देउखुरी । विदेशमा आर्जन गरेको पुँजी र सीप स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्न सरकारले जारी गरेको पुनःएकीकरण कार्यक्रम लमही नगरपालिकाले लागू गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा लमही नगरपालिका अन्तरगत नगर क्षेत्रका विभिन्न नागरिकलाई उद्यमशिलता विकास तालिमको आयोजना गर्दै उद्यमशिलतामा जोड्दै आएको छ ।
स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुरुनत्थान भन्ने नारालाई अगाडि सारेर लमही नगरपालिकाले नगर क्षेत्रमा विविभन्न तालिमको आयोजना गर्दै आएको हो । नगरपालिकाले वडाका सबैलाई केही सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिम प्रदान गर्दै आएको छ । गतवर्ष आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले ‘कृषिलाई उद्यम, कृषकलाई उद्यमी’ भन्ने अभियानका साथ नगर क्षेत्रभित्रको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण, विविधीकरण र यान्त्रिकीकरण गर्न सहयोग गरिने बताउनुभएको थियो । आफ्नो नीति तथा कार्यक्रममा नगर प्रमुख चौधरीले ‘कृषि तथा पशुपालन पकेट क्षेत्र कार्यक्रमलाई अनुसन्धान र सम्भावनाको आधारमा विस्तार गरिने’ उल्लेख समेत गर्नुभएको थियो ।
श्रमिकका परिवारलाई राज्यले राहत उपलब्ध गराउने गरे पनि उद्यम गर्छु भन्नेलाई यसअघि नहेरिएकाले यस्ता कार्यक्रम तय गरिएको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले रोजगारीको क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमै उद्यमशीलताको विकास तथा सीपको प्रवद्र्धनमा उपयोग गराउने यस कार्यक्रमको लक्ष्य छ । उनले विदेशमा कमाएको सीप र पैसा स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गरी पुनः विदेश पलायन हुनु नपरोस् भन्ने उद्देश्य अनुरूप यो सुरु गरिएको बताए । सिकेको सीपलाई समुन्नत राष्ट्र निर्माणमा प्रयोग गर्न ढिला गर्न नहुने उनको भनाइ छ । लमही नगरपालिका अन्तरगत रहेका स्थानियलाई स्थापित गर्न सञ्चालन भएको कार्यक्रमलाई सबै स्थानीय तहमा पु-याउनुपर्ने सरोकारवालाको धारणा छ । यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरका पछि परेका वडाहरुलाई लक्षित गरि दिगो बिकास र सामाजिक शसक्तीकरणलाई मध्यनजर गर्दै अहिले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वाराबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बिश्वास ब्यक्त गरे । उनले आर्थिक विकास र जिविकोपार्जनमा उल्लेखनीय सफलता हासिल हुने बिश्वास ब्याक्त गरे ।
महिलामा पनि नेतृत्व गर्ने क्षमता छ, उनले भने,–। ‘पाएको अवसर छोड्नु हुँदैन, हरेक समस्यासंग जुधेर अगाडी बढ्ने सक्नेनै सफल नेतृत्व हुन्छ ।’ उनले सीपलाई आर्थिक आयआर्जनसंग जोड्दै आर्थिकमा बलियो हुन सबैलाई आग्रह गरे । सीप सिकेर त्यस्लाई व्यवहारमा उतार्न सक्नु पर्छ, जुनसुकै काममा इमानदारीता हुन पर्छ अनि मात्र गन्तव्यमा पुग्न सकिने छ, उनले भने । यता अजम्मरी सामुलायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई नेपालमै पुनःस्थापित गराउन यो कार्यक्रम मात्रैले पुग्दैन तर कार्यक्रमले केही टेवा भने पुग्ने देखिने बताए । उनले नगरबासीलाई उद्यमशीलता बनाउन विद्यालय स्तरबाटै उद्यमशीलता शिक्षा आवश्यक भएको भन्दै यस्ता कार्यक्रम केही प्रारम्भिक सिकाइ मात्रै हुने बुझाइ रहेको बताए । वैदेशिक रोजगारीमा लामो समय बिताएका र लामो समय विभिन्न ओहोदामा रहेर काम गर्दै हाल लमहीमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय छन् । नागरिक लक्षित स्थानिय तहले गरेको कार्यक्रम निकै प्रभावकारी भएको लमही नगरपालिका नेपाली कांग्रेस नगर सभापती सन्तोष बुढाथोकीले बताए । नागरिक लक्षित सरकारले अगाडि सारेको यो कार्यक्रम पहिलोपटक भएको हुँदा कतिपय स्थानीय तह भने अलमलमा परेको देखिन्छ, यो स्वभाविक पनि हो, उनले भने ।