एजेन्सी – अष्ट्रेलियाले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ । अलराउन्डरको बाहुल्यता भएको विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले मजबुत टोली घोषणा गरेको छ ।
अष्ट्रेलियाको टोलीमा मिचेल मार्श, मार्कस स्टोइनिस, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, एश्टन अगर र शन एबोट जस्ता म्याच विनर अलराउन्डरलाई टोलीमा समेटेको छ । टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मार्नस लाबुसेन भने विश्वकप अन्तिम टोलीमा छैनन् ।
नाथन एलिस भने प्रारम्भिक टोलीबाट बाहिरिएका छन् । अनुभव र ब्याटिङ मजबुत बनाउन शन एबोटलाई टोलीमा राखेको छ । त्यस्तै ब्याकअप विकेटकिपरको रुपमा जोश इंग्लिसलाई राखेको छ । उनी एलेक्स केरीको विकल्पमा हुनेछन् ।
अष्ट्रेलियाले विश्वकपअघि दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ । दुबै सिरिज अष्ट्रेलियाले अवेमा गएर खेल्नेछ । दक्षिण अफ्रिकासँग पाँच ओडिआई सेप्टेम्बर ७, ९,१२, १५ र १७ मा हुनेछ । भारतसँगको तीन ओडिआई सेप्टेम्बर २२, २४ र २७ मा हुनेछ ।
आइसिसीले कुनैपनि विश्वकप खेल्ने टोलीले टिम परिवर्तन गर्न चाहे २८ सेप्टेम्बर सम्मको समय दिएको छ । आठ ओडिआई खेलको प्रदर्शनपछि अष्ट्रेलियाले टोलीमा फेरबदल गर्न सक्नेछ । अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल भारतसँग ८ अक्टोबरमा खेल्दै सुरुवात गर्नेछ ।
अष्ट्रेलियाको विश्वकप खेल्ने टोली स्
प्याट कमिन्स (कप्तान), शन एबोट, एश्टन अगर, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा ।