भदौ, २५ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद पम्फा भुसालले भारतसँग जोडिएका खुला सीमा बन्द गर्दै त्यहाँ नेपाली सेना तैनाथ गर्नुपर्ने प्रस्ताव राखेकी छिन् ।
बुधबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरेकी हुन् ।
यद्यपि, अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था भने नभएको भुसालको तर्क थियो । ‘अहिले भिसाको नै व्यवस्था गर्ने अवस्था त छैन तर पनि सीमा बन्द गरी आवागमनमा भने निगरानी गर्नुपर्छ,’ उनले भनिन् ।
उहाँले ‘भारतीय सीमा सुरक्षा बलले जब्बरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनाई थियो, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’
उनले अगाडि थपिन्, ‘सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउन तर खुला बोर्डर बन्द गर्नु पर्छ ।’
नेपाल(भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको उनको आरोप थियो । उनले सीमा क्षेत्रमा नेपाली सेनालाई राख्नुपर्ने प्रस्ताव गर्दै भनिन्, ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ ।’
यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देबेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए ।