काठमाडौं । खानेपानीको मुहान विवादका क्रममा नुवाकोटका स्थानीय विष्णु बहादुर खड्काले छुवाछुतजन्य व्यवहार गरेको सम्बन्धमा प्रकाशित समाचारप्रति विष्णु बहादुर खड्काले आपति प्रकट गरेका छन् ।
उज्यालो नेटवर्क डटकमको फेसबुक पेजमार्फत् प्रसारित ‘नुवाकोटमा छुवाछुत : एउटै ट्याङ्कीबाट पानी खान मानेनन्, दलितको मुहान कब्जा गर्दै विष्ण खड्का’ शीर्षकको समाचारमाथि उनले आपति प्रकट गरेका हुन् ।
आपति प्रकट गर्दै खड्काले खानेपानीको विवादलाई जातीय विवाद बनाउने काम भएको बताएका छन् । प्रेस काउन्सिलमार्फत् आफ्नो खण्डन सम्प्रेषण गर्दै उनले भनेका छन्, ‘खानेपानीको विवादलाई जातीय विवाद बनाउने काम गरेको हुँदा उक्त विषयवस्तु पुन एकपटक बुझी नयाँ समाचार उत्पादन तथा प्रसारणको लागि समेत माग गर्दछु ।’
खड्काले आफूले प्रयोग गर्दै आएको खानेपानीको मुहान विवादको क्रममा आफूले बोल्दै नबोलेको कुरा नाटकीय शैलीमा राखिएको समेत बताएका छन् । प्रसारित समाचारमा शुन्तली नेपालीले दिएको अभिव्यक्तिले भ्रम पैदा गराएको समेत उनको भनाई छ ।
प्रेस काउन्सिलको निर्देशनमा काउन्सिलमार्फत् प्राप्त खण्डनलाई हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौँ ।