बर्खा नलाग्दै पहिरोको चिन्ता

उज्यालो प्रतिनिधि २९ चैत्र २०७९, बुधबार समाचार

बागलुङ । आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन ।

घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिराले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ ।

गत भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन । दशैँका बेला एक साता निरन्तर वर्षा हुँदा पहिरो निरन्तर बगिरह्यो । गाउँले घर छाडेर छिमेकमा बसे । हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन् ।

“हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन”, स्थानीय कुलराज शर्माले भने, “अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन ।” पहिरोका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिँडे । पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उनलाई पोखरा लगे । कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन् ।

“पहिरोले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ”, शर्मा भने, “घरगोठ सग्ला छन् तर भरिला भएनन् ।” आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ । अघिल्लो बर्खा सकिनैलाग्दा सुरु भएको भीषण पहिराबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो ।

“पहिराको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्”, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ ।” हिउँदभरि प्रयास गरेर पहिराको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको उनले बताए ।

बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ । घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउछन् । “हामीले बस्ती स्थानान्त्रण गर्न खोजेका छौँ, तर जग्गाको अभाव छ”, उनले भने, “वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र रु”

वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडित घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतम बताउछन् । खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न नमानेको उनले बताए । डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ–११ को रायडाँडास्थित रामतोलामा प्रदेश सरकार र बागलुङ नगरपालिकाको ध्यान जान आवश्यक छ ।

पहिरोले जैमिनी नगरपालिका–१ वडारको वस्ती पनि जोखिममा छ । गत साताको वर्षापछि पहिरोले माटो बगाउँदा बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान बगाएको छ । वडारका केही परिवार पहिराका कारण विस्थापित हुने अवस्थामा छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार