काठमाडौं । तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघद्वारा तामाङ चलचित्र संघका कार्यसमिति सदस्यहरु र तामाङ पत्रकारहरुलाई सम्मान गरेको छ ।
सातौं महाधिवेशनबाट भर्खरै निर्वाचित तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान लगायत कार्यसमिति भित्रका पदाधिकारी, सदस्यहरु र लामो समयदेखि कलमको माध्यमद्वारा तामाङ कला साँस्कृतिकमा योगदान दिदै आएका पत्रकारहरुलाई सम्मान गरेको हो ।
केहीदिन अगाडि बौद्ध चुच्चेपाटी स्थित हायत ग्राउन्डमा तामाङ कलाकार संघद्वारा आयोजित तामाङ मौलिक सेलो संगीत महोत्सवमा प्रत्येक्ष तथा अप्रत्येक्ष ढंगले सहयोग गरेका कलाकार, पत्रकार, प्रवासी संघ संस्थाहरुसंग संघले भेटघाट तथा सम्मान कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष एवम् गायक तथा संगीतकार विशाल काल्तनले पछिल्लो समय तामाङ कला संस्कृतिको संरक्षण र सम्बर्द्धनको लागि सबैजना दल र संस्था भन्दा माथि उठेर सहयोग गरेकोमा खुशि व्यक्त गरेका थिए ।
साथै तामाङ चलचित्र संघका नवनिर्वाचित अध्यक्ष कुमार मोक्तानले पहिलो पटक तामाङ कलाकार संघले तामाङ चलचित्र संघलाई यसरी सम्मान गर्दा चलचित्र कर्ममा लाग्न थप उत्साहित बनाएको बताए ।
सोही कार्यक्रममा हालै तामाङ कलाकार संघले सम्पन्न गरेको तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सवका लागि तामाङ सोसाइटी अफ युकेले प्रतिबद्धता गरेको १ लाख रुपैयाँ समेत हस्तान्तरण गरेको छ ।