अभियाननगर नगरपालिका स्थायी घर भएका इन्द्र शर्मा अर्थात् खगेन्द्र लामिछाने, जो विदेश गएर आफ्नो सबै पारिवारिक समस्या समाधान गर्न चाहन्छ । भिजिट भिसामार्फत् विदेश जानका लागि खाली खुट्टामा एयरपोर्ट पुगेका उनलाइ कागजात नमिलेको भन्दै फर्काइएपछि व्यहोरेका अनेक हण्डर र ठक्करका कारण इन्द्र शर्मा कसरी राजनीतिमा आउन बाध्य हुन्छ, चलचित्र ‘दिमाग खराब’ ले समेटिएको कथा यति हो ।
अभियाननगरका मेयर हरिप्रसाद बराल अर्थात् अर्पण थापाको एक कल फोनले जब विदेशतिरको यात्रा सफल हुन्छ भन्ने भेउ इन्द्रले पाउँछन्, तब उनले जसैगरी जुनसुकै शर्तमा मेयर हरिप्रसादलाई भेट्न अनेक प्रयास गर्छन् । सबै प्रयास र शर्तनामापछि जब इन्द्रले मेयरलाई भेट्छन् र इन्द्रले जिम्मेवारी पूरा गर्ने वाचा गर्छन् । यहीबेला इन्द्रको ‘दिमाग खराब’ हुन्छ । अर्थात्, मेयरको एक कल फोनका लागि १०१ भोटको ग्यारेण्टी गरेर आमसभा पुगेका इन्द्रले ‘दिमाग खराब’ हुने खबर सुन्छन् । फ्री भिसा फ्री टिकटको नाममा आफूलाई ठगेको मनेपावरसँग मेयर हरिप्रसादको संलग्नता रहेको पतो पाएपछि इन्द्रले मेयरकै पार्टीको आमसभाको सार्वजनिक कार्यक्रममा चप्पलको चड्न लगाउँछन् । सार्वजनिक कार्यक्रममा मेयरलाई चप्पलको चड्कन लगाएपछि इन्द्रले व्यहोर्ने अनेक हण्डरको श्रृंखलापछि उनी श्रीमती सचि अर्थात् स्वस्तिमा खड्का र साथी भोलासाङ थोकर अर्थात् दयाहाङ राईको सल्लाह र जिद्दीमा मेयरसँग सार्वजनिक रुपमा माफी माग्न तयार हुन्छन् तर माफी माग्ने कार्यक्रममै इन्द्रले हरिप्रसादविरुद्ध चुनाव लड्ने घोषणा गर्छन् ।
इन्द्रको राजनीतिप्रतिको मोहले परिवारमा बेमेल ल्याउँछ । इन्द्रलाई छाडेर श्रीमती माइती जान्छे, घर जल्छ । अनेक उल्झन सृजना हुन्छन् । चुनावी प्रचारको क्रममा इन्द्रको बढ्दो लोकप्रियताले हरिप्रसादलाई जलन हुन्छ । इन्द्रलाई मेयर उम्मेदवारीको घेराबाट बाहिर राख्न हरिप्रसादले साम दाम, दंड, भेदको प्रयोग गर्छन् ।
चलचित्रमा एउटा संवाद छ, म काम गरेर खाने मान्छे, त्यो (मेयर) खाएर काम गर्ने मान्छे । हो, हुनेखाने र हुँदा खानेबीचको अन्तर र यी दुई वर्गबीचको अन्तरसंघर्षमा इन्द्र कसरी अगाडि बढ्छन् त्यसका लागि ‘दिमाग खराब’ हेर्नेबाहेक अरु उतम विकल्प सायदै होला ।
चलचित्र ‘दिमाग खराब’ले पछिल्लो पटक नेपाली राजनीतिमा देखिएको स्वतन्त्र उम्मेदवारहरुको दबदबाको विषयलाई उठाएको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार र संसदीय निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको जनविश्वासप्रति चलचित्रको कथा ढल्किएको छ । प्रथम दृष्ट्रिमै भन्न सकिन्छ कि यो चलचित्र ‘स्वतन्त्र’ भनिएकाहरुको पक्षमा ढल्किएको छ । यसले उनीहरुको वकालत गरेको छ ।
बहुदलीय व्यवस्थामा दलको विकल्प ‘स्वतन्त्र’ हुनै सक्दैन । तर, स्थानीय तहको पछिल्लो निर्वाचनमा स्वतन्त्रहरुको नाममा देखिएको अभूतपुर्व विश्वासलाई सिनेमामा उतारेका निर्देशक निश्चल बस्नेतको यो चलचित्रले पक्षधरता लिएको भने प्रष्ट देखिन्छ । चलचित्रको कैयन्, संवाद र विषय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मिल्दोजुल्दो छ ।
घरदैलोको क्रममा इन्द्रसँगै देखिएका सामाजिक अभियन्ता निरज गौडेल अर्थात् सुमन कार्की भन्छन्, ‘एउटै मन कतिपटक जित्नुहुन्छ, इन्द्रजी ।’ अर्थात् एउटै मन कतिपटक जित्नुहुन्छ रवि लामिछानेज्यु । फेसबुकका पोष्ट र कमेन्टमा यो शब्द नदेख्ने सायदै होलान् ।
यति मात्रै होइन, घरदैलोका क्रममा यसपालीको भोट मलाई है भन्दै पुगेका इन्द्र शर्मालाई एकजना वृद्ध भन्छन्, ‘यसपाली त तपाईलाई नै दिने हो, विदेशबाट छोराले पनि तपाईलाई नदिने भए घरै आउँदिन भनेका छन् ।’ यो डायलग पनि रवि लामिछानेको चुनावताका नसुनेका सायदै होलान् । यति भन्न सकिन्छ, यो रवि लामिछाने र स्वतन्त्र भनिएकाहरुको उत्कृष्ट प्रचार सामग्री हो ।
यो विषय किन राखिरहेको छु भने जसको वकालतमा निर्देशक बस्नेतले यो चलचित्र निर्माण गरेका छन्, उनीहरुको परीक्षण बाँकी छ । स्वतन्त्रको नाममा चुनाव जितेकाहरु हुन् या रवि लामिछानेको रास्वपाबाट जितेकाहरु किन नहुन्, उनीहरुको परीक्षण बाँकी छ । यस अर्थमा भन्न सकिन्छ, निर्देशक बस्नेतले राजनीतिको यो रुझानलाई टिपेर चलचित्र बनाउन हतारो गरेका छन् ।
भनिन्छ, कला अजर र अमर हुनुपर्छ । चलचित्रले कसैको वकालत गर्नुहुँदैन । कसैको अभियानको प्रचारक बन्नु हुँदैन । कला निष्पक्ष हुनुपर्छ । जुन कला निष्पक्ष हुन्छ, त्यो अजर र अमर रहन्छ । तर, स्वतन्त्र भनिएकाहरुको पक्षमा ढल्किएर निर्देशक बस्नेतले ‘दिमाग खराब’लाई सीमित घेराको प्रचारक बनाएका छन् ।
चलचित्रको अन्य पाटोमा चर्चा गर्नुअघि यति चाहिँ भनौँ ‘दिमाग खराब’लाई पुराना भनिएका शीर्ष दलका नेतृत्व तहमा भएकाहरुले एकपटक हेर्नैपर्छ । टु मच बिजी सेड्युअलमा भएकाहरुले पनि एकपटक हेर्नैपर्छ । मेयरका भूमिकामा देखिएका हरिप्रसाद अर्थात् अर्पण थापाको चित्र र चरित्रसँग नेतृत्वले आफूलाई दाजुन्, अनि कहाँ कहाँ बदल्नुपर्ने हो, बदलुन् । यति भए स्वतन्त्र भनिएकाहरुसम्म पुग्नै पर्दैन ।
चलचित्र ‘लुट’ निर्देशन गरेर उदाएका निर्देशक निश्चलको सिनेमा ‘दिमाग खराब’मा मुख्य पात्रको रूपमा देखिएका इन्द्र अर्थात खगेन्द्र लामिछानेको अभिनयमा नयाँपन देखिँदैन । चलचित्रको कैयन् मोडमा उनलाई ‘पशुपतिप्रसाद’को चरित्रमा भेटिन्छ । चितै नबुझ्नेखालको उनको अभिनय भने छैन । अभिनयमा नयाँपन नदेखिए पनि उनले इन्द्रको भूमिकालाई भने न्याय गरेको देखिन्छ । ‘सची’ अर्थात् ‘इन्द्र’की श्रीमतीको भूमिकामा देखिएकी स्वस्तिमा खड्काको अभिनय अब्बल देखिन्छ । स्वस्तिमाले आफूलाई यो चलचित्रमार्फत् अभिनयमा थप प्रमाणित गरेकी छिन् ।
भोला थोकर अर्थात् दयाहाङ राईको अभिनय उत्कृष्ट नै देखिन्छ । दयाहाङ अर्गानिकपनले सिनेमामा निरन्तरता पाएको छ । मेयरको भूमिकामा देखिएका हरिप्रसाद बराल अर्थात अर्पण थापाको अभिनयले चलचित्रलाई रोचक मात्रै बनाएको छैन, उनले आफ्नो भूमिकालाई न्याय गरेका छन् ।
फरक भूमिकामा देखिएका बले अर्थात् विजय बरालको अभिनय पनि जमेकै देखिन्छ । सामाजिक अभियन्ताको रुपमा देखिएका नीरज गौडेल अर्थात् सुमन कार्कीको अभिनय औसत रुपमा कमजोर देखिएको छ । पनि औसत अभिनयमा खुम्चिएका छन् । कलाकार रुपमा समेत चलचित्रमा देखिएका निर्देशक निश्चल बस्नेतको अभिनय भने कमजोर देखिन्छ । चलचित्रमा निश्चल बस्नेतको प्रवेशले दर्शकबाट प्रशस्त मात्र हुटिङ पाउँछ तर उनको पात्रमाथि अनुतरित प्रश्न उठ्नु अस्वभाविक छैन । एयरपोर्टमा भेटिएका निश्चल कसरी इन्द्रको गाउँसम्म आइपुग्छन् ? उनका पछाडि हुलका हुल केटाहरु किन बाइकमा दगुरिन्छन् ? आखिरमा निश्चल बस्नेत को हुन् ? उनको बारेमा केही खुलाइएको छैन । यति मात्रै होइन, सामाजिक अभियान्ताको आवरणमा भइरहेको विकृत रुपले चलचित्रले पर्दा उघारिदिएको छ । तर, अभियन्ता नीरज गौडेलको पात्र एकाएक किन हराउँछन्, यसबारे चलचित्र मौन छ ।
सिनेमामा प्रयोग भएका गीतहरुले चलचित्रलाई अझ रोमान्टिक बनाएको छ । यसको प्राविधिक पक्ष एकदमै राम्रो देखिएको छ । सम्पादनमा प्रशस्त मात्रमा ध्यान दिएको देखिन्छ । सिनेमा अवधिभर दर्शकले प्रशस्त मात्रमा मनोरञ्जन लिने सक्नेगरी यसको विषयवस्तु मिलाएका छन् ।
चलचित्रले अहिलेको गणतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउने काम गरेको छ । चलचित्रमा देखाएजति नेपाल प्रहरी निर्दयी पनि छैनन् । सार्वजनिक कार्यक्रममा सार्वजनिक पदमा भएकामाथि चप्पलको चड्कन लगाउनेहरुमाथि कानुनी कारबाही हुन्छ, यसबारे चलचित्र मौन छ । दलीय व्यवस्थामाथि वितृष्णा जगाउने नाममा चलचित्रले अराजकतालाई कतै न कतै प्रोत्साहन गर्न खोजेको जस्तो देखिन्छ ।
अन्तिममा, म चलचित्र समीक्षक होइन । मलाई चलचित्रको समीक्षा गर्न पनि आउँदैन । चलचित्र हेरेपछि केही त भन्नैपर्छ, लेख्नैपर्छ भन्ने सोचेर यति धारणा राखे, धन्यवाद ।