काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गयराति एउटा गैरजिम्मेवारी फेसबुक स्ट्याटस लेखेका छन् । जसको कारण सामाजिक संजालमा पुरै तरंग पैदा भएको छ।
मेयर साहले काठमाडौं महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहदरबारमा आगो लगाउने धम्कि दिएका छन् । उनले धम्कि मात्रै हैन सरकारलाई चोर भनेर तल्लो स्तरको टिप्पणी गरेका छन् ।
बिदाको दिन सरकारी गाडी तिब्र गतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले रोक्दा उनले यस्तो आक्रोस सामाजिक संजालमा पोखाएका छन् । फेसबुकमा लेखेका छन ‘ आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
शनिबार करिब ९ बजे तिर बालकुमारीबाट तीनकुने तर्फ सेतो नम्बरको सरकारी गाडी यति तेजले आएको थियो कि त्यो रोडमा उनी बाहेक अरु गुडिरहेको छैन । त्यसपछि त्यहाँ ड्युटीमा खटिएका प्रहरी नायब निरिक्षक सुशील न्यौपानेले रोकेर सोधपुछ गरेका थिए ।
बिदाको दिन सरकारी गाडी त्यसमाथि तिब्र गतिमा कुदाएको कारण बिदाको दिन चलाउने अनुमतिपत्र मागेका थिए । तर अनुमतिपत्र थिएन । ड्राइभरले उल्टो महानगरपालिकाको गाडी रोक्ने अधिकार छ भनेर थर्काएपछि केही समय ट्राफिकसंग भनाभन पनि भएको थियो । गाडीभित्र एकजना महिला रहेको थियो । ती महिला बालेनको श्रीमती थियो ।
हामीलाई प्राप्त सूचना अनुसार मेडिसिटी अस्पतालमा भदौ ८ गते उनिहरुको छोरी जन्मेको थियो । आमाको स्वास्थ ठिक रहेकाले ११ गते सोमबार श्रीमती सबिना काफ्लेको डिस्चार्ज भएको थियो । तर बच्चाको स्वास्थ्य भने अझै सुधारका क्रममा रहेकाले नवजात शिशुहरुको उपचार गर्ने कक्ष (एनआइसियु) मा राखिएको छ । बच्चालाई भेट्न काफ्ले आउजाउ गरिरहेका अस्पताल स्रोतले बताए ।
आफ्नो श्रीमती सवार महानगरको गाडी ट्राफिकले रोकेको थाहा भएपछि मेयर शाह रिसले चुर भएर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले महानगरको गाडी किन रोकेको भन्दै आक्रोस व्यक्त गरेका थिए । उनको रिस यतिले पनि शान्ता नभएसि फेसबुकमा स्ट्याटस लेखेका थिए ।
नेपाली चलचित्र सेल्फि किङमा नायक विपिन कार्कीको एउटा डाइलग छ ‘ यो स्ट्यारडम, सेलिब्रेटि, पपुलारिटि, फ्रेम भनेको मुतको न्यानो जस्तैः हो, एकछिन तातो हुन्छ मज्जा आउछ, एकछिन पछि घिन लाग्न थाल्छ, गनाउछ’ भनेर । काठमाडौं महानगरपालिका मेयर बालेन साह पनि सेलिब्रेटि मेयर हुन । उनले लगाउने चस्मा देखि हिड्ने स्ट्याल समेत युवाहरूले विशेष रुचाउँछन् । उनले लेखेको स्ट्याटस क्षणभरमै लाखौं लाइक, हजारौं कमेन्ट् शेयर गर्छ । करिब ९०% ले सकारात्मक प्रतिक्रिया दिन्छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बेलाबेला गणतन्त्रमा फूलेका सुन्दर फूल भनेर बालेनलाई प्रतिक्रिया दिन्छन् । बालेन शाहको विरुद्ध सानो नकारात्मक प्रतिक्रिया दिनुपर्छ सयौंले गाली गलौच गर्न आइपुग्छन् । लाग्छ कि यो दुनियाँमा सबै अराजकहरु बालेनका सेनाहरु हुन । सोसल मिडियामा शक्तिसालीको रुप चिनेन बालेनलाई नेताहरु देखि कलाकारहरु सम्मले सकारात्मक कुरा गरेको मात्रै सुने तर बालेनले भने आफु छुट्टै अर्कै लोकबाट आएको जसरी प्रस्तुत हुन्थ्यो ।
उनको कुरा सुन्ने हो भने यो दुनियाँमा उसले जति जानेको कोही छैन, उनि इन्जिनियर हुदा लाखौं कमाउथ्यो ती सबै छाडेर राजनीतिमा आएका हुन, अरु बाँकी त सबै राजनीतिमा कमाउन मात्रै आएका हुन । उनी जतिको देशभक्त, उनी जति पढेलेखेको नेपालमा छैन । नेपालमा जसले नेताहरूलाई तरिका मिलाएर गाली गर्नसक्छ उनै हिरो हुने भन्ने कुरा राम्रो जानकारी भएका बालेनले एकोहोरो नेताहरू प्रति नकारात्मक टिप्पणी गरिरहे र युवा जमातले मन पराए ।
कुनै बेला धुर्मुस सुन्तलीलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने समाज पनि योही हो, आज तिनै मुखले धुर्मुसले पैसा खायो पनि भन्छन । एकताका डाक्टर बाबुराम भट्टराइको क्रेज राम्रै थियो । सामाजिक संजालमा सबैभन्दा लोकप्रिय पात्र थिए उनी तर आज उनको हालत थाहै छ । त्यसैले हामीले जोड्न खोजेको कुरा मात्रै यति हो फेसबुक आएको लाइक र कमेन्टको बलमा मैले यो देशमा जे बोल्दा छुट छ भन्ने मान्यता बोक्नु हुदैन ।
राज्य कसैको सनकमा होइन, प्रचलित विधि, पद्धति र विद्यमान कानुनको आधारमा चल्छ । सनकको भरमा राज्य चलाउन खोज्नेहरुको पतन भएको कयौं उदाहरण छ । हिटलर सकेको पनि सनकले हो । हुदाखाँदाको बहुमतवाला केपी ओलीको सरकार पनि उनको आफ्नै बुद्धि र घमण्डले ढलेको हो ।
हुन त बालेनको पछाडि लागेको करिब सयभन्दा बढी युट्युबरहरुको घर चलेको छ । छोराछोरी स्कुल पढाउन पाएको छ । यो सकारात्मक कुरा नै हो तर यो संगै बालेनमा दम्भको लेबल पनि संगै बढेको छ । जुम्ला तिरको युट्युबर माननीय शाहीले त हामी राजाको सन्तान भन्दै थर्काउदै हिडेको सुनेका छौँ भने ‘साह’ को मोटो ‘श’ र पातालो ‘स’ मात्रै फरक भएका बालेन साहले आफु कुनै शाह वंशियाहरुको खलक जस्तो सोच्नु नौलो हैन ।
काठमाडौं महानगरपालिका छुट्टै देश जसरी सोच्ने, त्यहाँ छुट्टै कानुन चल्ने देशको कानुन नचल्ने जस्तो बुझाइ बोकेको बालेन साहको कार्यशैली बडो लाजमर्दो छ । जनताले गणतन्त्रमा छोटे राजाहरू धेरै भएको भनेर यतिकै भनेको हैन, यस्तै गैरजिम्मेवारी प्रस्तुत गर्ने जनप्रतिनिधिहरु धेरै भएर पनि जनता आजित छन् ।
सडकमा खटिएका प्रहरीले आफ्नो कर्तव्य निभाउछ गाली सरकारलाई गर्छ,बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न दिदैन सिंहदरबारको फोहोर उठाउदैन भन्छ । महानगरको गाडी बिदाको दिन राति ९ बजे आफ्नै पिताको सडक जसरी चलाएर हिड्छ ट्राफिकले रोक्दा सिंहदरबारमा आगो लगाइदिन्छु भन्छ, सरकारलाई चोर भन्छ । अब यी छोटे राजालाई नियम कानुनले केही नछुटने कानुन बनाउनु पर्यो । यो देशमा अझै पनि सिटामोल खाना नपाउने जनता छन, कयौं महिला गर्भअवस्थामा हस्पिटल ल्याउदा ल्याउदै बिच बाटोमा मरेको घटना धेरै छ तर बालेनको श्रीमतीलाई ट्राफिकले एक मिनेट रोक्दा सिंहदरबार जलाउने धम्कि ? यस्तो धम्कि त निरंकुश राजतन्त्रको बेला पनि सुनेको थिएन ।
मध्यरातमा पुत्रि लाभको जोसले हो वा पुत्र नजन्मेको अवेगले हो, नसाले हो वा दसाले हो कारण जे भए पनि एउटा जिम्मेवार ठाउमा बसेको व्यक्तिले यतिसम्म अराजकता देखाउनु ठिक हैन । हुन त नेपाली समाजलाई अराजक र नकारात्मक कुरा बढी मन पर्छ तर लिडरहरु समाजको मनोविज्ञान अनुसार हैन मनोविज्ञान बदल्ने गरि अगाडि बढ्नुपर्छ ।
मुगल सम्राट शाहजहाँले आफ्नी प्रेमिकाको यादमा भारतको चर्चित ताज महल बनाए, माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीको लागि राणि पोखरी बनाए अब बालेन शाहले आफ्नो श्रीमतीलाई खुशि बनाउन सिंहदरबारमा आगो लगाउने भयो हैन त ? यस्ता भाग्यमानी श्रीमतीहरु संसारमा कमै हुन्छन् जसको श्रीमानहरुले उनिहरुको लागि रानी पोखरी बनाउने देखि सिंहदरबारमा आगो लगाउन समेत तयार छन् ।
वर्गविभाजित समाजमा बालेनले उच्च पुजिपति वर्गको लागि गर्न खोजेको कुरा जायज छ । निम्न वर्गलाई तहसनहस गरि बालेनको आफ्नो वर्गको लागि देखाएको इमानदारीतालाई कतिपयले बुझेर समर्थन गरिरहेका छन् भने कतिपयले नबुझेर पनि समर्थन गरिरहेका छन् । सडकमा मकै बेच्नेको रोजीरोटि खोसेको छ तर तिनै मकै बेच्नेका छोराछोरीहरु घरमा बसेर गुड जब बालेन भनेर बसेका छन् ।
बालेनले परिकल्पना गरेको महानगर भनेको न्युयोर्कको जस्तो १०,१२ लेनको चिल्ला सडक, दुबईको जस्तो गगन चुम्ने भवन । बाहिर हेर्दा सडकमा कोही मान्छे नदेखोस । यि सबै वर्गीय दृष्टिकोणले हेर्ने हो भने पुजीवादी समाजमा पुजिपतिहरुको लागि धेरै राम्रो हो । उनी जस्तो समाजमा हुर्के त्यस्तै कुराको परिकल्पना गरे । न्यायको दृष्टिकोणले आफ्नो भोटरहरुको लागि एकदमै राम्रो कुरा हो ।
तर योही समाजमा दिनभरि काम गरेर बेलुकाको छाक कसरी टार्ने भन्ने मानिसहरू पनि छन् भन्ने कुराको हेक्का बालेनलाई छैन । बालेनलाई पहिलो कुरा भोको पेटको महसुस छैन, आफ्नो बालबच्चा पढाउन नपाउदाको पीडा थाहा छैन, बिरामी हुदा सिटामोल खाना नपाउदाको पीडा थाहा छैन । दसैंमा आफ्नो बालबच्चालाई एकसरो नयाँ लुगा किन्न नसक्दाको क्षण थाहा छैन, सबैभन्दा मुख्य कुरा गरिबिको व्यथा कति पीडादायी हुन्छ उनलाई थाहा छैन ।
त्यसैले कुनै व्यवस्थापन बिना सडकमा मकै बेच्ने गरिबहरुलाई भाटा हान्दा उनलाई दुख्दैन । चटपटे भुईभरि फाल्दा रुदै बिन्ती गर्दा पनि उनलाई केही लाग्दैन । ती गरिबहरुलाई पनि ठुलठुला मल भित्र रहेको सुबिधा सम्पन्न सटरहरुमा ब्यापार गर्ने रहर नभएर सडकमा मकै पोलेर बसेको हैन होला नि । दुबई साउदी जस्तो राजाको शासन भएको देशमा समेत गरिबहरुलाई व्यापार गर्नलाई बंगाली मार्केट, नेपाली मार्केट भनेर खुल्ला खाली जग्गा व्यवस्थापन गरेको हुन्छ तर हाम्रो जस्तो गणतान्त्रिक देशमा बालेनको महनगरमा बाटोमा लागूऔषध बेच्न छुट होला मकै बेच्न छुट छैन ।
यसको मतलब हामीले बाटोमा ठेलगाडामा व्यापार दिनुपर्छ भन्न खोजेको होइन । सुन्दर शहर बनाउनुपर्छ तर संगै गरिबहरु गरिखाने ठाउ पनि बनाउनु पर्छ । ठाउ ठाउमा गरिबहरुलाई श्रम गरेर खाने व्यवस्था गरे सुनमा सुगन्ध हुन्थ्यो । ती गरिब हुन, त्यसको भोट मलाई आउदैन, त्यो मर्दा र बाँच्द मलाई फरक पर्दैन जस्तो बालेनको व्यबहार पुजिबादी चरित्रको डरलाग्दो रुप हो ।
हिजो तिनै सडक डा. बाबुराम भट्टराईले विस्तार गरे, अनाधिकृत संरचना भत्काउदा काठमाडौंबासीले माओवादीलाई राक्षसिकरण गर्यो तर बालेनले त्योही काम कपिपेस्ट गर्दा सेलिब्रेटि भएका छन् । त्योही लोडसेडिङ कुलमान घिसिङले हटाएको भन्दा हाइ हाइ हुने तर लोडसेडिङ हटाउने नेतृत्व माओवादीको हो भन्दा त्यसलाई स्वीकार नगर्ने समाज छन् । दृष्टिकोणमा नै समस्य भएपछि जति बल गर्दा पनि नहुने रहेछ भन्ने ज्वलन्त उदाहरण हो ।