तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

उज्यालो प्रतिनिधि ३१ भाद्र २०८०, आईतवार समाचार

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।

वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

उनले भने, “वन मन्त्रालयसँग सम्बन्धित केही समस्या अझै समाधान भएका छैनन्, ऊर्जा मन्त्रालयमार्फत वन मन्त्रालयमा समस्या समाधानका लागि पठाएका छौँ ।” बिनाअवरोध काम गर्न पाएको भए यो खण्डमा हालसम्म ८५ प्रतिशत काम भइसक्ने उनको भनाइ छ ।

उनका अनुसार प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग हाल्ने कार्य सकिएको छ । त्यस्तै ३३ टावर जडान सकिएको छ भने १२ टावरको जग संरक्षण सम्पन्न भएको छ । त्यस्तै हालसम्म शून्य दशमलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ । उनका अनुसार एक स्थानमा जग हाल्ने काम भइरहेको छ । उनले भने, “प्याकेज–१ र २ सँगै प्याकेज–३ को प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ ।”

प्याकेज–३ अन्तर्गत केईसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण गरिरहेको छ ।

प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीनवटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको छ । तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज–२ अन्तर्गत विद्युतगृह निर्माणमा ४५ प्रतिशत र प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।

यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

बाँधको माथिल्लो भागको स्लोप खन्ने कामअन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माणकार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाको प्याकेज–२ को निर्माणकार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार ३६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।

यो प्याकेजअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्यांकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ ।

आयोजनाको एक हजार ४५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मंसिर मसान्तसम्म ६८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको २१० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार