‘धारामा पानी आउँदा खुशीको सीमा छैन ’

उज्यालो प्रतिनिधि २ आश्विन २०७९, आईतवार समाचार

जाजरकोट । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उनीमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र सङ्र्घषका दिन सम्झँदै उनले भने, “छोराछोरी साना हुँदा डोकाले तोरेर (बन्द गरेर) पिउने पानी ल्याउनका लागि आधा घण्टा टाढा जानुपथ्र्यो, आधा घण्टा बच्चा रोइकराइ निद्रामा परिसकेका हुन्थे, अहिले घरआँगनमै पानी आएको छ ।”

धनकलाजस्तै ५१ वर्षीय रमिता विकको पनि पानीकै लागि भोगेको पीडा कम छैन । उनले भने, “आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पाएका छौँ । अब पानीबाट हुने सबै काम गर्छौँ, पानी नहुँदा हाम्रो गाउँमा छोरीबुहारीलाई कति दुःख थिए ।” करिब एक सय ४० घरधुरीभन्दा बढी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दूरी पार गरी डोकामा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो । उकालोमा पानी ल्याउँदा हैरानी खेप्नुपरेको उनले पीडा सुनाए। अब त्यो दुःख पूर्णरूपमा हटेको छ ।

उनीहरूजस्तै नलगाड–१ र २ का छ सय ५० घरधुरीमा एकैपटक घर–घरमा खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साढे चार करोड श्रमदानबाट खानेपानी निर्माण भएको हो ।
विसं २०७४ मा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना करिब पाँच वर्षभित्र निर्माण पूरा भएको छ । चौध किलोमिटर दूरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौबीसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराइएको छ ।

एक सय ५१ ठूला–साना ट्याङ्की निर्माण गरी घर–घरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिए। दलित बस्ती, गढी, छेप्का, बैरीताल, चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौरलगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ ।

कर्णाली प्रदेशका निर्वतमान जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानी आयोजनाको शुभारम्भ गरे । खानेपानी धारामा समस्या तथा मर्मतदेखि अन्य काममा स्थानीयवासी आफैँ सक्रिया हुनुपर्नेसमेत उनले बताए ।

नलगाड नगर प्रमुख डम्बर रावतले खानेपानीको निरन्तर अनुगमन, निगरानी हुनुका साथै समस्या परेमा हल गर्न प्रतिबद्ध रहेको बताए ।

सुत्केरी भैँसीलाई भत्ता

भैँसीपालन कृषकलाई व्यावसायिकरूपमा सक्रिय बनाई दूध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैँसीलाई भत्ता दिन लागिएको छ । नलगाड नगरपालिकाले पालिकाभित्रका सबै सुत्केरी भैँसीलाई भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए। ‘भैँसी सुत्केरी, प्रोत्साहन हातभरि’ भन्ने कार्यक्रमअन्तर्गत भैँसीपालक कृषकलाई भैँसीको व्यावसायिक पालनमा सक्रिय बनाउन यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

गत भदौँदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैँसीलाई रु एक हजार पाँच सयका दरले रकम दिन लागिएको उनले जानकारी दिए । उनले भने, “भैँसीपालन व्यवसाय विस्तारै कम हुँदै गएकाले नगरपालिकाबाट भैँसीपालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटो खुला गरिएको छ ।”

सुत्केरी भैँसीको लगत सङ्कलन भइरहेको नगरपालिकाले जनाएको छ । पूर्वी क्षेत्रको नलगाड भैँसीपालन व्यवसाय राम्रो भएको पालिकामध्येमा पर्दछ । उक्त भत्ता लिएर भैँसीको हेरचाह, आहार र व्यवस्थापनमा खर्च हुने अपेक्षा नगरपालिकाले लिएको छ । वर्षमा एकपटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको छ ।

योजनाले दूध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैँसीपालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालिमटीमा दूध डेरीसमेत सञ्चालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारीमार्फत आधुनिक मेसिन जडान गरी काम सुरु भएको नगरप्रमुख डम्बर रावतले जानकारी दिए । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत् आयोजना निर्माणस्थलसमेत रहेको छ । जनसङ्ख्याको चाप रहेको यस क्षेत्रमा आवत र जावत गर्न समेत सहज रहेको छ ।

यस क्षेत्रमा उत्पादन भएको दूध अन्य जिल्लामा समेत सजिलै ढुवानी गर्न सकिने भएको छ । कृषक रामबहादुर रावलले भैँसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजना राम्रो रहेकोे बताए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार