डोटी । डोटीको दीपायलमा पहिलो पटक बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाखलागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो ।योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगरकार्यपालिकाको भनाइ छ ।
सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताए । योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ ।दीपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो ।