कृषिबाटै करोडपति

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०८०, आईतवार समाचार
धरान (सुनसरी)       कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।
कृषिबाटै नाम र दाम कमाउनु भएको उनले भने, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गर्नु भएका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आउनुभएको छ । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाएका छन् । कृषिबाट उनले आफुले मात्र कमाउनु भएको छैन, अरुलाई पनि रोजगारी दिनु भएको छ ।
कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोड्नु भएको छ भने बराह क्षेत्रमा करिब १५ विघा किनिसक्नु भएको छ । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाउनु भएको छ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाउनु भएको छ । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गरे ।
त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्नुहुन्छ भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्नुहुन्छ । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पाल्नुभएको छ । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नु भएको छ भने त्यससँगै माछा पनि पाल्नु भएको छ ।
उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उहाँले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उहाँको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहनु भएको छ । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनले बताए ।
पचपन्न रुपैयाँबाट सुरु 
अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनले भने, “सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।”
सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आउनुभएको थियो । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देख्नुभयो । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाउनुभयो । “त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उनले सम्झिनुहुन्छ, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।”
कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उहाँका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाल्नुभयो । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाल्नुभयो । उनले भने, “कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।”
खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोग्नुभयो तर समस्यासँग कहिल्यै हार मान्नु भएन । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनले अरुलाई पनि सिकाए । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गर्नु भएको छ । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन्  । उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनले भने, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’’
अर्गानिक गाउँ
धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उहाँकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ ।
कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्र्गानिक बनाउन निक्कै मिहिनेत गर्नु परेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उनले किन यस्तो भयो रु भनेर कारण खोज्नुभयो । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ ।
बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महशुस गरी उनले त्यसलाई सुधार्ने बाचा गर्नु भयो । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाल्नुभयो । जैविक वनस्पतीकै विषादी बनाए । जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहनु भएको छ । उनले भने, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अग्र्यानिक खेतीका अभियन्ता बनेको हुँ ।’’
अर्र्गानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उनले भने, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्र्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’’
अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्र्गानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्र्गानिक कृषि नै रहेको उनले बताए । बसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत समेत बन्नु भएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् । परिवारसहित कृषिमै रमाइरहनु भएका राई भने, “कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।”
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार