देउखुरी । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ कार्यक्रमका लागि देशैभरीका वडामा प्रतिनिधि खटाएको छ । अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीचे औपचारिक रुपमा उद्घाटन गरेक्स हुन् । केन्द्रीय समिति बैठकबाटै माओवादीले ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरु गरेको हो । सोहीअनुसार पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय ससस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, प्रदेश कमिटी सदस्यहरू र जनवर्गीय संगठनलाई अभियानमा एकसाथ खटाइएको नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।
जनतासंग माओवादी रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत दाङको राजपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । वर्षातका कारण अवरुद्ध सडक खुलाउन श्रमदान गरेका हुन् । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सदस्य अमर कवर (नवीन)का अनुसार अनुसार वर्षासंगै खसेको पहिरोले अवरुद्ध राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवा, सुनपत्री खोला नाका जोड्ने सडक खुलाउन स्थानीयबासी, पार्टीका कार्यकर्ताको सहभागितामा रहेको थियो । सडकमा खसेको पहिरो पन्छाइएको हो ।
केही दिन यतादेखिको निरन्तर वर्षाका कारण वडाको बजेटले मात्र मर्मत गर्ने सम्भावना नरहेको समयमा श्रमदान कार्यक्रमले सहयोग पुगेको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। श्रमदान अन्तर्गत विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ । माओवादी केन्द्रका नेता समेत रहनुभएका वडाध्यक्ष वलीले श्रमदान अभियानलाई निरन्तरता दिने बताए। उनले भने,–। ‘वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ, सडक सुचारु भएपछि स्थानीयबासी संगै छिमेकी वडाबाट आवतजावत गर्ने यात्रुहरु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।’ भारतसंग सीमा नाका जोडिएको दाङका सीमावर्ती क्षेत्रका बस्तीमा सडक सञ्जालको पहुँच पु¥याउन स्थानीयवासी श्रमदानमा जुटेका छन् । सीमा नाकाका गाउँमा पुगेको सडकलाई स्थानीयबासी, पार्टीका कार्यकर्ताको सहभागितामा खनेरै नाकासम्म पु¥याउन लागिएको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवा, सुनपत्री खोला नाका जोड्ने अवरुद्ध सडक ट्रयाक निर्माण गर्नुपर्ने भएकाले डोजरको प्रयोग नगरी सडक खन्न थालिएको वडाध्यक्ष पुष्कर वलीले बताए ।
युवादेखि महिलासम्मले गल, बेल्चा, कुटो, कोदालोलगायतका घरेलु निर्माण सामग्रीसहित श्रमदान गर्दै आएका छन् । पिठ्युँमा दूधे बालक बोकेर हातमा बेल्चा समातेर सडक खन्न व्यस्त राजपुर गाउँपालिका वडा नम्बर ७ कुरुवा खोला निवासी मञ्जु रानाले घरमा छोरा मान्छे नभएकाले श्रमदानका लागि आफू सानी छोरीलाई बोकेरै आएको बताए । उनले भने,–। ‘घरमै आउन लागेको सडकमा श्रमदान पनि गर्नैपर्यो, झारा (श्रमदान)लाई त्यसै छाड्ने कुरा पनि भएन । दिनभर काम गरेँ, गाउँका सबै घरको पालो सकिएपछि सडक खन्न फेरि आउँछु ।’ उहाँले गाउँमा सडक सञ्जालको पहुँच नहुँदा सुत्केरीलाई समयमै स्वास्थ्य संस्था पु¥याउन नसक्दा बीच बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता रहेको अवस्थामा सडक योजना अघि बढेपछि आफूहरू खुसीसाथ श्रमदारमा आएको बताउनुभयो । उहाँ जस्तै साढे एक वर्षको छोरा बोकेर श्रमदानमा खटिनु भएको सोही ठाउँ निवासी ललिता रानाले गाउँमा सडक आउने खुसीले आफूहरू बालबच्चा बोकेरै काममा आएको बताए । उनले भने,–। गाउँमा सडक आउने भएपछि म बच्चा बोकेरै भए पनि श्रमदानमा जुटेकी हुँ ।’अन्य क्षेत्रमा सडक निर्माणमा डोजरको मात्रै प्रयोग गर्ने प्रचलन बढेको समयमा यस क्षेत्रका नागरिकले सडक निर्माण योजनामा भने मानव स्रोतकै अधिक प्रयोग गरेर सडक खन्न थालेको स्थानीय तिलक रानाले बताए । उनका अनुसार पहिरोको जोखिम रहेकाले गाउँ र विद्यालयलाई सुरक्षित राख्नका लागि ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ कार्यक्रम अन्तरगत मानवीय जनशक्ति परिचालन गरेर सडक खन्न थालेका हौँ । समुदायबाट आलोपालोमा श्रमदानको लागि समेत आउने गरेका छन् ।