अतिवादको अन्धकारमा ताली बजाइरहेका हामी नेपाली

कामना पौडेल १७ आश्विन २०८०, बुधबार

सन् २०१४ भारतमा भाजपा काे उदय भयो। त्यसपछि लगातार भारतमा मोदी सरकारले सरकार चलाउँदै आएको कुरा त हामी सबैलाई अवगत नै छ। मोदी सरकार हिन्दू अतिबादीहरुको सरकार हो भन्दा फरक नपर्ला। सन् १९९० को अयोध्यामा बाबरी मस्जिद र राम मन्दिरलाई लिएर विवाद चुलिएको थियो । त्यतिबेला भाजपाले कट्टर हिन्दुवादी पक्षधरता देखाएको थियो ।

त्यसैको जगमा भाजपा बलियो हुँदै आएको छ । भाजपा नेतृत्वकै सरकारका पालामा ३ वर्षअगाडि सन् २०१९ मा सर्वोच्च अदालतले राम जन्मभूमिको विवादमा हिन्दुको पक्षमा फैसला सुनाउँदै मुद्दा किनारा लगाएको थियो। सन् १५२८ मा निर्माण भएको बाबरी मस्जिदलाई कट्टर हिन्दुवादीहरूले सन् १९९२ मा भत्काएका थिए। रामजन्म भूमिलाई लिएर विवाद चुलिएकै बेला यो विषयले पनि स्थान पाएको थियो । ज्ञानवापी मस्जिद हटाउन सन् १९९१ मै अदालतमा निवेदन दायर गरिएको थियो । बनारसको विषय अदालतमै रहेका बेला मथुराको श्रीकृष्ण जन्मभूमि मन्दिर परिसरसँगै रहेको शाही इदगाह मस्जिदलाई हिन्दु पक्षले कृष्णको जन्मस्थल रहेको दाबी गरे।अर्कोतिर केही हिन्दु संगठनले शिव मन्दिर भत्काएर शाहजहाँले ताजमहल बनाउन लगाएको दाबी गर्दै आएका छन् ।मणिपुरमा भड्किएको जातीय हिंसामा भाजपाकै मुख्यमन्त्री ऐन विरेन सिंह कारक रहेको बताइन्छ ।हरियाणाको नुहुमा धार्मिक दंगा भड्काउने पनि भाजपाको हात रहेको खुलेको थियो। यसरी चुनाव नजिक आउँदै गर्दा धार्मिक द्वन्द मच्चाउँदै आउने त भाजपाको रणनीति नै हो।

मोदी सरकारको उदय पश्चात धार्मिक अतिवाद भारतमा मात्र नभएर नेपालमा समेत पुन:उदय हुँदै छ। भारत नेपालको खुल्ला सिमाना, सांस्कृतिक,भाषिक, धार्मिक, राजनैतिक देखि लिएर बिभिन्न तवरले एक आपसमा अन्तरसम्बन्धित भएकाे कारणले गर्दा भारतमा हुने सानो देखि ठूलो प्रायः सबै घटनाहरूले नेपाललाई पनि असर परिरहेको हुन्छ। नेपालमा आफैमा अतिवाद नभएको होइन, धार्मिक रुपमा चरम अतिवाद थियो। तर माओवादी जनयद्ध र मधेस आन्दोलनले गर्दा बोल्न नसक्ने गरी सुस्ताएको थियो। सुस्ताउनु मा पनि चेतनास्तरमा सुधार भएर भने थिएन। त्यसबेला माओवादीहरुको धम्की र त्रासले गर्दा खुल्ला तरिकाले दमन गर्ने, अतिवाद फैलाउने घटनाहरू घटेको जस्तो देख्न सकिन्थ्यो। तर अहिलेको समयसम्म आउँदै गर्दा भाजपाको उदय पश्चात् फेरि भारत र नेपाल दुवै राष्ट्रहरूमा धार्मिक, जातिय, क्षेत्रीय, भाषिक, सांस्कृतिक अतिवादले खुल्ला तरिकाले चरम सीमा नाघेको स्पष्ट देख्न, सुन्न र महसुस गर्न सकिन्छ।

नेपालमा हालसालैको रुकुम घटना अतिवादको स्पष्ट उदाहरण हो।नवराज विक सहित ६ जना युवाहरुलाई पुरै गाउँ मिलेर लखेटी लखेटी घेरा हालेर ढुंगा, लौरो, हँसिया र चिर्पटहरू प्रहार गरेर वडा अध्यक्ष काे सहायतामा हत्या गरी भेरीमा फालियो । वडा अध्यक्ष राज्यकाे प्रतिनिधि हो। त्यसरी मानवता गुमाएको एउटा समूहले जातकै आधारमा हत्या गरिरहदा पुलिसले टुलु टुलु हेरेर बस्यो र अनुसन्धान गर्न तिर नलागी ‘ए भेरीमा हाम्फालेर मरेछन्… !’ भन्ने गैरजिम्मवारपूर्ण स्पष्टीकरण दियो। प्रहरी राज्यको गृह प्रशासनको प्रतिनिधी हो । त्यसै क्षेत्रबाट जनताले जिताएर पठाएका सांसदले संसदमा ‘उनीहरू भेरीमा बगेर मरे होलान्’ भनेर आफ्नो तर्क राखे। नेपालका वरिष्ठ पत्रकारहरुले ‘त्यहाँ त बाहुन पनि थिए , त्यो कसरी जातीय द्वन्द हुन्छ ?अर्काको छोरी चोर्न जाँदा लखेटीऐर मारिएका हुन’ भन्दै राज्यको चौथो अंगले पनि पीडितलाई अन्याय गरेर पीडितकै बिरुद्द लेख्यो। हत्या भएको दुई वर्ष बितिसक्दा पनि न्यायिक प्रक्रियमा ढिलाइ र घटनामा संलग्न कतिपय अभियुक्तलाई धरौटीमा छोड्ने जस्ता गैरन्यायिक क्रियाकलाप राज्यबाटै भयो। कानूनी संयन्त्रले नै पीडितहरुलाई अन्याय गर्यो। बुझ्नुपर्ने कुरा, दलित हत्याराको मस्तिष्कभित्र संविधानभन्दा बलियो अर्को कानुन छ जसले हत्यालाई वैधता दिइरहेको छ।

देशको राजधानीमै घटेको रुपा सुनारकाे घटना छ। पढेलेखेका र आफूलाई विद्वान भन्नेहरुले उक्त घटना मा पिडककाे वकालत गरेको देखियो। कुकुर र बिरालो परिवारकाे सदस्यका रूपमा अट्ने काठमाण्डौका विद्वान, उच्च चेतना भएका पढेलेखेका व्यक्तितहरुको घर,समाज र दिमागमा एउटा समुदायकाे मान्छे अटेन। अन्तर्जातीय विवाह गरेको आरोपमा घरविहिन बनाइदिने, घर नै जलाइदिने,एउटा धार्मिक किताब पढेको निहुँमा मारिने हो कि भन्ने त्रासमा बाँच्नुपर्ने, यस्ता दुखद घटनाहरु त हामी सबैको आँखा अगाडि घटिरहने घटना हुन यसरी राज्यको सम्पूर्ण संयन्त्र मिलेर एउटा समुदाय का बिरुद्द लाग्नु , जातीयता, जातिय हिंसाकाे वकालत गर्नु के यही होइन त अतिवाद ?

एउटा समुदाय छ अतिवादीहरुको जसका अनुसार नबराज विककाे पक्षमा आवाज उठाउँछ, जसले रुपा सुनारकाे वकालत गरेर बोल्छ त्यस्तो बोली भनेको क्रिश्चियन धर्म मान्नेहरुको , डलारबादीहरु हुन र उनीहरुले धार्मिक द्वन्द गर्न खोज्दै छन्। अतिवाद र अन्यायको विरुद्ध आवाज उठाउनेहरुलाई विदेशी दलाल भनेर डिमोरालाइज गर्ने अर्थात् मनोबल घटाउने प्रयत्न मा लागिरहन्छन् । त्यो चेतनाका अनुसार नेपाल पहिला सबै दृष्टिकोणबाट ठीक थियो। नेपाल बिगार्ने दलितको पक्षमा, गरिबको पक्षमा, राई लिम्बूहरुका पक्षमा बोल्नेहरुले हो।अतिवादका विरोधीहरु देश द्रोही, डलरबादी र क्रिस्टियन हुन। ती चुपचाप बस्ने हो, कमजोरहरुलाई दमन गर्न पाउने हो, पीडितहरुले सधैं उनीहरूको दमन र अतिवाद सहँदै बस्ने हो भने सबै ठीक हुन्छ तर होइन भने उनीहरूले द्वन्द ल्याउँछन्। त्यी सबै गैरराष्ट्रबादीहरु हुन् भनेर नयाँ पुस्ता देखि देशको कर्मचारी प्रशासनको मुख्य व्यक्तित्वकाे भूमिका निर्वाह गरिसकेका मान्छेहरुको त्यस समुदायमाथि आक्रामण हुँदै आएको छ। जातपातमा आधारित छुवाछुतप्रथा मुलुकी ऐन–१९१० लागू हुनुअघि पनि नेपाली समाजमा थियो नभएको होइन तर सो ऐनले त्यसलाई कानुनी मान्यता दियो ।

जंगबहदुरकाे मुलुकी ऐन र यसले लादेको छुवाछुत
जंगबादुरले पहिलो पटक बिक्रम सम्बत १९१० मा बेलायात यात्राबाट फर्के लगत्तै मुलुकी ऐन बनाए। ऐन हिन्दू दर्शनमा आधारित रहेको र यसको मुख्य उदेश्य जातको आधारमा अपराधीहरूलाई सजायको ब्यबस्था गर्नु थियो।यो ऐनको मस्यौदा लोकपति र लेसपति झा ले मनुस्मृतिको आधारमा गरेका थिए र उनिहरु दुबैजना भारतीय ब्रामहण थिए । यसले तागाधारी (ब्राह्मण, राजपुत, क्षत्री), मासिने मतुवाली, नमासिने मतुवाली, पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने, पानी नचल्ने छोइछिटो हाल्नुपर्ने आदि गरी कानुनी रुपमै जातका आधारमा समाजिक तह निर्धारण गर्‍यो। एउटै अपराधका लागि भिन्न जातका मानिसलाई भिन्न दण्डको व्यवस्था पनि यसले गर्‍यो । यस अर्थमा यो ऐनले जातिप्रथा र छुवाछूतलाई प्रोत्साहन गर्‍यो।यसका केही उदाहणहरू यस्ता छन्। उपाध्याय ब्राह्मण, जैसी ब्राह्मण र तिरहुतका भट्ट देसी ब्राह्मण कसैले मानिस मार्‍यो भने ऐनबमोजिम अंश सर्वस्व गरी दामल गर्नू ।राजपूत, तागाधारी, क्षत्री, मतवाली, शुद्र जातकाले मानिस मार्‍यो भने ज्यानको बदलामा ज्यान लिनू। २०४६ अगाडि ९ पटक संशोधन भएको यो ऐन २०४६ सालको जन आन्दोलन पश्चात २०४७ सालमा जारी भएको संबिधानको भावना अनुरुप कानुनी ब्यबस्था मिलाउन २ पटक र २०६३ को अन्तरिम संबिधान अनुकुल कानुन र न्यायलाई परिष्कृत बनाउन एक पटक गरी हालसम्म १२‌औ पटक संशोधन भएको हो।

वर्तमान समयमा राज्यको केही अंगहरू जस्तै काठमाण्डौकाे भद्रकाली मन्दिरछेउमा नेपाली सेनाको मुख्यालय बाटो हिँड्ने सबैले देखेका छन्। सो भवनको शिरमा त्रिशूल र डमरु अंकित रहेको पनि परैबाट स्पष्ट देखिन्छ। त्रिशूल–डमरु महादेवका प्रिय वस्तु हुन्। अर्थात् हिन्दू धर्मको प्रतिनिधि्त्व स्पष्ठसंग गरिरहेको छ। माहाशिवरात्रिलाई सैनिक दिवस मान्ने नेपाली सेनामा विभिन्न धर्म, क्षेत्र, जातजाति र समुदायबाट भर्ती हुँदै आएका छन्। सैनिक दिवसमा राष्ट्रपति, प्रधानमन्त्री जान्छ शिवरात्री अनि सैनिक दिवस मनाइन्छ। नेपाली सेना नामक संस्थाले आफ्नो गणको नाम कालिनाथ गण, चण्डिका गण र भैरव गण राख्छ जुन उसको र हिन्दू धर्मको पहिचान हो। एउटा लिम्बु,तामाङ,मुसलमानको छोरा/छोरीले चण्डिकालाई मान्दैनन्। ऊ त प्रकृति पुजक हो , ऊ अल्लाह मान्छ या जिसस मान्छ भने नेपाली सेनामा सबैभन्दा बढी संख्यामा भर्ती हुने लिम्बु, तामाङ,राई,मुस्लिमकाे छोरा छोरीलाई जबर्जस्ती शिवरात्री र ‘जय महांकाल, लादिएको छ र यो न्यायसंगत छैन। यसरी राज्यको अंगले नै नेपालको संविधान,धर्म निरपेक्ष र समावेशिता बिरुद्द काे गतिविधि गर्दा राज्यले सहयोग र समर्थन गर्दै छ।

नेपाल हिजो पनि जातीय, धार्मीक हिंसामा थियो , आजपनि जातीय,धार्मिक, क्षेत्रीय हिंसामा छ। कानुनले हिजोको मुलुकी ऐनले जसरी कानुनमा , लिखित रूपमा नभएपनि सामाजिक सत्ता, ज्ञान सत्ता र चेतना ले त्यसलाई गाइड गरिररहेको छ।जसले हिंसा गरिरहेको छ उनीहरुले नै जातीय युद्ध छेड्न थाल्यो भनेर उत्पीडित माथि दमन गरिरहेका छन्। तर दुःखको कुरा, यसको संरक्षण राज्यले गरेको छ। यदि कृष्ण बहादुर महराले गरेको गल्ती कृष्ण बहादुर कामीले गरेको भए के आज ऊ मञ्चमा बसेर भाषण गरिरहेका हुन्थ्यो होला त? उता गाउँको एक आदिवासी समुदायले आफूले सामान्यतः खाँदै आएको गोरुको मासु खाएकै आधारमा त्यस समुदाय माथि खनिन पूरा राज्य, गृह प्रशासन लागिरहेका छन्। माइतीघरमा त्यस समुदाय विरुद्ध अतिबादीहरु उर्लिएका छन् भने अतिवादित्वकाे नेतृत्व गर्नेहरू पायो भने पाँच तारेमा गएर बिफ बार्बीक्यु गरेर बस्छन्।

यो महाहत्याराहरुले न्याय खोजेको नागरिककाे समुदाय माथि गरेको दमन नभए के हो त ? यो अझै हास्यास्पद कुरा त के भने कसैले अन्याय बिरुद्द बोल्यो भने भारतीय एजेन्टकाे रूपमा परिभाषित गरिन्छ।म त भन्छु राष्ट्रघाती, गैर राष्ट्रियताबादीहरु र भारतीय एजेन्टहरु ति हुन् जसले हिन्दू अतिबादी काे मार्ग रोजेर अन्य समूदाय माथि दमन गरिरहेका छन् र धार्मिक र जातीय युद्धको तयारी गरिरहेका छन्। यो देशमा बस्ने जनताहरू धर्म निरपेक्ष राज्यबाट सन्तुष्ट छन किनकि धर्म निरपेक्षले सबैलाई समावेश गरेको छ। यसर्थ धर्म निरपेक्ष भारतको सत्तारूढ दल भाजपा को माग हो र हिन्दू धर्मलाई संसारको कुना कुनामा फैलाएर सर्वश्रेष्ठ बन्ने सपना नरेन्द्र मोदीको हो। समग्रमा भन्नु पर्दा भारतमा सत्ता चलाइरहेको भाजपा अर्थात् हिन्दू अतिबादी पार्टीले नेतृत्व गरेर सञ्चालन गरेका भारतीय दलालहरुले हाम्रो देशमा धार्मिक युद्धको सुरुवात गर्ने सुरसारमा छन्।अमेरिका को ठूलो रिसर्च पत्रिकाले “ हिन्दू धर्म विस्तारको निम्ति भारतले धेरै ठूलो लगानी गरेको कुरा छापेको थियो जुन सामान्य कुरा होइन । अहिले हेर्यौ भने भारतीय बाबाहरुका मठहरु संसारभर स्थापना गरि प्रचुर मात्रामा प्रचारका कामहरू भइरहेका छन्।अमरेश कुमारले एक अन्तरवार्तामा भनेका थिए कि अहिले मोदी सरकारले नेपालमा धार्मिक द्वन्द फैलाएर भारतको आगामी चुनाव जित्ने रणनीति रच्दै छ।

सन् ९० को दशकको सुरुवातमा मानवशास्त्री डोरबहादुर विष्टले ‘फ्याटालिजम एन्ड डेभलेपमेन्ट, नेपालस् स्ट्रगल फर मोडर्नाइजेसन’ नामक किताबमा भाग्यवाद , ब्राह्मणबाद र समाज विकास अवरोधका मुख्य कारकहरू भन्ने तरिकाले परिभाषा गरेका थिए। ब्राह्मण अवधारणाहरूमा आधारित जातप्रथा नेपालको ठूलो सामाजिक समस्या हो। ‘ब्राह्मणवाद’बाट आएको ‘भाग्यवाद’ कै कारण नेपालको ‘विकास’ हुन नसकेको हो भन्ने विष्टको भनाइसँग उनले भाग्यमा मात्रै आश्रित बनेर विकासको सपना देखिरहेको नेपाली समाजको चित्रण गरेकाे छ। नेपाली मानवशास्त्रका पिता विष्टले भाग्यवादी सोचका कारण नेपाली समाजमा रहेको मेहनत गरी खाने संस्कार र सफलता हासिल गर्ने उत्प्रेरणाको भावना नष्ट भएको उल्लेख गरेका थिए। चाकरी, नातावादको आडमा हुने विकासले नेपाल परिवर्तनको पथमा अग्रसर हुन नसक्ने उनको विश्लेषण थियो। विष्टको किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक, वर्गीय आदि विभेदविरुद्ध बुलन्द आवाज उठाउन थाले।

नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्याय सम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हकको प्रत्याभूति गरेको छ । छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन–२०६८ र मुलुकी अपराध संहिता–२०७४ समेतले यी हकको प्रत्याभूति गरेका छन् । तर अपवादबाहेक अधिकांश जातीय विभेदको घटना दर्ता गर्न पनि दलित समुदायले आन्दोलन गर्नैपर्छ । आन्दोलन गरेर दर्ता गरिएका अधिकांश त्यस्ता घटनामा आरोपीहरूले सफाइ पाउँदै आएका छन् । कतिपय मुद्दामा दोषी साबित भए पनि नाम मात्रको सजाय भएको देखिन्छ ।सबै पार्टीले नीति तथा सिद्धान्तमा दलितमाथि विभेद गर्नेलाई कारबाही गर्ने उल्लेख गरेका छन् । तर अहिलेसम्म कुनै पनि पार्टीले जातीय विभेद गरेकै आधारमा एक जनालाई पनि कारबाही गरेको रेकर्ड छैन । पालिका अध्यक्षसँग सम्बन्धित सिरहाको घटनामा कसैलाई पनि कारबाही नहुनु यसको ज्वलन्त उदाहरण हो । २०७० जेठ २४ गते रौतहटको पिपरिया दोस्तिया–८ स्थित भिङडावर गाउँको दलित बस्तीमा स्थानीय गैरदलित समुदायबाट भएको आक्रमणमा १८ जना घाइते भए, कम्तीमा ६० घर भत्काइए । मन्दिर प्रवेशमा लगाइएको रोकविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता लिन नमानेपछि दलित बस्तीमा गैरदलित समुदायको सामूहिक आक्रमण भएको थियो । तर यहाँ पनि कसैले न कानुनको न त पार्टीकै सजाय भोग्नुपर्‍यो ।

समानुपातिक निर्वाचन प्रणालीले दलित समुदायका सीमित अगुवा तथा जान्नेसुन्नेलाई पनि पार्टीहरूका नेताको आसेपासे बनाइदिएको छ । पार्टीहरूका नेताले नै खुलेआम विभेद गर्दासमेत पार्टीमा आबद्ध दलितहरूले यसरी विभेद गर्नेमाथि कारबाहीको मागसम्म गर्न नसक्नुको मुख्य कारण यही हो । जब मानिसबाट स्वतन्त्रता खोसिन्छ,त्यो धर्म कदापि हुन सक्दैन।धार्मिक अतिवादले मानिसको मानव हुने आधारभूत अधिकार नै हरण गरेको हुन्छ। हिन्दु धर्मको बाहुल्य भए पनि विविधताले भरिएको भारतले हिजोका दिनसम्म सबै धर्मको सम्मान गर्दै विश्वमा आफूलाई पहिलो स्थानमा राख्न सफल भइरहेको थियो, तर अहिले त्यो अवस्था अन्त्य भइसकेको छ। कारण भारतमा पनि यो महान् धर्म राजनीतिको सिकार भइसकेको छ। एसियाको सबैभन्दा उदार देशका रूपमा परिचित नेपालमा पनि धर्मलाई फेरि राजनीतिमा मिसाइँदै छ, २ सय ५० वर्षअघिका दिन फर्काउने दुष्प्रयास हुँदै छ।संसारमा जति पनि धनी र विकसित देश छन्, ती सबैमा धार्मिक अतिवाद र अन्धविश्वासले होइन, वैज्ञानिक सोच र प्रविधिले पहिलो स्थान पाएका छन्। खाडी क्षेत्रका केही मुलुक धनी भए पनि त्यहाँ मानवीय विकास हुन सयौं वर्ष लाग्नेछ। कारण ती देशमा पनि धर्मलाई अतिवादी तरिकाले मानिसमा लादिएको छ। जसले सबै मानवको होइन, शासक वर्गको मात्र कल्याण गर्छ।

अन्त्यमा हाम्रो संविधानले दिएको धार्मिक स्वतन्त्रता संस्थागत गर्ने हो भने मानव कल्याण र देश विकासमा ठूलो फड्को मार्न सकिने निश्चित छ। तर देश लुट्न पल्केकाहरूले नागरिकका आँखामा धर्मको ‘धुलो’ हालेर आफ्नो दुनो सोझ्याइरहेका छन्। हामी नागरिक भने अन्धकारमा ताली बजाइरहेका छौं।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *