काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पूर्वमन्त्रीद्धय रामबहादुर थापा ‘बादल’ र पम्फा भुसालको प्रेम सम्बन्धबारे केही खुलासा गरेका छन् ।
पुनको हालै मात्र सार्वजनिक भएको पुस्तक ‘यात्रा जिन्दगी’मा उनले यसबारे खुलासा गरेका हुन् । ‘२०५३ सालको अन्त्यतिर रुकुम चोखवाङमा रोल्पा, रुकुम र जाजरकोटका क्याडरहरुको भेला थियो । महरा सर प्रमुख अतिथि हुनुहुन्थ्यो’ उनले लेखेका छन्, ‘त्यसबेला बादल, पम्फाहरु इण्डियातिर बस्थे । उतै सेल्टर लिन्थे । बादले मिटिङ बोलाउनुभएको थियो। उहाँ पश्चिम कमाण्ड इन्चार्ज हुनुहुन्थ्यो । त्यस मिटिङमा जानु थियो । मिटिङ लखिमपुरमा रहेछ ।’
मिटिङमा सहभागी हुन जाँदै गर्दाको विभिन्न प्रसंग उल्लेख गर्दै पुनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘हामी इन्डियाको बहराइच गयौं । त्यहाँ बादल र पम्फाजीहरु लिन आउनुभयो ।’ पुनले थप लेखेका छन्, ‘त्यो बेला बादल र पम्फाजीको इलुइलु चलिरहेको रहेछ ।’
त्यसपछि अन्य प्रसंग उल्लेख गरेपछि लख्खिनपुर मिटिङ बसेको तथ्य उल्लेख गरेपछि पुनले लेखेका छन्, ‘मिटिङमा त्यति राम्रो योजना बनेन । त्यहाँ पम्फा र बादलबीच गडबड रहेछ भन्न शंका सबैले गरे ।’
जनयुद्धको तयारी, जनयुद्धकालमा भएका विभिन्न आक्रमण, शान्ति प्रक्रिया लगायतका विषयमा खुलेरै आफ्नो पुस्तकमा लेखेका पुनले बादल र पम्फाको प्रेम सम्बन्धबारे थप लेखेका छन्, ‘६ महिनापछि बादल–पम्फाको प्रेम बाहिर भयो । उहाँहरुले हामी त घनिष्ट रुपमा एकअर्कासँग जोडिएका छौँ भन्नुभयो ’ हामी बरु मर्छौ तर एकअर्कामा छुट्टिदैनौँ विवाह गर्न अनुमति पाउँ भन्ने थियो । उहाँहरुको प्रेमको प्रतीकको रुपमा एउटा कचौरा थियो जसमा दुवैले सँगै खाना खानुहुन्थ्यो ।’
पुनको यो पुस्तक घोष्ट राइटिङले प्रकाशनमा ल्याएको हो । बादल अहिले एमालेमा छन् भने पम्फा भुसाल माओवादीको उपाध्यक्ष हुन् ।