कैलाली । पछिल्लो समयमा बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ । जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, संस्थागतका नाममा वन अतिक्रमणले वन मासिँदै गएको हो ।
कैलालीका १३ स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमण गरी घरटहरा निर्माण भइरहेका छन् । गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिकाको मसुरिया, घोडाघोडीको पहलमानपुर, लम्कीको बल्चौर, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्तालगायतका क्षेत्रमा वन अतिक्रमण भइरहेको छ ।
कैलालीमा बढ्दो सहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य सुविधा, शिक्षा, यातायातलगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक रहेकाले बसाइँ सरेर आएका कतिपयले वन अतिक्रमण गरी घर टहरा निर्माण गर्ने गरेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव हेमराज विष्टले बताए । राजनीतिक प्रतिबद्धता नभएसम्म वन कार्यालयको एक्लो प्रयासमा मात्र वन संरक्षण हुन नसक्ने उनले बताए । वन अतिक्रमणले कैलालीमा सबैभन्दा ठूलो वसन्ता जैविक मार्गको कनेक्टीभिटी जोखिममा रहनुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको वासस्थान विनास, अवैध चोरी निकासी÷तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको छ ।