अशिम लोप्चन/माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा यसपटक मध्यपूर्वले नेतृत्व पाउने दावी बलियो बनेको छ ।
मध्यपूर्वबाट एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिएका आरके शर्माको पक्षमा माहौल सिर्जना भएसँगै यसपटक एनआरएनएको नेतृत्व मध्यपूर्वले पाउने दावी बलियो बनेको हो ।
अध्यक्षका उम्मेदवार शर्मालाई मध्यपूर्व र त्यसबाहिर विश्वभरका श्रमिक डेलिगेट्सहरुले साथ र समर्थन दिएका छन् । एनआरएनएको नेतृत्व एकपटक मध्यपूर्वलाई दिनुपर्ने आवाज बलियो रुपमा उठेसँगै आरकेले अध्यक्ष जित्ने सम्भावना बलियो बन्दै गएको छ ।
उनलाई विभिन्न दल सम्बद्ध विश्वभरका श्रमिकहरुले मत दिनका लागि संयुक्त रुपमा आव्हान गरेका छन् । महाधिवेशनस्थलमा शर्माको पक्षमा माहौल मात्रै बनिरहेको छैन, उनका लागि एक अर्कालाई मत समेत मागिरहेका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै शर्मा भन्छन्, ‘मैले सार्वजनिक गरेको २० बुँदे वाचापत्रलाई आत्मसात् गरेर मलाई भोट दिन्छु भन्नेहरु दिनानुदिन बढिरहेको छ, उहाँहरुलेले विवेकपूर्ण ढंगले यसपटक मलाई जिताउनुहुन्छ भन्नेमा पूर्ण विश्वास छ ।’
महाधिवेशनस्थलमा भेटिएका एनआरएनएका अभियन्ताहरुले आरके शर्मा श्रमिकको प्रतिनिधित्व गर्ने देश कतारको उम्मेदवार भएकाले निर्वाचनमा उनको पक्षमा माहौल सिर्जना हुनु स्वभाविक भएका बताइरहेका छन् ।
‘यो कुनै पनि पार्टीको निर्वाचन होइन, यो हामी गैरआवासीय नेपालीहरुको निर्वाचन हो, यसमा को कुन पार्टीको भन्नेसँग हाम्रो साइनो छैन, जसले श्रमिकको मुद्दा बोक्छ, अनि बोल्छ, उसलाई हामी मत दिन्छौँ’ एकजना अभियन्ता भन्छन्, ‘हामी श्रमिकका लागि नेतृत्व गर्न सक्ने उम्मेदवार भनेको आरके शर्मा नै हुनुहुन्छ, उहाँ आफैँ पनि श्रमिकको प्रतिनिधित्व गर्ने देश कतारबाट प्रतिनिधित्व गर्नुहुन्छ, हामीले यसपटक उहाँलाई नै जिताउँछौँ ।’
एनआरएनएका अभियन्ताहरुले पनि विभिन्न सार्वजनिक मिडियाहरुमार्फत् मध्यपूर्वलाई यसपटक नेतृत्व दिएर न्याय गर्नुपर्ने आवाज उठाइरहेका छन् ।