देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी तिकल खत्रीले गाउँबेसी गर्दै आफ्ना सबै खेतमा लगाएको धान पाक्ने बेलाभयो । लाग्ने समय र मिहेनत हेर्ने हो भने खेतबारी पनि पर्याप्त नै लाग्छ । तर, त्यहाँबाट उब्जिने अन्नबालीले वर्षभरीलाई खान पुग्दैन । सोही कारण उनले मजदुरीका लागि भारततर्फ प्रस्थान गरिसक्नुभएको छ । जनघनत्व बढ्दै छ, तर जमिन र उब्जनी बढेको छैन । सोही कारण भारतसंग सीमा जोडिएको दाङका सीमा नाकामा बसोबास गर्दै आएका अधिकांशको गुजारा छिमेकी मुलुक भारत गएर कमाएको पैसाले चल्ने गरेको छ । भारत प्रवेश गर्ने खुलानाकाबाट भारततर्फ जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ ।
परिवार पाल्नकै लागि विशेषगरी भारत र तेस्रो मुलुक पलायन हुनु नियति नै बनेको छ । विकट क्षेत्रमा वर्षभरीलाई खान पुग्ने गरी उब्जनी नहुँदा भारतीय सहरहरु दिल्ली, पन्जाब, सिमला र उत्तराखड, केरला तथा हिमाञ्चल प्रदेशका विभिन्न क्षेत्रमा काम गर्न जानुपरेको उनीहरुले बताए । ‘खेतिपातीबाट वर्षभरी खान पुग्दैन, यता रोजगारी छैन्, राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका हाल (केरला) निवासी तिलक खत्रीले भने,– । ‘परदेश जानु हाम्रो बाध्यता छ । घर अगाडि रोजगारी पाइएको भए किन भारत जानुपथ्र्यो र रु’ जिल्लामा ३४ वटा खुला सीमा नाका रहेको छ । अधिकांश सबै नाकाका स्थानीयहरु रोजगारीका लागि भारत जाने गर्ने गरेका छन् ।
विद्यार्थीदेखि जेष्ठ नागरिकसम्म काम खोज्दै भारततिर बाली छरेर हिउँदमा रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेको खत्रीले बताए । ‘परिवार पाल्नका लागि गाउँघरमा कुनै स्रोत नभएपछि बाध्य भएर भारत जानु परिरहेको हो, उनले भने,–। खुला सीमा नाकाबाट सैयौंको संख्यामा नेपाली भारत पस्ने गरेको सीमा प्रहरी चौकी कोइलाबासले जनाएको छ । ‘दैनिक ३ सय नेपाली नागरिक भारततर्फ जाने गरेका छन् । ‘राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले विद्यार्थीदेखि ६० वर्ष माथिका वृद्धहरुसमिेत रोजगारीका लागि भारत जाने गरेको बताए । सजिलो छैन परदेशमा कमाउन भारतमा गएर पनि काम सजिलो छैन । जोखिम पनि प्रसस्तै हुन्छ, तर परिवार पाल्न बाध्य भएर जानु परेको स्थानीय दिलिप विकले बताए ।
‘भारतमा काम गर्दा सधैँ हेपिनुपर्छ, उनले भने,–। ‘कतिपय ठाउँमा काम गरेको पैसासमेत पाइन्न ।’ यस्तै अनुभव राजपुर गाउँपालिका वडा नम्बर ७ खिर्कीनाका निवासी टिकाराम खड्काको पनि छ । ‘साहुको गाली, डर धम्की सहेर पनि काम गर्नुपर्छ,उनले भने,–। ‘प्रत्येक हिउँदमा कामका लागि भारत जाने र नयाँ वर्षका लागि घर फर्कने गरेका छौँ ।’ काम गर्नसक्ने युवाहरु भारत पसेपछि गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र भेछिन्छन् । युवाको अनुपस्थितिमा विकास निर्माण मात्र नभएर सामाजिक कामहरुसमेत प्रभावित हुने गरेका छन् । गाउँमा कोही मान्छे मृत्यु भए मलामी जानसमेत युवा नपाइने स्थानीय टंकबहादुर विकले बताए । उनले भने–। ‘गाउँमा महिलामात्रै हुन्छन्, पुरुष काम गर्न भारत र अन्य मुलुक गएका छन्, मलामी जानसमेत मान्छे छैनन् ।