स्याङ्जा । स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ स्थित कृषिमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
माटोमा हुनुपर्ने तत्वका बारेमा न्यूनतम जानकारी लिन वा परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकाले किसानलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको उनले बताए । “अत्याधुनिक उपकरण जडान गरी स्थापना गरिएको प्रयोगशालाबाट माटोको अवस्थाकाबारेमा किसानलाई जानकारी दिने गर्छौं”, उनले भने, “आफूले बाली लगाएको माटोको अवस्थाका बारेमा किसानले जानकारी पाउने र माटोमा भएका कमी कमजोरीको उपचार गर्न सकिने भएकाले यो निक्कै उपयोगी हुने विश्वास हाम्रो छ ।”
नगरभित्रका नौ वडाको तालिका बनाएर प्रयोगशालाबाट माटो परीक्षण गर्ने तयारीमा नगरपालिका छ । डिजिटल माध्यमको अत्याधुनिक उपकरणबाट माटोमा भएको ‘पिएच’ तत्कालै र अन्य पक्षको अवस्था एक÷दुई दिनभित्रै किसानलाई जानकारी दिइने कृषि शाखा प्रमुख किसान अर्यालले बताए।
“माटोसम्बन्धी विभिन्न १२ वटा प्यारामिटरको परीक्षण प्रयोगशालामा हुन्छ”, उनले भने, “माटोमा भएको कमि कमजोरी जानकारीसहित उपचार विधिका बारेमा सुझाव तथा परामर्श दिने गरिएको छ ।” भिरकोटमा माटो परीक्षण प्रयोगशाला नहुँदा यहाँका किसानलाई माटोको नमुना लिएर पोखरा जानुपर्ने बाध्यता थियो । परीक्षण गर्न समय लाग्ने गरेकाले तत्कालै नतिजा नआउने र ढिलो गरी आउँदा किसान बालीनाली लगाउन समय घर्किसक्ने हैरानीमा थिए । अहिले माटो परीक्षण प्रयोगशाला भिरकोटमै सञ्चालनमा आएसँगै किसानलाई राहत मिलेको छ ।