काठमाडौं । भक्तपुरमा मनाउने विश्व प्रसिद्ध बिस्केट जात्रामा रथ तान्ने क्रममा ढुङ्गामुडा गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेका छन् भने बाँकीलाई सिसिटिभि क्यामराबाट पहिचान गरी पक्राउ गर्ने तयारी गरिरहेका छन् ।
गत चैत्र २७ गते रथ तान्ने क्रममा युवकहरुको एक समूहले भिडमा ढुङ्गामुडा गर्दा केही मानिस घाइते समेत भएपछि प्रहरीले उनिहरु विरुद्ध कडा निगरानी गरेका छन् भने सार्वजनिक ठाउमा ढुङ्गामुडा गरेकाले पक्राउ परेका १२ जनालाई अभद्र व्यबहारको मुद्दा चलाएको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिकाका निखिल कुमार मिश्र, निश्चल मिश्र, अर्जुन लामा जिम्बा, रुकेश गाईजु, युजन नापित, आयुष नाकाजु, संजिव जाकिबन्जार, रोशन धोजु, उकेश राजभण्डारी, सुजित तमखु लगायत छन् ।
हामीले यस विषय भक्तपुर जिल्ला प्रहरी नायब उपरीक्षक बशन्त पाठकसंग बुझ्दा उनले ढुङ्गा हान्ने समूह पक्राउ गरी मुद्दा चलाएको पुष्टि गरेका छन् ।
उनले थप भने ‘रथ तान्ने क्रममा तल्लो टोल र माथिल्लो टोलको नाममा अराजक समूहले ढुङ्गामुडा गर्छन् तर त्यसको असर जात्रा हेर्न आएका वृद्ध र बालबालिकाले बेहोर्नु पर्छ त्यसैले उनिहरु विरुद्ध मुद्दा लगाएको बताए साथै अरु ढुङ्गा हान्ने समूहलाई पनि सिसिटिभिबाट पहिचान गरी गिरफ्तार गर्ने बताए ।
नेवार समुदायको महत्त्वपूर्ण पर्वको मनाउने यस जात्रा ऐतिहासिक पक्ष मात्रै नभई पुर्णरुपमा तान्त्रिक एवं धार्मिक विधिअनुसार मनाउने गर्दछन् ।