…अनि म भूमिगत बने

सुर्यमान दोङ ‘लालध्वज’ १ फाल्गुन २०८०, मंगलवार

कमरेड चलाखसिंह हाम्रो गाउँको एकजना विद्रोही पात्र हुनुहुन्थ्यो । समाजका अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउने, जति पटक हार्दा पनि चुनावमा उठिरहने पात्र हुनुहुन्थ्यो उहाँ ।

लगभग २०४५ सालतिरको कुरा हो, कमरेड चलाखसिंहका बारेमा समाजमा चर्चा परिचर्चा हुन्थ्यो । कमरेड तीर्थ गौतम, यानप्रसाद गौतम, रंगवीर, चलाख सिंह, दिनेश शर्मा लगायतले एउटा अभियान चलाइरहनुभएको थियो । उहाँहरु तत्कालीन मशालमा आबद्ध हुनुहुँदो रहेछ । कमरेड यानप्रसाद गौतम ‘आलोक’, तीर्थ गौतम, चलाख सिंह लगायतका अग्रज कमरेडहरुले मेरा गाउँका कामीसिंह, सुब्बा साइला, काका सुकवीर लगायतकालाई संगठित बनाउनुभएको रहेछ ।

गाउँका गन्नेमान्ने भनिनेहरुले उहाँहरु आउनेवितिकै ‘मशाले’हरु आए भनेर भन्थे । यो कुरा सुन्दा पनि हामीलाई ‘इरिटेशन’ हुन्थ्यो । यही सिलसिलामा पेशा व्यवसायका लागि अब काठमाडौं प्रवेश गर्नुपर्छ भन्ने मनसायले हामी ०४४ सालताका काठमाडौं आयौँ ।

काठमाडौं आएसँगै राजनीति अलि बढी बुझ्न थाल्यौ । समाजका सबै किसिमको विभेदको अन्त्य नभएसम्म गरिब र धनीबीचको खाडल अन्त्य हुन सक्दैन भन्ने हाम्रो बुझाई भयो । ०४६ सालको जनआन्दोलनमा हामी ढुंगा हान्न सडकमा निस्कियौँ । यसपछि सकेसम्म मान्छेहरुलाई संगठित गर्ने र होइन भने तटस्थ बस्नुस् भनेर भन्ने अभियानमा हामी सामेल हुन थाल्यौ ।

जनआन्दोलनपछि ०४८ सालमा पहिलोपटक आम निर्वाचन भयो । कार्यनीतिक रुपमा पार्टीले चुनावको उपयोग गर्ने नीति लियो । ०४८ मै पार्टीको एकता महाधिवेशन पनि भयो । वैचारिक आदर्श माक्र्सवाद, लेनिनवाद, माओवादलाई मान्ने महाधिवेशनले निर्णय लियो । नेपाल कृषि प्रधान देश भएका कारणले अरु देशमा जस्तो विद्रोह हुँदैन भन्ने हाम्रो निष्कर्ष थियो । ‘गाउँदेखि सहर घेर्ने, दीर्घकालीन जनयुद्धको रणनीति अख्तियार गर्ने’ एकता महाधिवेशनले निष्कर्ष निकाल्यो ।

एकता महाधिवेशनबाट अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा नेकपा माओवादी बन्यो । त्यसले गाउँलाई प्राथमिकता दिँदा सहरलाई नछाड्ने, सहरलाई प्राथमिकता दिँदा गाउँलाई नछाड्ने नीति लियो । किसानहरुसँग जाँदा मजदुरलाई नछाड्ने फेरि किसान र मजदुरको कुरा गर्दा मध्यमवर्गलाई नछाड्ने भन्ने खाका बन्यो । यसपछि पार्टी विभाजन भयो । निर्मल लामा, नारायणकाजी श्रेष्ठ लगायतका टिम शान्तिपूर्ण विद्रोहमा उभियो, अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको बहुमत पक्ष दीर्घकालीन जनयुद्धको पक्षमा उभियो र हामी दीर्घकालीन जनयुद्धको बाटोमा लाग्यौँ ।

वैचारिक कामको सिलसिलामा अध्यक्ष कमरेडलाई मैले ०४६ सालको जनआन्दोलन पछि कीर्तिपुरमा भेटेको थिए । उहाँको त्यतिबेलाको नाम विश्वास थियो । अध्यक्ष कमरेडले व्यवस्था पूर्ण छैन भन्ने विषय गम्भीरतापूर्वक उठाउनुभयो । उहाँले त्यतिबेला नेपाली जनतालाई यतिबेला ‘छप्लाङ’ आइरहेको छ भन्नुहुन्थ्यो । एउटा स्याल पोखरीमा पानी पिउन आए । स्याल पोखरीमा पुगेर पानी पिउनै लाग्दा माथिबाट केही चिज पोखरीमा खस्यो, खस्नेवितिकै पोखरीको पानी ‘छप्लाङ’ भयो । स्याललाई आएको छप्लाङजस्तै जनआन्दोलनपछि नेपाली जनतामा छप्लाङ आयो भन्ने उहाँको एउटा भनाई थियो । हामी पोखरीमा पानी पिउन गएका स्याल होइनौँ, बाघ हौँ हामी यो अवस्थाबाट फर्किनुपर्छ र सामाजिक न्यायसहितको विद्रोहका लागि दीर्घकालीन जनयुद्धको बाटोमा अगाडि बढ्नुपर्छ भन्ने विषय राख्नुभयो । उहाँले जनआन्दोलनबाट हामीले चाहेको उपलब्धि प्राप्त भएकै छैन भन्ने निष्कर्षसहित प्रशिक्षण दिनुभयो ।

उहाँको प्रशिक्षणपछि हामी जिम्मेवारीमा फर्कियौँ । भुगोलको हिसाबले काभ्रेमै फर्किने, काभ्रेकै साथीहरुलाई संगठित गर्ने विषय हाम्रा लागि प्रमुख थियो । फेरि काभ्रेका निम्ति कमरेड यादप्रसाद गौतम ‘आलोक’ एउटा विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै हामीलाई संगठित बनाउनुभएको हो ।

खासमा ०४९ सालदेखि म भूमिगत हुन थाले । ०४९ सालमा हामीले गाउँमा १० को १००० भन्ने नाटक अभियानको रुपमा चलाएका थियौँ । १० रुपियाँ ऋण दिने र १००० रुपियाँ लिने सामन्तीहरुको प्रचलनविरुद्ध हामीले यो नाटक देखाएका थियौँ । यो नाटक अभियानका रुपमा देखाउन थालेपछि स्थानीय सामन्ती र प्रहरी प्रशासनबाट समेत हामीमाथि दमन भयो ।

दमनको श्रृंखला सुरु भएपछि हामीले वैचारिक, राजनीतिक, सांगठनिक र साँस्कृतिक तयारीमा लाग्यौँ । ग्रामीण वर्ग संघर्षको तयारीसँगै सहरी आन्दोलनका निम्ति संगठन निर्माण गर्ने र संगठनलाई फौज संगठनमा रुपान्तरणमा लाग्यौँ ।

म र अन्य कमरेडहरुका विरुद्ध प्रत्येक दिन मुद्दा लगाउन थाल्यो । दिनहुँ एउटा मुद्दा लाग्न थालेपछि त्यसको तारेखमा जान सम्भव भएन । धितो बुझाएर मुद्दा लड्न पनि पुख्र्यौली सम्पतिले नभ्याउने भयो । हाम्रोविरुद्ध हर दिन एउटा न एउटा मुद्दा दर्ता हुन थाल्यो । त्यसपछि तारेख लिएर यो कुरा पार लगाउन सम्भव थिएन । तारेखमा लाग्नेभन्दा अब विद्रोहको बाटोमा जाने भनेर हामी जनयुद्धको बाटोमा अगाडि बढ्यौँ ।

जनयुद्धप्रति अगाध प्रेम थियो । पार्टी राजनीतिमा पूर्णकालीन नहुँदा म थाङका व्यवसायमा संलग्न थिए । कमाई राम्रै थियो । तर, राजनीतिमा चासो भएका कारणले म राजनीतिक कार्यक्रम र भेलाहरुमा पुगिरहन्थे । यही सिलसिलामा विभिन्न प्रशिक्षण, भेला बैठकमा पुग्दा पुग्दै अर्धभूमिगत भए । हामीले गर्ने गतिविधि, जागरणका निम्ति अगाडि बढाउने हर कदमकाविरुद्ध हामीमाथि प्रहार हुन थाल्यो । पार्टी दीर्घकालीन जनयुद्धको बाटोमा अघि बढ्ने भन्ने निश्चित भइसकेको थियो । यही कारणले साथीहरुसहित मिलेर थाङका लेखेर कमाएको पैसाले हामीले बन्दुक किन्यौँ । ८० हजार रुपियाँ तिरेर हामीले जनयुद्धकै लागि भनेर पहिलोपटक बन्दुक लिएका थियौँ ।

यही सिलसिलामा ०५१ सालमा मैले घर छाडे । पूर्ण रुपमा भूमिगत बने । आमाले टीका लगाएर बिदा गर्नुभयो । म पूर्वाञ्चल ब्युरोको स्टाफको रुपमा काम गरे । मेरो गाउँमा एउटा प्रशिक्षण कार्यक्रम भएको थियो । यानप्रसाद गौतम, हरिबोल गजुरेल लगायतका कमरेडहरु मुक्पाटारमा प्रशिक्षणका लागि आइपुग्नुभएको थियो ।

जनयुद्धको सुरु भएको दिन म सिन्धुलीमा थिए । सिन्धुली चौकी कब्जामा म संलग्न छु । जनयुद्ध सुरु भएकै दिन दिउँसै चौकी कब्जा गरेका थियौँ । सिन्धुलीको कटवास अमले भन्ने ठाउँमा एक वर्ष अगाडिदेखि नै बारुद बनाउने, युद्धको रिहर्सल गर्ने काम भइरहेको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *