काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका सह–अध्यक्ष उद्धव चिमौरिया दम्पतीले आफ्नै अध्यक्षलाई विश्वासघात र ठगी गरेर करोडौँको जग्गा हत्याएको खुलासा भएको छ ।
नवलपरासीको गैडाकोटस्थित टेकमाया अर्यालको नाममा रहेको जग्गा खरिदको सिलसिलामा विश्वासघात गरी उद्धव चिमौरिया दम्पतीले अपराधिक लाभ लिएको खुलेको हो ।
राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले विश्वास गरी दिएको करोडौँको सम्पति चिमौरिया दम्पतीले हत्याएको खुलेको हो । नवलपरासीको गैडाकोटमा स्थानीय चर्चले बयाना गरेको ४७ हात जग्गा पास गरेर लिने क्रममा चिमौरिया दम्पतीले बदनियत राखेको पाइएको हो ।
के हो वास्तविक घट्ना ?
गैडाकोटमा चर्च निर्माणका लागि एकजना ख्रीष्टियन अभियन्ताले टेकमाया अर्यालको नाममा रहेको झण्डै ४७ हात जग्गा बयाना गरेका थिए ।
जग्गा बयानाका क्रममा भएको सहमति बमोजिम ती अभियन्ताले पैसा बुझाउन सकेनन् । सहमति अनुसार पैसा नपाएपछि जग्गाधनीले आफ्नो जग्गामा बनेको चर्च भत्काउने तयारी गरिन् । पटक–पटकको वाचा पूरा नभएपछि ती जग्गाधनीले चर्चमा डोजर चलाउने ‘अन्तिम म्याद’ दिइन् ।
चर्च नै भत्काउन लागेपछि ती अभियन्ता आफ्नो समस्या लिएर राष्ट्रि ख्रीष्टियन महासंघको कार्यालय आइपुगे । उनले महासंघका अध्यक्ष सिबी गहतराजलाई भेटेर आफ्नो सबै समस्या सुनाए । समस्या सुनेपछि महासंघको अध्यक्षको हैसियतमा गहतराजले ‘समाधानका सुत्र’ निकाल्ने आश्वसन दिए ।
त्यसपछि उक्त चर्चलाई जसैगरी जोगाउने अर्थात् चर्चमा डोजर चलाउन नदिनका लागि उपाय सोच्न लागे अध्यक्ष गहतराज । गहतराजले चर्चले बयाना गरेको आधा जग्गा आफूले पास गरेर लिने योजना बनाए । सोही अनुसार उनले जग्गाधनीलाई भेटेर पूर्व सहमति बमोजिम पैसा उपलब्ध गराउने वचन दिए ।
त्यसपछि उनले आफ्नो साथीभाईसँग सापटी मागेर जग्गाधनीको खातामा धमाधम पैसा जम्मा गर्न थाले । झण्डै ७० लाख रुपियाँ भने गहतराले आफ्नो श्रीमती र छोराको नामबाट राष्ट्रिय ख्रीष्टियन महासंघका सह–अध्यक्ष उद्धव चिमौरियाको श्रीमती विष्णु कुमारी कार्कीको नाममा हालिदिए ।
चिमौरिया अध्यक्ष गहतराजको विश्वासिलो पात्र थिए । गहतराजले आफ्नो श्रीमती र छोराको नामबाट जग्गाधनी अर्याललाई पटक–पटक गरी झण्डै २ करोड बैंकमार्फत् जम्मा गरे । जग्गाधनीसँग गरेको कबोलअनुसार गहतराजले विभिन्न मितिमा अर्यालको नाममा रकम जम्मा गर्दै अगाडि बढे । जग्गाधनीले पैसा पाएपछि अब जग्गा पास गर्ने समय आयो ।
साथीभाईसँग सापटीमा पैसा लिएको कारणले उक्त जग्गा पास गरेर लिएपछि कर्जाका लागि बैंकमा राख्नेबाहेक अन्य विकल्प अध्यक्ष गहतराजसँग थिएन । किनकी उनले साथीभाइसँग निश्चित समयका लागि ऋण लिएका थिए, जुन बैंकमार्फत् कर्जा लिएर तिर्ने उनको योजना थियो ।
कर्जाका लागि ‘आम्दानीको स्रोत देखिने’ व्यक्तिको खोजीमा थिए, गहतराज । यहीबेला चिमौरियाले आफ्नो श्रीमतीको ‘आम्दानीको स्रोत देखिने ब्यालेन्स सिट’ रहेको र एक महिनाभित्र बैंकमार्फत कर्जा निकालिदिने वचन दिए । विश्वासिलो पात्र भएका कारण गहतराज चिमौरियाको कुरामा सहमत बने र जग्गा धनीको नामबाट सिधै चिमौरियाको श्रीमती विष्णुकुमारी कार्कीको नाममा रजिष्ट्रेशन पास भयो । तर, एक महिनापछि चिमौरियाले बैंकमार्फत् कर्जा अस्वीकृत भएको खबर सुनाए ।
साथीभाईको ऋण तिर्ने भाका सकिएकाले गहतराज थप समस्यामा परे । तर, चिमौरियाले भने उक्त जग्गा सहकारीमा राखेर २ करोडभन्दा बढी रुपियाँ कर्जा लिएको खुलेको छ । सोही कर्जाबाट उनले आफ्नो नाममा ४ आना घडेरी समेत खरिद गरेको पाइएको छ ।
यसरी चिमौरिया दम्पतीले आफ्नै सहकर्मीमाथि नै विश्वासघात गरी अपराधिक लाभ लिएको पाइएको छ । गहतराजमार्फत् झण्डै ३ करोड बराबर रकम बैंकिङ कारोबारमार्फत बुझेका चिमौरिया दम्पतीले उक्त सम्पति हत्याउन अनेक प्रपञ्च रचिरहेका छन् ।
यसबारे उज्यालो नेटवर्कले चिमौरियाको भनाई बुझ्न र उनीसँग प्रमाण दिन आग्रह गर्दा उनले यस विषयमा उज्यालो नेटवर्कलाई थप बताउन आवश्यक नभएको बताए । तपाईको धारणा के हो भन्ने प्रश्नमा उनले भने, ‘मेरो के धारणा चाहियो र तपाईलाई, तपाई आफैँ खोजबिन गर्नुस् न है सर’
यसअघि चिमौरिया र ज्ञानेन्द्रराज सापकोटाले ती अभियन्तालाई प्रलोभनमा पारेर ‘एकपक्षीय पत्रकार सम्मेलन’ गरेको समेत खुलेको छ । यसबारे उज्यालो नेटवर्कले थप प्रमाण जुटाइरहेको छ । ती अभियन्ताले समेत आफूलाई चिमौरिया र सापकोटाले प्रलोभनमा पारेको बताइसकेका छन् । ती अभियन्ताले सुरुमा चिमौरिया र सापकोटाको डिजाइनमा गहतराजमाथि एकपक्षीय आरोप लगाएर मिडियामा बोलेका थिए । ती अभियन्ता अहिले भने ‘तटस्थ’ छन् ।
भिडिओ हेर्नुहोस्