भद्रपुर (झापा) । सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि अभिभावकको आकर्षण बढ्दै गएको छ । झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा विद्यालयमा पठनपाठन गरिने भएको छ ।
मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार विद्यार्थी सङ्ख्याअनुसार भौतिक संरचना नहुँदा दुई सत्रमा विद्यालय सञ्चालन गर्नुपरेको बताए । “भर्ना अभियानअन्तर्गत हामीले तीन सय जना नयाँ विद्यार्थीका लागि वैशाख १ देखि ६ गतेसम्म भर्ना फारम खुलाएकामा नौ सय ५० जना विद्यार्थीको आवेदन प-यो र करिब छ सय विद्यार्थीलाई पढाउन नसकिने अवस्था आएपछि अभिभावक, विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगरपालिकालगायत सवै पक्षको सहयोगमा बिहानी सत्रमा ६ देखि १० बजेसम्म बढाई गर्ने निर्णय भएको हो,” प्रधानाध्यापक श्रेष्ठले भने।
बाह्रदशी गाउँपालिकाबाट आफ्नो छोरीलाई कक्षा ३ मा भर्ना गर्न ल्याउनुभएकी अभिभावक कमला कार्की राजवंशी आफ्नो नानीको भर्ना नपाएपछि खाली हात फर्किनुप¥यो । करिब २५ किलोमिटरको दूरी पार गरी उनले विद्यालय आउनुभएको थियो । “निजी विद्यालयमा पढाउन हाम्रो आर्थिक हैसियतले भ्याउँदैन, अन्य सामुदायिक विद्यालयमा छोरीलाई पढाउने वातावरण नै छैन, समयको मात्रै बर्बादी हुने पढाईको गुणस्तर नै छैन,” उनले भने ।
यो वर्ष नानीबाबुलाई भर्ना गराउन ढिलो ल्याउँदा भर्ना पाइएन, प्रधानाध्यापकले अर्को शैक्षिक सत्रको सुरुवातमा नै ल्याए भर्ना पाउनुहुन्छ भन्नुभएको उनले सुनाए। उनीजस्तै निराश भएर अभिभावक आफ्ना नानीबाबुको भर्ना नगराई दिनहुँ जसो फर्किनु परिरहेको छ । मोहनमाया माविका प्रधानाध्यापक श्रेष्ठ भने, “हामीले नर्सरी देखि कक्षा १ सम्म पहिले आउनेलाई भर्ना गर्ने र २ देखि ९ कक्षा सम्म प्रवेश परीक्षा लिई भर्ना गर्ने गरेका छौँ । बिहानी सत्रमा ६ देखि १० बजेसम्म अध्यापन गराउँदा ‘क्रेडिट आवर’ पुग्दैन बिस्तारै विभिन्न दाता तथा नगरपालिकाको सहयोगमा कक्षाकोठा व्यवस्थापन गरी पठनपाठन गराउने विद्यालयको तयारी रहेको छ ।”
अभिभावकको अङ्ग्रेजी भाषाप्रतिको रुचि, विभिन्न सिकाइमा भाषा जान्दाको सहजता र स्वदेश तथा विदेशमा रोजगारीका लागि पनि अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने हुँदा अङ्ग्रेजी माध्यममा सबैको चासो बढेको प्रधानाध्यापक श्रेष्ठ बताए । उनले विद्यार्थीको सिकाइमा भाषाले खासै प्रभाव नपार्ने भए पनि अभिभावकको चासो र सहयोगले गर्दा नै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको बताए ।
एकजना अभिभावक डिल्लीराम कट्टेल सन्तुष्ट हुँदै भने, “मेरो छोरी १० कक्षामा अध्ययन गर्छिन् दुई वर्षपहिले कक्षा ८ मा यही विद्यालयमा भर्ना गराएको हो । पहिले निजी विद्यालयमा पढाउँदै गर्दा विभिन्न शीर्षकमा लाखौँ शुल्क तिर्नुपर्ने अवस्था थियो अहिले कम शुल्कमा नै गुणस्तरीय शिक्षा उपलब्ध भएको छ ।”
नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा, ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । संविधानमा शिक्षा निःशुल्क गर्ने व्यवस्था गरे पनि विद्यालयमा माध्यमिक तहको २५ वटा सेक्सनका लागि एकजना मात्र शिक्षकको दरबन्दी रहेको र आधारभूततर्फ पनि त्यस्तै अवस्था भएकाले अभिभावकको सहयोगविना विद्यालय सञ्चालन गर्न नसकिने प्रधानाध्यापक श्रेष्ठ बताए।
बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तिलचन भण्डारीका अनुुसार विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी सृजना नहुँदा र एक्कासि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दा समस्या आएको छ । मोहनमाया माविमा एक सय तीनजना शिक्षक कर्मचारी रहेका छन् जसमध्ये ३३ जनाको सेवासुविधा सरकारले र बाँकी ७० जनाको विद्यालयले निजी स्रोतबाट उपलब्ध गराउँदै आएको छ । मौलिक हक तथा विभिन्न ऐन कानुनमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क हुने भनिए पनि सो अधिकांश विद्यालयमा लागू हुन सकेको छैन ।
सरकारले विद्यालयलाई चाहिने आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पु-याउन नसक्दा सामुदायिक विद्यालयमा पनि निजी जस्तै शुल्क तिर्नुपर्ने रहेको छ । धेरै लगानी भइसकेका सामुदायिक विद्यालयमा सरकारले थप केही लगानी गर्दा अभिभावकले शुल्क तिर्नुपर्ने अवस्था आउँदैन र संविधानमा व्यवस्था भएको मौलिक हकको समेत कार्यान्वयन हुन जान्थ्यो ।