काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टचार विरुद्ध नयाँ लडाइँको सुरुवात गरेकाले यसमा जनताको साथ चाहिएको बताएका छन् ।
काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा विद्युत उद्घाटन तथा सडकको शिलान्यास गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भ्रष्टचारविरुद्धको लडाईमा जनताको साथ खोजेका हुन् । भ्रष्टचारको अन्त्य नभएसम्म जनताले सुख र समृद्धिको दिन देख्न नपाउने भएकाले त्यसका लागि भ्रष्टचार विरुद्ध नयाँ लडाइँ सुरु भएको र हिजो जनयुद्धमा जस्तैः जनताको साथ माओवादी पार्टी र सरकारलाई चाहिएको बताए ।
उनले थपे, ‘विकास र समृद्धिविना अन्यायको अन्त्य र समानताको नयाँ युग सुत्रपात गर्न सकिदैन, काठमाडौं नजिक भएर पनि हिजोको शासकहरुको नजर पर्न नसकेको काभ्रेको महाभारत,खानीखोला जस्ता दुर्गम ठाउँहरुमा सरकारको ध्यान केन्द्रित भएको छ, विकट रहो यी क्षेत्रहरुमा संघीयताकै कारणले विकासले लय समाउन थालेकाले यस्ता विकट ठाउहरुमा हाम्रो विशेष प्राथमिकता रहनेछ ।
करिब ३२ सय घरधुरी रहेका त्यस पालिकाको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उर्जाको क्षेत्रमा सरकारको तर्फबाट निति तथा कार्यक्रम बनाउदा दुई वर्ष भित्र देशलाई सम्पूर्ण रुपमा विद्युतिकरण गर्ने घोषण गर्ने तयारी रहेको बताए ।
विगतको वर्षमा देशलाई चाहिने सम्म पनि विद्युत उत्पादन गर्न नसक्दा विदेशबाट विद्युत आयत गरेर पनि घन्टौ लोडसेडिङ हुने परिस्थिति भएको तर आफ्नो नेतृत्वमा सरकार आएपछि कुलमान घिसिङ जस्ता इमानदार अफिसरहरु ल्याएर लोडसेडिङ मुक्त बनाएको स्मरण गर्दै यस वर्षबाट भारत,बंगलादेश लगायतका देशहरूलाई विद्युत बेचेरै खरबौ रुपैयाँ कमाउने वातावरण सिर्जना हुने बताए ।
उक्त कार्यक्रममा काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ(लालध्वज), बागमती प्रदेशका भौतिक विकास मन्त्री युवाराज दुलाल (शरद), प्रदेशसभा सदस्यहरु रत्न ढकाल, रुकु चौलागाई, विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।