बाँके । बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर हुनुन्थ्यो । भारतबाट तरकारी नआउँदा उनको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे । उनको परिवारजस्तै नरैनापुरका अधिकांश परिवार भारतीय तरकारीमा निर्भर थिए । यहाँका सर्वसाधारण तरकारी किनमेल गर्न भारतीय बजार जमुनाह पुग्थे । नरैनापुरवासीको मागलाई मध्यनजर गर्दै कतिपय भारतीयहरू तरकारी बेच्न नरैनापुरका गाउँ–गाउँ पुग्थे । तर अहिले दिन र समय दुवै फेरिएको छ ।
हिजोआज आलिफ हरेक छाक हरियो तरकारीसँग भात खाने गर्नुहुन्छ । उनले आफूमात्र नभई नरैनापुरका अधिकांश सर्वसाधारणलाई हरियो तरकारी खुवाउनुभएको छ । “पहिले ढिके नुनसँग भात खाइन्थ्यो, तर अहिले तरकारी भएन भने भात–रोटी घाँटीबाटै छिर्दैन”, उनले भने ।
आलिफले आफ्नै घर छेउको १० कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । पहिला बसिबियाँलो गरेर दिन बिताउने आलिफलाई हिजोआज बिहान–बेलुका तरकारी बारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ । तरकारी बारीको काम श्रीमतीलाई जिम्मा दिएर उनले दिउँसोको समयमा तरकारी बिक्री आफ्नै गाउँ र छिमेकी गाउँसम्म डुल्नु पनि हुन्छ ।
“दिउँसोको समयमा म घरबाट १५ किलोमिटर टाढासम्म तरकारी बिक्री गर्न पुग्छु”, उहाँले भन्नुभयो, “त्यो समय म श्रीमतीलाई बारीको हेरचाह गर्नुु भनेर ढुक्क हुँदै तरकारी बिक्री गर्न जान्छु ।” आलिफ अली नरैनापुरमा व्यावसायिक तरकारी खेती गर्ने पहिलो र एक्ला किसान हुनुहुन्छ ।
उमेरले ६० पार गर्नुभएका आलिफ निकै फुर्तिला हुनुहुन्छ । उमेर छिप्पिए पनि काममा युवाभन्दा कम हुनुहुन्न उहाँ । आफूले उत्पादन गरेको आफ्नो बारीको तरकारीलाई उनले आफ्नो बालबच्चालाई जस्तै माया गरेर हरेक साँझ बिहान हुर्काउनुहुन्छ । राम्रोसँग हुर्काउन समयमा पानी र मल हाल्न उनले बिर्सनुहुन्न ।
रोगब्याधी लाग्न नदिन समय–समयमा औषधि छर्किनुहुन्छ । कसैलाई नअह्राएर आफैँले गोडमेल गरेर झार ओखेल्नुहुन्छ । तरकारीमा कुनै समस्या आउन नदिन उनले दिनरात आफैँ खेतबारीमा धाउनुहुन्छ । “बारी छाडेर मलाई कहीँकतै जान मन लाग्दैन । चराले आफ्ना बच्चालाई काखीमा च्यापेर बसेजस्तै मलाई पनि तरकारी बारीमा बसिरहन मन लाग्छ । एक दिन बारी छाड्दा नमज्जा लाग्छ”, उनले भने ।
पहिले उनले धान खेतीमात्र गर्नुहुथ्यो । राप्ती नदीमा आएको बाढीले एक–एक गरी सबै जमिन बगर बनाएपछि अरुजस्तै आलिफ र उनको परिवार पनि बेघरबार भएका थिए । नदीसँग जुध्न नसकेपछि उनले आफ्ना लालावाला लिएर जङ्गल छेउ (नयाँबस्ती) पुग्नुभयो । नयाँ बस्तीमा उनले जङ्गल फाँडेर १० कठ्ठा जमिन बनाए । अहिले सोही जमिनमा आलिफले तरकारी खेती गर्दै आइरहनुभएको छ ।
पुख्र्यौली जमिन नदीले बगर बनाएपछि निरास हुनुभएका आलिफले जङ्गल फाँडेर बनाएको जमिनमा उत्पादन भएको अन्नपातले सात जनाको परिवार पाल्न मुस्किल परिरहेको थियो । उनले मजदुरीका लागि भारत या नेपालगन्ज जाने निर्णय परिवारलाई गरे तर उनका परिवारले मजदुरीका लागि बाहिर नजान सुझाव दिएपछि उनले आफ्नै बारीमा तरकारी खेती गर्ने योजना बनाउनुभयो र अघि बढ्नुभयो ।
उनले पहिलो वर्ष बन्दागोभी र टमाटर लगाए । तर उनले उत्पादन गरेको तरकारीभन्दा भारतीय तरकारी सस्तो भएकाले बिक्री भएन । बन्दागोभी र टमाटर सडेर खेर गयो । ‘बन्दागोभी बिक्री नभएर धेरै घाटा लाग्यो । त्यसपछि लगाउन छाडेँ”, उहाँले भन्नुभयो । यो समयमा उनको बारीमा तीन किलोग्रामका काउली छन् ।
उनले अहिलेसम्म १० क्विन्टल काउली बिक्री गरिसक्नुभएको छ । टमाटर फलेर पाक्ने तरखरमा छ । एकथरिको काउली बिक्री भइरहेको छ । अर्कोथरि काउली तयार हुँदैछ । “एकैपटक धेरै उत्पादन गर्दा बिक्री गर्न सकिँदैन । अलिअलि गरी रोप्दा बिक्री गर्न सजिलो हुन्छ । ग्राहकले सधैँभरि तरकारी पनि पाइरहन्छन्”, आलिफले भने ।
उनको परिवार यही तरकारी खेतीबाट पालिएको छ । दुई छोरालाई कक्षा ८ सम्म पढाउनुभएका आलिफले दुई छोरीको विवाह पनि तरकारी खेतीबाट भएको आम्दानीले गरिदिएको बताए । “अरु आउने स्रोत केही छैन । घरको सबै खर्च यही तरकारी खेतीबाट भएको आम्दानीले चलाउँदै आएका छौँ”, उनले भने ।
उनले तरकारी पैँसाले बेच्नु हुँदैन । धान, गहुँ, मसुरी, तोरीसँग साट्नुहुन्छ । गाउँघरमा पैसा नहुने भएकाले अन्नबालीले तरकारी किन्ने गरेको उनले बताए । धान, गहुँको मूल्यको आधारमा तरकारी दिने गरेको उनले बताए । “पैसाभन्दा अन्नसँग तरकारी साट्न सजिलो मान्छन्”, उनले भने, “तरकारी बेचेर जम्मा भएको अन्न घरमै आएर ब्यापारीले लैजान्छन् ।”
उनले तरकारी बारीमा आफ्नो गोठबाट निस्केको प्रयोग गर्ने गरेको बताउनुभयो । यदि आफ्नो गोठको मल नपुगेको खण्डमा गाउँबाट कम्पोष्ट मल किनेर प्रयोग बारीमा हाल्न गरेको आलिफले बताउनुभयो । रासायनिक मल र विषादी प्रयोग भएको तरकारीले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाएपछि कम्पोष्ट मलमा जोड दिएको उहाँले बताउनुभयो । “युरिया, डिएपी र पोटास कहिलेकाहीँमात्र हाल्छौँ । विषादी नछर्की नहुने भएपछि मात्र छर्किन्छौँ”, उनले भने ।
आलिफले आफ्नै बारीमा तरकारी उत्पादन गरेपछि भारतीय तरकारीको भर पर्ने अवस्थाको अन्त्य भएको नरैनापुर गाउँपालिका–५ का अगुवा विनय दीक्षितले बताए । दीक्षितले भारतीय तरकारीभन्दा स्थानीय किसानले उत्पादन गरेको तरकारी ताजा र मीठो भएको पनि बताए ।
“आलिफले उत्पादन गरेको तरकारीमा रासायनिक मल र विषादी एकदमै कम प्रयोग भएको देखेपछि यहाँका अधिकांशले उनले उत्पादन गरेको तरकारी खान थालेका छौँ”, दीक्षितले भने, “यहाँको तरकारी ताजा र अग्र्यानिक भएकाले मीठोमात्र नभएर स्वास्थ्यका लागि लाभदायक हुन्छ ।”
तरकारी बेच्नका लागि सानो गाडी किन्ने जुगाडमा हुनुहुन्छ आलिफ । तरकारीबाट भएको आम्दानीले घर खर्च चलाउन ठिक्क भएको हुनाले अनुदानमा गाडी पाइन्छ कि भन्ने पर्खाइमा हुनुहुन्छ आलिफ । तर अनुदान दिने सरकारी कार्यालयका कर्मचारीसम्म जाने पहुँच उहाँसँग छैन । न त अनुदानका लागि खुल्ने सूचना नै थाहा पाउनुहुन्छ उनले । “तरकारी बिक्री गर्ने गाडी भइदिएको भए नरैनापुरमा भारतीय तरकारी आउन बन्द गराइदिन्थे”, उनले भने, “गाउँ–गाउँमा पुगेर यहाँका सर्वसाधारणलाई ताजा र अग्र्यानिक तरकारी खुवाउँथे ।”
नरैनापुर गाउँपालिका कृषि शाखाले आलिफलाई आवश्यक आर्थिक एवं प्राविधिक सहयोग गर्ने शाखा प्रमुख सदन भण्डारीले बताए । उनले कृषकको मागबमोजिम सहयोग गर्दै आएको बताउँदै उहाँले सहयोग माग गरे सहयोग गर्न सकिने स्पष्ट पार्नुभयो । “तरकारी खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष नीति लिएको छ । माग भए सहयोग गर्न सकिन्छ”, उनले भने ।