बताए । उनले केन्द्र र प्रदेश सरकारसंग समन्वय गरेर रिहार धाम र त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धामकोसमग्र विकासमा लमही नगरपालिकाले जागरुकता देखाएको र छिट्टै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिणत हुने लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले बताए । बिहिवार बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धाममा भगवान विष्णुको मन्दिर शिलान्यास गरिएको छ । उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री खड्ग बस्नेतले बिहिवार मन्दिरको शिलान्यास गरेका हुन् । कार्यक्रम सहजिकरण बगार बाबा धार्मिक विकास क्षेत्रका सचिव नन्दलाल वलीले गरेका थिए ।
मन्त्री बस्नेतद्धारा रिहार धामको निरिक्षण
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री खड्ग बस्नेतले बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धामको निरिक्षण गरेका छन् । बिहिवार मन्त्री बस्नेतले लमही नगरपालिका वडा नम्बर ९ रिहामा रहेको बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धाम अन्तरगत रहेका भैने पर्शुराम, मामि सौरी मन्दिर, बगार बाबा मन्दिर, गणेश मन्दिर, कोटि होम, काली मन्दिर, शिवमन्दिर, ब्राह र झाक्रि मन्दिरको स्थलगत अवलोकन तथा निरिक्षण गरेका हुन् । लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश), बगार बाबा धार्मिक विकास क्षेत्र समितिका अध्यक्ष रविन्द्र खत्री र सचिव नन्दलाल वलीले संयुक्त रुपमा धामको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । त्यसैगरी उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री खड्ग बस्नेतले भिमबाधको पनि निरिक्षण गरेका छन् ।
लमही नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री खड्ग बस्नेत लमही आएका थिए । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि आएको मन्त्रीको टोलीले लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको भिमबाभको स्थलगत अवलोकन तथा निरिक्षण गरेको हो । पर्यटन प्रवर्दधनका लागि लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयास गरिरहेको बतानुहुदैँ मन्त्री बस्नेतले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गरेर सहयोग गर्न आग्रह गरे ।