ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

उज्यालो प्रतिनिधि १८ श्रावण २०८०, बिहीबार समाचार

गलेश्वर । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल बन्दै गएको छ ।

तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र बनेको ज्यामरुककोट बेनी नगरपालिका–२ मा पर्दछ । थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वलेयुक्त सम्पदाहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन् । समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदाहरू विकाससँग जोडिएका हुन् ।

पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको ९खड्गभवानी कोत० परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् ।

सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिन प्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकन र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द झट्ट निस्कने गर्दछ ।

प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुङ्गेघर नै हुन् । उत्तरतर्फ आँखै अगाडी देखिने सेताम्ये हिमाल, बेनी र बागलुङको शहरी दृश्य, रत्नेचौर, पञ्चकोट, पञ्चासे, मल्लाज, पुलाचौर, ढोल्ठान, ताकम, राँखुलगायत मुस्ताङ र पर्वतका दर्जनौं ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।

यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार पोखराबाट ज्यामरुककोट घुम्न पुगेका विकास सिग्देलले यहाँका घर र प्राकृतिक सुन्दरता देख्दा मनै फुरुङ्ग भएको बताए । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । बेनीबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उनले भने, “यहाँको प्राकृतिक सौन्दर्य, ज्यामरुककोटको ऐतिहासिक महत्व र स्थानीयको जनजीवन, रहनसहन, स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”

पछिल्लो समय ज्यामरुककोट घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय समाजसेवी एवम् व्यापारी भीमबहादुर पौडेलले बताए । उनका अनुसार वर्षाको समय भए पनि गाउँ उक्लने पर्यटकको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन त अझ बढी पर्यटकको भीडभाड हुने बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष कार्कीले बताए । “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उनले भने, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षाको समयमा पनि पाहुनाको कमी भएको छैन ।”

सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको अध्यक्ष कार्कीले बताए। बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँसमेत खेल्न सकिने उनले बताए ।

पर्यटकहरुका लागि यहाँ होटल तथा होमस्टेहरु रहेका छन् । होटल र होमस्टेमा कोदोको ढिंडो, स्थानीय जातका कुखुराको मासु, गुन्द्रुक, भट्मासको अचार, सिस्नो र मासको दाल, वर्षाको समयमा निगुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताए । यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ ।

गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षाको समयमा समस्या हुने गरेको अध्यक्ष कार्कीले सुनाए । वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ ।

अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा दुई वर्षअघि रु २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।

गत वर्ष नगरपालिकाको पर्यटनतर्फबाट रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए । “यहाँका ऐतिहासिक सम्पदालाई विकाससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ, त्यस अनुरुप नै पर्यटकको आगमन बढिरहेकोले हामी खुसी छौंँ” अध्यक्ष घिमिरेले भने ।

विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।

ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास आफू प्रतिबद्ध रहेको वडाध्यक्ष कार्कीको भनाइ छ । उनले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका दर्जनौँ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौँ ग्रामीण बस्ती देखिन्छन् ।

गुरुयोजनासहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीको सक्रियता देखाउन सके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटक आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावनाहरू रहेका स्थानीय टीकाबहादुर कार्कीले बताए । “ज्यामरुककोट प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्तै उपयुक्त स्थान हुनुको साथै ऐतिहासिक र प्राकृतिक सुन्दरताले युक्त सम्पदा भएपनि विकासको सहज पहुँच नहुँदा पछि परेको थियो,” म्याग्दीको पर्यटन प्रवद्र्धनमा सक्रिय अभियन्ता राजेश शाक्यले भन्नुभयो “बेनीदेखि भकुण्डेसम्म मोटरबाटोको सुविधा र भकुण्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ ।” शाक्यका अनुसार अब दुई÷चार वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकलाई यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदय अवलोकनका लागि ल्याउन सकिन्छ ।

त्यस्तै, वडा कार्यालयको पछाडिपट्टी रहेको ऐतिहासिक राजकुवा संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्ग भवानी कोत परिसरमा लगेर पौडी पोखरी बनाउने र त्यसको नजिकै स्तरीय रेष्टुरेन्ट सञ्चालन गर्न सकिने सम्भावना पनि रहेको उनले औंल्याए ।

ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

यहाँ थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै अस्तित्वमा रहेका अर्जुन माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक एवम् हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए ।

कोटडाँडोसम्म मोटर बाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्नसक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँको भनाइ रहेको छ ।

त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । जैविक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालो दाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, वन ढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र सखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलक देखाउने, नृत्य प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने गरेको भकुण्डे युवा क्लबका सल्लाहाकार डिलबहादुर कार्कीले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार