एजेन्सी – अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्क्वेट्सलाई अनुबन्ध गर्ने घोषणा गरेको छ ।
इन्टर मियामीले बार्सिलोनाका ३४ वर्षीय कप्तान सर्जियो बुस्केट्सलाई अनुबन्ध गर्ने घोषणा गरेको हो । बुस्केट्सले मे महिनामा क्लबमा १८ वर्षपछि ला लिगा च्याम्पियन छाड्ने घोषणा गरेका थिए ।
यससँगै बुस्क्वेट्स र लियोनेल मेस्सीबीच पुनर्मिलन हुने भएको छ । ३५ वर्षीय मेस्सी पनि यसै सिजन फ्रान्सेली क्लब पिएसजी छाड्दै आकर्षक प्रस्तावमा इन्टर मियामीमा अनुबन्ध भइसकेका छन् । बुस्केट्स र मेस्सीले सन् २००८ देखि २०२१ सम्म बार्सामा १३ सिजनसँगै बिताएका थिए ।
उनीहरूले तीन च्याम्पियन्स लिग, आठ ला लिगा उपाधि र ६ वटा कोपा डेल रे सँगै जितेका छन् । रिपोर्टअनुसार पूर्व स्पेनी मिडफिल्डर बुस्केट्सलाई साउदी अरेबियाको क्लबबाट आकर्षक प्रस्ताव आएपनि उनले पनि मेस्सीले जस्तै डेभिड बेकह्यामको स्वामित्वमा रहेको मियामी जाने निर्णय गरेका हुन् ।
स्पेनका पूर्व कप्तान बुस्केट्सले बार्सिलोनाका लागि ७२२ खेल खेले । जुन क्लबको इतिहासमा तेस्रो सबैभन्दा धेरै खेल हो । उनले बार्सिलोनाबाट १५ वर्षको अवधिमा १८ गोल र ४० असिस्ट प्रदान गरेका छन् ।
बुस्केट्स सन् २००५ मा बार्सिलोना पुगेका उनले २००८ मा क्लबको सिनियर टोलीबाट डेब्यु गरेका थिए । नोउ क्याम्प छोड्ने बुस्केट्सको निर्णयपछि बार्सिलोनाले उनलाई क्लबको प्रतिनिधित्व गर्ने सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक भनेर वर्णन गरेका थिए ।
स्पेनबाट सन् २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जितेका उनले २०२२ डिसेम्वरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए