देउखुरी । दुवै मृगौलाले काम नगर्ने भएपछि सहयोगको याचना गरेएका लमही नगरपालिका वडा नम्ब ९ तेलिया निवासी (मृगौला पिडित) ३० वर्षीय करमलाल चौधरीलाई आर्थिक सहयोग गरिएको छ । लमहीका युवा व्यवसायी तथा समाजसेवी रत्नप्रसाद श्रेष्ठ र उनकी श्रीमती अञ्जु श्रेष्ठले मृगौला पिडित चौधरीको घरमै पुगेर खाद्यन्न तथा आर्थिक सहयोग गरेका हुन् । दुवै मृगौलाले काम नगर्ने भएको केहीवर्ष बितिसक्दा पनि उपचार गर्न नसकेका करमलाल चौधरीले थप सहयोगको लागि सहयोगीदाताहरुसँग अनुरोध गरेका छन् ।
उनले अहिले लमही डायलाइसिसमा महिनामा चार पटक डाइलासिस गराउदै आउनु भएको छ । मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, मृगौला पिडित चौधरीले भने,–। ‘सुगर र प्रेसरको औषधी खाँदै गर्दा मृगौलाको समस्या समेत देखिएकोले साह्रै पीडा भएको हुन्छ । उपचारको क्रममा डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताए पनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण गर्न नसकेको हुँ ।’
सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि एकपटक डाइलोसिस गर्नको लागि ४ देखि ५ हजार रुपैया औषधीको लागि खर्च हुने गरेको उनले बताए । मासिक उपचार खर्च रु। ४० हजार देखि ५० हजार खर्च हुने गरेको भन्दै हप्तामा चार पटक डाइलोसिस गर्नुपर्दा साह्रै नै समस्यामा परेको चौधरीले बताए ।
मासिक औषधी पनि खानुपर्छ, खर्च धान्न परिवारलाई गाह्रो छ, उनले भने । ६ जनाको परिवार रहेको उनको परिवारको आम्दानीको श्रोत केही छैन । दैनिक गुजारा चलाउन मुस्किल छ । श्रीमती, तीन छोरी, आमा, बुवाको साथ रहेको चौधरी परिवारमा करमलाल चौधरी बिरामी भएपछि खुशीका दिनहरु हराएका छन् । मृगौला पिडित चौधरीको उपचारको लागि सहयोग गरिदिन सबैसँग आग्रह समेत गरिएको छ ।