बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुने न्यून

उज्यालो प्रतिनिधि ७ चैत्र २०८०, बुधबार समाचार

ढोरपाटन (बागलुङ) । बरेङ गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा पर्दछ । छरिएका बस्ती र स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा दुई वर्षअघिसम्म गर्भवतीहरु घरमै सुत्केरी हुने गर्दथे । अहिले यो अवस्था निकै परिवर्तन भएको छ । यहाँका महिलाले नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् ।

पछिल्लो समय बरेङमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । पालिकाको ठाउँ–ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा विस्तार गरेसँगै ‘होमडेलिभरी’ शून्यमा झरेको हो ।

भर्गवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने, समय–समयमा गर्भ परीक्षण गराउनेलगायत काम थालेपछि मातृ शिशु मृत्युदर पनि कम भएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए।

“पहिलेको तुलनामा महिलाहरु शिक्षित र सचेत बन्दै गएकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने चेतना वृद्धि भएको छ”, उनले भने, “हरेक महिना स्वास्थ्य स्वयंसेविका गर्भवतीको घरमा पुगेर गर्भ परीक्षणबारे जानकारी दिने गरिएको छ ।”स्वास्थ्य शाखा प्रमुख पुनले गाउँपालिकाले समय–समयमा गर्भवतीलाई स्वास्थ्यसम्बन्धी जनचेतामूलक कार्यक्रम गर्ने गरेको बताए ।

“पहिलाकोजस्तो घरमै सुत्केरी हुने चलन कम हुँदै गएको छ । कहिलेकाहीँ एक/दुई जना स्वास्थ्य संस्थामा आउन ढिला गर्दा घरमै सुत्केरी भएको पाइन्छ”, उनले भने, “पछिल्लो दुई वर्षयता घरमै सुत्केरी भएको तथ्याङ्क हामीले पाएका छैनौँ । स्वास्थ्य स्वयंसेविका तथा नर्सिङ कर्मचारी गर्भवतीको घरमा गएर स्वास्थ्य परीक्षण गरे । आवश्यकताअनुसार स्वास्थ्य संस्थामा बोलाए ।”

गाउँमा आमा समूहको बैठक हुँदा पनि भर्गवतीको स्वास्थ्य जाँचबारे सचेत गराउने गरिएको पुनको भनाइ छ । स्वास्थ्यचौकीमा भिडियो एक्सेरे सुविधा रहेको भन्दै प्रत्येक महिना गर्भको जाँच, आमा र बच्चाको अवस्था बुझ्न भिडियो एक्सरे गराइँदै आइएको उनले बताए ।

भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा जटिलता देखियो भने बाहिर अस्पतालमा पठाउन गाउँपालिकाले रू पाँच हजार खर्च दिने गरेको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिए । हरेक गर्भवतीलाई बर्थिङ सेन्टरमा आउनेजाने भाडासमेत दिने गरिएको उनले बताए ।

दूरीका हिसाबले नजिकलाई रू एक हजारदेखि टाढालाई रू तीन हजारसम्म खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिए ।

बरेङ गाउँपालिकामा ५ वटा वडा छन् । पाँच वडामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्यानका लागि स्वास्थ्य चौकी टाढा भएका स्थानीयलाई लक्षित गरी सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

पाँच स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएको अध्यक्ष शर्माले जानकारी दिए । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार