उहिले कोही केटाकेटीलाई ‘नानी बाबुहरु हो तिमीहरू ठुलो भएपछि के बन्ने ?’ भनेर प्रश्न गर्दा ‘म डाक्टर बन्ने, म इन्जिनियर बन्ने, म शिक्षक बन्ने, म आर्मी बन्ने जस्ता जवाफ भेटिन्थे तर अहिले सोध्यो भने ‘म त विदेश जाने’ भन्ने जवाफ पाइन्छ ।
केही समय अगाडि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिएर साथीहरूसंग छुट्टिने बेला ‘खाडीमा भेटौला’ शब्द टिसर्टमा लेखेको एकजना विद्यार्थी चर्चामा आएको थियो । यस्ता विदाइ कार्यक्रममा सम्झना अनि भविष्यको शुभकामना दिनुपर्ने हो तर ‘खाडीमा भेटौंला’ लेखेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो ।
भक्तपुरको बागेश्वरी माविबाट विदाइ हुँदै गरेका कक्षा १२ मा अध्ययनरत सिन्धुपाल्चोकका निराज तामाङ, काभ्रेका निराजन मैनाली, रामेछापका राजन मानन्धर र ललितपुर गोदावरीका विशन नगरकोटीले यसरी ‘खाडीमा भेटौंला’ लेखेको सर्ट लगाएका थिए । यसले संकेत के गर्छ भने अधिकांस युवाहरूले पढाइ सकेपछि उनिहरुको एकमात्र सपना भनेको विदेश पलायन नै हो ।
गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या हो ।
चालु आर्थिक वर्षको गत जेठ महिनामै नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड तोडेको थियो । जेठसम्म ७ लाख १९ हजार ६७७ जना श्रमिक श्रम स्वीकृति लिएर उडिसकेका थिए । असार महिनामा थप ५१ हजार ६५० जनाले श्रम स्वीकृति लिएपछि कीर्तिमानले थप उचाइमा लिएको छ । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए ।
गत आर्थिक वर्षमा कुल ६ लाख ३७ हजार १३३ जना श्रमिक विदेशिएकोमा यो वर्ष १ लाख ३४ हजार २१४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको वैदेशकि रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए । अझ गैरकानुनी ढंगले विदेश जानेको सङ्ख्याको त कुनै तथ्यांक छैन ।
विदेश जाने कुरामा सरकार अलि गम्भीर भएन भने केही वर्षमा नेपालमा काम गर्न नसक्ने बुढा बुढि आमा बुबा, कलिला केटाकेटी मात्रै बाँकी हुने परिस्थिति सिर्जना हुँदै जानेछ । युवाहरूमा नेपालमा केही पनि हुदैन, हाम्रो भविष्यमा विदेशमा मात्रै छ भन्ने कुराको मनोविज्ञान विकास हुँदै गएको छ ।
शिक्षामा राज्यले ठूलो लगानी गरेको छ तर सहि शिक्षा नीति बनाएको छैन । विडम्बना न त राज्यले केहि पाएको छ नत विद्यार्थीले नै केही प्राप्त गर्न सकेको छ। एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविष्य के हो ? विद्यार्थीले लिएको ज्ञान, सीपले उच्च व्यावसायिक सफलता हात पर्न सक्नुपर्छ ,। विद्यार्थीहरुलाई पढाइमा मात्र होइन पढेको कुरालाई व्यवहारमा उतार्नु प्रमुख चुनौति हो। अधिकांश युवा प्लस टु पास गर्नेवित्तिकै विदेश जान्छन् । बाँकी रहेकाहरु स्नातकपछि उड्छन्। केही मास्टर डिग्री र पीएचडीका लागि जान्छन् र उतै हराउँछन्।
देश, परिवार र व्यक्तिगत समृद्धिको मियो अर्थात् आजको युवावर्ग सामान्यभन्दा सामान्य कामको खोजीमा विदेश भौँतारिरहेको छ । यसतर्फ न राज्यले वा न अभिभावकले नै गम्भीर भएर सोचेकै देखिन्छ । प्रायः अहिलेका युवाको एउटै गन्तव्य बनेको विदेश हो । जब भिसा लाग्छ, उनीहरू रामले रावण मारेको विजयोत्सवझैँ गरी पार्टी मनाउँछन्, विदेश जाने स्वर्णिम ढोका खुलेकोमा । त्यसै खुसीमा उनीहरू कक्टेल पार्टीमा झुम्छन् ।
स्वदेशका करोडपतिका छोरा हुन् वा यहाँका राम्रो दर्जाको मानिने जागिरदार, तिनीहरूलाई विदेशमोहले यतिसम्म फसाएको छ कि लाग्छ– उनीहरू त्यहाँ अमृत प्राप्त गर्न जाँदै छन् । सावित्री–सत्यवानको पौराणिक कथाजस्तो पतिव्रता सावित्रीको धर्म बनेको छ, युवावर्गको विदेश पलायनको धर्म । आखिर किन र कहिलेसम्म यो क्रम जारी रहने हो । के विदेश गएपछि मात्र युवाले नेपाली समृद्धिको पर्दा उघार्न सक्ने हो त ? यसप्रकारका यावत् प्रश्नले नेपाली युवालाई किन विदेश जान मात्र उत्प्रेरित गराएको छ । युवावर्गको मनोविज्ञान बुझेर अझै पनि किन योजना तर्जुमा गरिन्न । युवावर्ग पलायन हुनु भनेको स्वदेशी सिर्जनाको मूल शून्यतामा झर्नु हो । त्यसैले आजका युवावर्गको त्यो सीप, क्षमता, समय, ऊर्जा र ज्ञानलाई प्रयोग गरेर अगाडि बढ्न अत्यावश्यक भएको छ ।
युवाहरू विदेश पलायन हुनुको कारण झट्ट हेर्दा राज्य नै हो तर गहिरिएर सोच्ने हो भने राज्य मात्रै हैन दोषी हामी पनि हो । नेपालमा प्रायः युवाहरू एन्टि सत्ता छन् । मतलब सत्ताको विपक्ष अझै भनौ प्रतिपक्षी । त्यसको पछाडि सत्तामा पुगेका व्यक्तिहरुको हैकमवादी मानसिकताको उपज हो भने अर्को सत्ता भन्दा बाहिर रहेका प्रतिपक्षी दलले फैलाएको निराशाका कारण पनि युवाहरू सधैं सत्ता प्रति एन्टि अनि स्वदेशमा नै भविष्य नदेख्नुको प्रमुख कारण हो ।
नेपालमा प्रमुख प्रतिपक्षी दलको धर्म भनेको हरेक विषयमा फरक मत र विरोध गर्ने हो । जसरी हुन्छ सरकार फेल गर्ने निति हो । सत्ता असफल हुदा सिंगो देश असफल हुन्छ, देश असफल हुदा युवाहरूले आफ्नो भविष्य खोज्न विदेश पलायन हुन्छ भन्ने मानसिकता कुनै राजनीतिक दलका नेताहरूमा छैन । माओवादीको नेतृत्वमा सरकार छ, सुनको अण्डा पार्ने नै निति ल्याए नि प्रतिपक्षमा रहेको एमालेले विरोध गर्ने, एमालेको नेतृत्वमा सरकार छ, जस्तो राम्रो निति ल्याए पनि प्रतिपक्षि दल कांग्रेसले विरोध नै गर्नुपर्ने परम्परा नेपाल पहिलादेखि चल्दै आइरहेको छ ।
झन भर्खरै जन्मेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले त युवाहरूलाई सबैभन्दा वितृष्णा फैलाउने शक्तिको रुपमा चिनिन्छ । युवाहरूलाई स्वदेशमै केही गर्ने व्यवस्था गर्नुपर्छ तर हामीले, युवाहरूलाई नेपाल फर्काउनु पर्छ तर हाम्रो नेतृत्वमा सरकार भएपछि, युवाहरूको रोजगारीको ग्यारेन्टी हुनुपर्छ तर हामीले, जनताको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्नुपर्छ हामीले । मतलब उनिहरु बाहेक कसैबाट यो सम्भव छैन । जो २० देखि ३० वर्षका युवाहरूले आशा र भरोसा गर्छन् तिनै युवा नेताहरूले एकोहोरो पुरानो दलले यस्तो गर्यो, देश बर्बाद बनायो, केही छैन नेपाल भनेर एकोहोरो रकटेर बसेपछि युवा विदेश नगएर कहाँ जान्छन् ?
झनै राप्रपाका प्रवक्ता ज्ञान बहादुर शाहि उर्फ ज्ञानेन्द्र शाहीको कुरा सुन्ने हो भने उ जतिको क्रान्तिकारी यो दुनियाँमा कोही छैन, देश बनाउने सुत्र उसंग बाहेक अरुसंग छैन । हुन त शाही जिको सुत्रको फरमुलाहरु कतिको तथ्यपरक छन् भन्ने कुराको त लोक जानकार छ नै तर युवाहरूलाई नेपालमा केही छैन, विदेश जानुको विकल्प बाहेक अरु विकल्प नदेखाउने अर्को पात्र हुन शाहि । यसअघि नै विफल भइसकेको राजतन्त्र महादेवले सत्यदेवी लास काधमा बोकेर हिडेको जस्तो हिड्ने शाहीहरुको लागि त जति धेरै युवाहरू विदेश पलायन भयो, जति धेरै राज्य संकटमा पर्यो अझै तहसनहस नै भए, यी देखिस तिमीहरूको गणतन्त्र, त्यसैले राजतन्त्र नै सहि छ भनेर देखाउनको लागि पनि उनले धेरै भन्दा धेरै निराशाको प्रसाद बाँड्दै हिडिरहेका छन् ।
देश ठुलै संकट पैदा भए त्योही मौकामा हिन्दुराज्य सहितको राजतन्त्र फर्काउन सकिन्छ कि भनेर च्याखे धाउ थापेर बसेका छन् । नेपालमा कि आसु बिक्री हुन्छ, कि गाली ! त्यसैले मनपरि मुख छाडेर धेरै भाइरल पनि भएका छन्, ती मध्येका पात्र ज्ञानेन्द्र शाही पनि हुन । उनलाइ अझै युट्युबे सांसद पनि भन्न सकिन्छ । सांसद जस्तो गरिमामय सदनमा बोलेको उनको अभिव्यक्तिले कति युवाहरू निराशा छन्, कतिले नेपालमा भविष्य छैन भनेर विदेश जाने निधो गरिसकेका छन् त्यसको कुनै लेखाजोखा छैन । युवाहरूले पत्याउने नै जसले कड्केर नकारात्मक कुरा गर्छ उनैलाई हुन । जसले ज्ञानगुनको कुरा गर्छ, जसले आसाको कुरा गर्छ उनिहरुको कुरा पत्याउदैन ।
युवाहरूलाई नकारात्मक कुराबाट गाइडेट धेरै भइरहेको छ । यहाँ कसैले भनेको सुनेको छैन कि ए युवाहरू स्वदेशमै पनि धेरै कुराको सम्भव छ । गाउँ गाउँमा सडक पुग्यो, विजुली पग्यो, इन्टरनेट पुगिसकेको छ । गगनचुम्ने शैक्षिक भवनहरु निर्माण भइसकेको छ । स्थानीय सरकारले कृषिमा अनुदान दिन्छन्, पशु पालनालाई प्राथमिकता दिएको छ, खानेपानी सिंचाइको सुविधा छ अब यहीँ धेरै कुरा गर्न सकिन्छ भनेर ।
हाम्रै जेनेरसनका मानिसहरू करिब ३,४ घन्टा डोकोमा तरकारी बोकेर बजार ल्याउथे, गाडी किताबको पानामा मात्रै देखेको हो, एक ठाउमा हेलो गर्दा अर्को ठाउमा सुनिने मोबाइल फोन हुन्छ भनेर कल्पना समेत गरेको थिएन, टुकि बत्तीमा मट्टीतेल हालेर रातभरि पढ्दा कालो धुवाले नाकको प्वाल ढागेको अनुभव पनि योही ज्यानलाई छ, इन्टरनेटको कुरै नगरौ । कोही बिरामी हुदा सदरमुकाम नै आउनु पर्थ्यो, कति सुत्केरी महिलाहरू घन्टौ बोकेर अस्पताल लैजादै गर्दा बाटोमै दुखद निधन भएको योही आखाले देखेको छु, घन्टौ हिडेर स्कुल जानू पर्थ्यो तर आज हेरौं त गाउँमा मात्रै हैन बारीसम्म सडक पुगेको छ बारी बाँझो छ, पढ्ने विद्यार्थी नभएर करोडौं लगानीमा बनेको स्कुल बन्द हुने परिस्थिति छ, सरकारले युवाहरू लक्षित विभिन्न स्वरोजगारको कार्यक्रमहरु ल्याएको छ गाउँमा युवाहरू छैन, कुनै पनि आयोजनामा काम गर्ने मान्छे नपाएर बाहिरबाट ल्याउनुपर्ने परिस्थिति छ ।
हिजो र आज १२,१५ वर्ष मात्रै फर्केर हेर्ने हो भने धेरै फरक पाइन्छ । देशमा केही नभएको हैन धेरै भएको छ तर हामीले अपेक्षा गरेको जति नभएको मात्रै हो । प्रविधिले पनि हामीले बढी महत्वकांक्षी बनाएको छ । आजको डिजिटल प्रविधिले यस्तो भइसक्यो कि अरुले के खान्छ, के लगाउछ, कहाँ घुम्न जान्छ, कुन देशमा गयो,कति कमाउछ सबै थाहा हुने भइसक्यो, किनभने अरुलाई देखाउने त वानी नै भइसक्यो हाम्रो । कहि घुम्न गयो फेसबुकमा फोटो हालेकै हुन्छ, फोटोमा कुन लुगा लगायो, लुगा पनि कुन ब्रान्डको लगायो, कुन गरगहना लगायो सबै थाहा पाउने भएपछि हामीले पनि त्योही सिको गर्नु पर्यो । अरुले जस्तैः लगाउन, अरुले जस्तै खाना घुम्न त कि आफ्नो आर्थिक हैसियत पनि सोही अनुसार हुनुपर्यो । नत्र कि गलत काम गर्नु पर्यो कि विदेश जानू पर्यो ।
पहिला तल्लो घरको मान्छेले के खान्छ, के लगाउछ पनि थाहा हुदैन थियो त्यसैले आफु जे छ त्यसैमा सन्तुष्टि थियो । तर आज अमेरिकामा बस्ने मान्छेले आज के पकायो पनि थाहा हुने भइसक्यो । अनि प्लस टु सकिने बित्तिकै हरेक युवाहरूको सपना विदेश नभएर के हुन्छ ? यो दुनियाँमा मीठो खाना, राम्रो लगाउनु, गगनचुम्ने घर बनाउन रहर कसलाई छैन होला ? देशमा केही नभएर विदेश गएको भनौ काठमाडौंमा करोडौंको घर, व्यापार गर्नेहरुको छोराछोरी समेत विदेश छन् । गहिरिएर मनन गर्ने हो भने देशमा केही नभएर हैन धेरै चिज भएको तर त्यतिले पनि नपुगेर विदेश गइरहेका छन् । अर्थात हामीमा महत्त्वकांक्षी यसरी वृद्धि भयो कि त्यसलाई धान्न विदेश जानुको विकल्प छैन ।
गाउँमा जानुपर्छ आमा बुबा हुनेको वृद्ध बा आमा, नहुनेको घरमा ताला लगाएर राखेका छन, खेत वारि बाँझो राखेर पराइ भूमिमा साहुको खेतमा काम गरेको टिकटक बनाएर राख्न पाउदा सबैभन्दा ठुलो सफलता ठान्छन्, तिनैले देशमा केही भएन भनेर सामाजिक संजालमा लेख्छन्, बाँकी अलि अलि भएका युवाहरूलाई पनि विदेश जान प्रेरित गर्छन् । मतलब मानिस असन्तुष्टि जात हो । हिजो हजार नहुदा लाखको सपना देख्यो, लाख हुदा करोडको सपना ।
हामी युवाहरू नेपालमा आफ्नै बारीमा साहु भएर काम गर्दा लाज मान्छौँ तर विदेशमा अरुको बारीमा गएर फलफुल टिप्न, सुंगुरको खोर सफा गर्न गर्व गर्छौं । युवाहरू मनोबैज्ञानिक हिसाबले यसरी गाइडेट भयो कि स्वदेशमा जे काम गरे पनि इज्जत जान्छ तर विदेशमा जे गरे नि इज्जत बढ्छ । यो मनोविज्ञान यसरी सल्किदैछ कि राज्यले कुनै कठोर निति बनाएन भने परिस्थिति भोली असामान्य हुनसक्छ ।
कम्तीमा ब्याजलर सकेर मात्रै शैक्षिक अध्यायनमा विदेश जान पाउने निति बनाए पनि धेरै युवाहरूलाई नेपालमा नै रोक्न सकिन्छ । विदेश जान पनि निश्चित उमेर तोक्नु पर्छ । युवाहरूलाई नेपालमै रोकेर मात्रै भएन । यहाँ उनिहरुको गाँस बास कपास शिक्षा स्वास्थ रोजगारको ग्यारेन्टी गर्ने निति ल्याउनु पर्छ ।
अरबौको भ्युट टावर बनाउनु भन्दा उद्योग कलकारखाना बनाएको भए हजारौं युवाहरूलाई रोजगारी सिर्जना हुन्थ्यो, पशुसेवा विभागको तथ्यांक अनुसार नेपालमा बेवारिसे गाई गोरुहरुलाई १५ हजारको दरले मात्रै बिक्री गरे पनि २९ अर्ब आउनेरहेछ । ती गाई गोरुलाई बेच्यो भने पनि ती पैसाले धेरै उद्योग खोल्न सकिन्छ, तर युवा बेच्न तयार छन् तर राज्य गाई गोरु बेच्न तयार छैनन् ।
नेपालको जंगलमा खरबौ काठ कुइएर बसेको छ तर काठ भारत लगायतका देशबाट आयत गरिरहेको छ । जंगलमा जडिबुटी कति छ कति त्यसलाई पनि सहि व्यवस्थापन गर्न सकिरहेको छैन । यी यस्ता कुराहरूमा सरकार पनि निर्मम भएर लाग्नु पर्छ ।
हामी युवाहरूले पनि सबै काम राज्यको सोच्नु हुदैन । राज्यसंग अधिकारको कुरा गर्दै गर्दा आफ्नो कर्तव्य भुल्नु हुदैन । यहाँ निराशा बाँडेर राजनीतिक स्वार्थ लुट्ने मानिसहरू धेरै छन् । आज हिजोको जस्तो परिस्थिति छैन । गाउँमा खेत वारि बाँझो राखेर राज्यले केही गरेन भन्नु भएन । राज्यले पनि खेतबारीमा उत्पादन भएको बस्तु बिक्रीका लागि बजार सुनिश्चित गर्नुपर्छ । भारतबाट आउने विषादी युक्त तरकारि रोक्नु पर्यो, विचौलियाहरुको कारण निश्चित मुल्य नपाउदा किसानहरुलाई गाह्रो छ । सबै समस्यहरुलाई मध्यनजर गर्दै सरकारले सहि निति बनाएर अगाडि बढे न युवाहरू विदेश जान्छन् न त देश आर्थिक संकटमा पर्छ ।
यस्तो गम्भीर विषयमा राज्यले विशेष निति बनायो त ? भन्यो भने पनि छैन, के प्रतिपक्षी दलका नेताहरूले फैलाएको जस्तैः देशमा केही भएको छैन त ? भन्यो भने पनि सत्य हैन । देशमा केही त पक्कै भएको छ तर सोचेको जस्तो भएको छैन । युवा विदेश पलायनको मुख्य कारण अस्थिर सरकार नै हो । योही व्यवस्थामा कुनै पनि दलले बहुमत प्राप्त गर्ने परिस्थिति छैन । विभिन्न गठबन्धन वा तालमेलको नाममा बहुमत आए पनि अदालतलाई प्रयोग गरेर अस्थिर बनाइदिन्छ । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नैपर्छ ।
समग्र शिक्षाको कुरा गर्ने हो । नेपालमा असमान शिक्षा समान प्रतिस्पर्धा छन् । नेपालका अधिकांश प्राइभेट विद्यालयहरुमा गुणस्तर युवा उत्पादन हैन, युरोप अमेरिकाको लागि कामदार जन्माउने कारखाना जस्तो भएको छ । वर्षौं लगाएर पढ्यो, त्यो घोकन्ते शिक्षाले गफ लडाएर खाने बाहेक कुनै पनि प्राविधिक ज्ञान दिदैन । नेपाल जस्तो कृषि प्रदान देशमा हलो बनाउने नै किन नहोस् प्राविधिक वा व्यबहारिक शिक्षा दिनु पर्थ्यो । तर यहाँ शैक्षिक माफीयाहरुले राज्यलाई चलपल गर्न दिएको स्थिति देखिदैन । नेपाल बसेर पढ्नु भन्दा विदेश गएर पढ्दा सस्तो भएपछि युवाहरू विदेश पलायन हुनु स्वभाविक हो ।
त्यसैले अन्तिम निष्कर्ष के हो भने राज्यले युवाको लागि सहि निति, प्रतिपक्षीले राजनीतिक स्वार्थको भ्रमको खेति, अनि युवाहरूको मनोविज्ञानमा परिवर्तन नभएसम्म युवाहरूलाई विदेश पलायनबाट रोक्न इन्द्रको बौ चन्द्रेलाई पनि गाह्रो स्थिति छ ।