डोको बुनेरै ४५ वर्ष बिताएका साइँला चेपाङ

उज्यालो प्रतिनिधि २५ भाद्र २०८०, सोमबार समाचार

मलेखु (धादिङ) ।  धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइँला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।

आँगनको डिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदै छ । डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।

“पहिला डोको, भकारी जति पनि बिक्थ्यो । बोकेरै बजार लगेर रू १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो,” चेपाङले भने, “अहिले बजारमा डोको बिक्न छोड्यो ।” चौकीभञ्ज्याङ र आसपासका सबैको पुर्ख्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उनले बताए ।

चेपाङ कतिले पुर्ख्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुर्ख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताँछन् । उनका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।

डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ ।

“हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन,” उनले भने, “अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिनँ । किन्न व्यापारी गाउँ आउदैनन् । पुर्ख्यौली पेसा भनेर मात्रै गरिरहेका हौँं । डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ ।”

विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा रू १० सम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए । “त्यस समयमा रू दुईमा एक पाथी नून, रू ६ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०/१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो”, उनले भने, “अहिले बजारमा डोको बिक्री हुँदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।” उनका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।

उनकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाइन् । “त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो,” तिलकुमारीले भनिन्, “अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सि कतै माग भइहाल्यो भने बेचौँला भन्ने झिनो आशा छ ।”

डोकोको आकार हेरेर रू ३०० देखि रू ५०० सम्म र खाङ्ग्रेको रू एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबासका ४० वर्षीय रामबहादुर प्रजाले बताए । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ थियो । “गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । ६ देखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ,” उनले भने ।

प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जितबहादुर चेपाङले बताए । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उनको भनाइ थियो ।

“गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्,” उनले भने, “अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको हो ।”

चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुर्ख्यौली पेसा डोको बुनाइ हो । तर, पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार