कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जित्नुभयो ।
नेपाली सेनामा आबद्ध उहाँले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पार्नुभएन तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गर्नुभयो । थारुले गएको असारमा काठमाडौँमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल हुनुभएको थिए ।
जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताए । आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताए । उनले भने, “कीर्तिमान सुधार गर्दा धेरैनै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।”
राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहनुभएका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाए। आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताए । “बुबा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिए ।” उनले भने।
राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भने,“स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।” जयरानीले विसं २०७२ देखि खेल्न थाल्नुभएको हो । त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेल्नुभयो । सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उहाँले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जित्नुभयो ।
आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय हुनुभएका जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनीलाई मिल्यो । उनले विसं २०७६ साउनमा सेनामा भर्ना हुनुभयो । गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्नुहुन्थ्यो उनलेनै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ । आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरैनै साथ र सहयोग मिलेको जयरानीले बताए ।
सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको सुनाए । उनले विगतलाई स्मरण गर्दै भने, “सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भने, बाबा चाँही खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनभयो, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो ।”
सुरुमा चाँही उनीलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो । जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुनुहुन्छ र अहिले एथलेटिक्स प्रशिक्षकसमेत हुनुहुन्छ उनले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाए ।
उनले भने, “मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो । उनको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ ।”
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।