काठमाडौँ । विश्व चर्चित वान च्याम्पियनसिप मिक्स मार्सल आर्ट (एमएमए)मार्फत बझाङका २४ बर्षीय रविन्द्र धान्तले नेपाललाई विश्वसामु चिनाएका छन्। एमएमको डेब्युमै फाइट जितेका धान्तले नेपाललाई विश्वमा चिनाउन सफल भएका हुन्।
शुक्रबार थाइल्याण्डको बैंककमा भएको वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा रविन्द्रले रसियन फाइटर तोरेप्ची डोनगागलाई टेक्निकल नकआउट गरेका थिए ।
रविन्द्र नेपालबाट वान च्याम्पियन खेल्ने पहिलो खेलाडी हुन् र डेब्यु फाइटमै जित हात पार्दै उनले ऐतिहासिक उपलब्धी हासिल गरे ।
वान च्याम्पियनसिपमा नेपालको पनि इन्ट्री भएको बताउँदै उनले आफू एकदमै खुशी भएको बताए। । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रविन्द्रले अब नेपालका अरु एमएमए फाइटरलाई पनि यसले सहयोग गर्छ भन्नेमा आशा रहेको बताए।
गत जुनमा काठमाडौंमा भएको नेपाल वारियर्स च्याम्पियनससिप (एनडब्लुसी) मा भारतीय खेलाडी जासोन लाइन्डोलाई पराजित गरेपछि रविन्द्रलाई विश्व चर्चित एमएमए वान च्याम्पियनसिपले एक फाइटका लागि अवसर दिएको थियो ।
पहिलो फाइट जितेपछि नेपालको एमएमएको बारेमा पनि चर्चा हुन थालेको उनले बताए । रविन्द्रले यसअघि भारत र नेपालमा मार्सल आर्ट खेल्दै आएका थिए ।
नेपालमा एमएमएको विकास हुन थालेपनि अझै ट्रेनिङ र इभेन्टहरुको खाँचो रहेको उनको भनाइ छ ।
एमएमए आफैंमा चुनौतीपूर्ण खेल भएको रविन्द्रले बताए ।
रविन्द्रले यस खेललाई सरकारबाट केही सहयोग नभएको भन्दै अरुको आशा गर्ने भन्दा पनि कडा मिहिनेत गर्ने र चुनौतीको सामना गर्न सक्ने हुनुपर्ने बताए । राम्रो ट्रेनिङ क्याम्पहरु भएमा नेपाली एमएमए फाइटरले पनि धेरै राम्रो गर्न सक्ने रविन्द्रले बताए ।