काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन ।
वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले आफूहरुको गठबन्धन सही र वस्तुनिष्ठ रहेको बताए । देशको भविष्य बचाउँदै परिवर्तनको रक्षाका लागि, शान्ति र समृद्धिका लागि हामीहरु एक ठाँउमा उभिएको उल्लेख गर्दै उहाँले सुशासन, प्रगति र लोकतन्त्रको पक्षमा उभिएकाले वाम लोकतान्त्रिक गठबन्धन एजेण्डासहित अगाडि बढेको स्पष्ट पारे ।
राष्ट्रको प्रतिभा र श्रम शक्तिलाई देशभित्रै राख्ने एजेण्डासहित आफूले निर्वाचन लडेको जानकारी दिँदै उनले भने “देशको अवस्था बदल्नका लागि हामी एक ठाँउमा उभिएका छौँ । राष्ट्र अगाडि बढ्ने बाटो प्रष्ट पारेर अगाडि बढेका छौँ ।” उच्च मनोबलका साथ जनताका घर दैलोमा जान उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
वरिष्ठ नेता पौडेलले गठबन्धनका तर्फबाट उठाइएका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। उनले नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार नभनी गठबन्धनको उम्मेदवार भन्ने ठानेर एक अर्कालाई विजयी गराउन आग्रह गरे ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






