धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

उज्यालो प्रतिनिधि १२ पुष २०८०, बिहीबार समाचार

बेनी । सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।

क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ । क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि चार हजार पचास मिटर उचाइमा सूचनासहितको स्वागत बोर्ड स्थापना गरेका हुन् । क्लब अध्यक्ष बुढा, उचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्बुजा, पर्यटन व्यवसायी कुशल पाइजा, क्लबका सदस्य एमन पुन, विशेष बुढा, थमन गर्बुजा, निसान गर्बुजा र ओविन्द्र गर्बुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृष्यावलोकन केन्द्र स्थापना गरेका छन् । आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित रहेको छ ।

ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठसमेत गर्ने चलन रहेको छ । क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृष्यावलोकन केन्द्र ९भ्यू पोइन्ट० स्थापना गरेको अध्यक्ष बुढाले बताए। “आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि हामीले पहल थालेका हौँ, क्लब आफैँले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ”, अध्यक्ष बुढाले भने ।

उनका अनुसार, पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको हो । टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दीलगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी विसं २०६८ मा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलोपटक अध्ययन गरिएको थियो ।

पदमार्ग पहिचान गरेर पदमार्गलगायतका पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुव पाइजाले बताए । “धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ, यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्साङ्कन गरेर योजनाबद्ध रुपमा अघि बढ्न जरुरी छ”, तिलिजाले भने ।

समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचारप्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्साङ्कनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ । गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ ।

ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए । “यो बजेटबाट जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग अझै नबन्ने भएपछि हामीले पदेश र सङ्घीय सरकारसँग थप बजेटको माग गरेका छौँ, कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ”, उनले भने । उनले कालीबराह खोलालगायतका ठाउँहरुमा झोलुङ्गे पुलको समेत अभाव रहेको बताए ।

आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्य रहेका छन् । प्राकृतिक रुपमा सुन्दर र मनमोहक दृष्यले भरिपूर्ण धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाले देखाएको सक्रियताले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुर्याएको वडाध्यक्ष पाइजाले जानकारी दिए । पदमार्गअन्तर्गत सेतिनी छहरा नजिकैको फाँटमा स्थानीय युवा कुशल पाइजाले होटल सञ्चालनमा ल्याएपछि पर्यटकको लागि ठूलो सुविधा भएको छ ।

पदमार्गमा खुलेको यस होटलमा खाना, खाजा र बसोबाससमेत सुविधा भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चिमखोलादेखि दुईदिनको पदयात्रामा धौलागिरि आधार शिविर पुग्न सकिने भए पनि बीचमा होटल नहुँदा यसअघि पर्यटक टेन्ट र ओढारमा बास बस्नुपर्ने बाध्यता रहेको थियो । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरी पूर्वाधार निर्माणको लागि पहल गरिएको रघुगङ्गा गाउँपालिकाले जनाएको छ ।

अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण भइरहेको छ भने आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।

म्याग्दी सदरमुकाम बेनीदेखि हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यतता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको धौलागिरि आइसफल पदमार्गबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजीकबाट अवलोकन गर्न सकिन्छ ।

पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य ९आइसफल० सँगै कालीबराह, लाटीबराह, निलीबराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुइनेमङ्गले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार