पुल नबन्दा विद्यार्थी र सेवाग्राही मर्कामा

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०८०, सोमबार समाचार
मनाङ  ।    हिमाली जिल्ला मनाङ बाढीपहिराबाट गुज्रिएको दुई वर्ष पूरा भयो । बाढीपहिरापश्चात् मानिसलाई सामान्य बसोबासका लागि मात्रै संरचना निर्माण गरियो । केही मानिसले व्यक्तिगतरुपमा नै मर्मत गरेर बसोबास गरेका छन् ।
केही सामाजिकरुपमा अत्यावश्यक संरचनाको न त मर्मत हुन सकेको छ न त निर्माण नै । मनाङमा बाढीपहिराले अधिकांश क्षेत्रमा क्षति पु¥याए पनि केही संरचनाको निर्माणमा चासो नै नपुग्दा विद्यार्थी शिक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।
केही समयमा नेपालमा मनसुन सुरु हुने सम्भाव्यता मौसम विभाग पूर्वानुमान महाशाखाले जनाइसकेको छ । फेरि पनि वर्षाका कारण बाढीपहिरो नआउला भन्न सकिँदैन । यस्तो अवस्थामा मस्र्याङ्दी नदीमाथि हालसम्म पनि झोलुङ्गे पुल नबन्दा विद्यार्थी शिक्षाको ज्योतिबाट वञ्चित हुनुपर्ने अवस्था रहेको छ ।
पुल निर्माण नहुँदा हाल नासों गाउँपालिका–३ र ५ मा आवतजावतमा सर्वसाधारण तथा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । पानीको बहाव कम हुँदा विद्यार्थी तथा सेवाग्राहीले फड्केको सहायताले आवतजावत गर्ने गरेका छन् । विद्यार्थी सुस्मिता गुरुङ नदीमा पानीको बहाव बढेपछि भने फड्केमार्फत विद्यार्थी विद्यालयसम्म पठनपाठनका लागि पुग्ने गरेको बताए ।
“पानी परेपछि मस्र्याङ्दी बढ्छ, बाढीपहिराको पनि जोखिम हुन्छ, हामी त डराउँदै स्कुल पढ्न जाने कि नजाने भनेर हिँड्नुपर्ने हुन्छ, स्कुलमा पढ्दै गर्दा पानी पर्न थालेपछि त नदी बढ्छ कि भन्ने डर लाग्छ”, सुस्मिता भने, “पानी प-यो भने त पढ्नतर्फ ध्यान नै हुँदैन, घर जान पाइँदैन कि भनेर चिन्ता लाग्छ ।”
त्यस्तै विद्यार्थी सविन गुरुङले सामान र गाउँमै प्रविधि हुने भए गाउँलेले मिलेर पुल पनि छिट्टै बनाउन सकिने बताए । उनले भने, “प्रविधिविना हामीले बनाउन नसक्ने भएर पनि ढिलाइ भएको त होला नि, जसरी भए पनि विद्यालय पुग्नुपर्छ भनेर फड्के गाउँलेले मिलेर बनाएको त हो नि ।” पुल बनाउन कसैको चासो नपुग्दा बिरामी भए पनि फड्के तरेर जानुपर्ने बाध्यता रहेको उनले बताए ।
पुल नबन्दा झन् उनीहरुमा दुई वर्षअघिको त्रासले झस्काइरहेको छ । नासों–५ मा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयमा अध्ययनरत करिब तीन सय विद्यार्थीलाई सकस भएको छ । आवासीय व्यवस्था भएको यस विद्यालयमा नासों–१, २, ३, ४ र ५ का विद्यार्थी अध्ययनका लागि आउँछन् । स्थानीय सुरेन्द्र गुरुङले दुई वर्ष बितिसक्दा पनि पुल नबन्दा धेरै सास्ती भोग्नुपरेको बताए ।
“हामीले ज्यान जोखिममा राखेर बिरामीलाई स्वास्थ्यचौकीसम्म पु¥याउनुपर्ने बाध्यता कसले बुझिदिने हो खै रु, सम्बन्धित निकायले चासो नै दिएको जस्तो लाग्दैन, अब फेरि वर्षा लागिसकेको छ, पानी नपर्ला भन्ने छैन, तर पनि बुझेका छैनन्, अहिले पनि जोखिममा नै हिँड्नुपर्ने अवस्था छ”, उनले भने, “हाम्रो समस्या समाधान गरिदिए यस्तो सास्ती त भोग्नुपर्दैनथ्यो ।”
नासों–५ का वडाध्यक्ष थुतेन लामाले पुल नहुँदा विद्यार्थी र सेवाग्राहीले भोगेका कठिनाइलाई मध्यनजर गर्दै पालिका र प्रदेशसम्म आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गरे । “विद्यार्थी र सेवाग्राहीले ज्यान जोखिममा राखेर नदी तर्दा दुःख लाग्छ, एक्लैले केही गर्न सकिँदैन रहेछ, सम्बन्धित निकायको चासो नहुँदा दुई वर्षसम्म पनि सहज बनाउन सकेको छैन”, उनले भने ।
दुई वडा नै विच्छेद भएको अवस्थामा पटकपटक सम्बन्धित निकायसँग छलफल र समन्वयमा जुटिरहेको उनले बताए । पालिकाले मात्रै नसक्ने भए प्रदेश र सङ्घ सरकारलाई पनि जिम्मेवार बनाउने कार्यतर्फ आफूहरुले भूमिकाले खेल्नुपर्ने भनेर पालिका अध्यक्षसँग छलफल भएको वडाध्यक्ष लामाले बताए ।
पुल नबन्दा स्थानीयसँगै पर्यटकले दुःख भोगेका छन् । यहाँ पुल निर्माण नहुँदा सामान्य बिरामी पर्दासमेत सकस हुने गरेको छ । दुई वर्षअघिको बाढीपहिराका कारण मनाङस्थित मस्र्याङ्दी नदीमाथि बनेका १३ पुलमा क्षति भएको छ । ती पुल निर्माण नहुँदा यहाँका बासिन्दा तथा पर्यटकले सास्ती भोग्नुपरेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार