माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

उज्यालो प्रतिनिधि २० भाद्र २०७९, सोमबार समाचार

भजनी । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ ।

 

“पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उनले भनिन्, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताइन्। बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा वर्षाको फुर्सदको समयमा थारु महिला दिउँसोको खानासमेत लिएर माछाको खोजिमा जाने थारु महिलाका लागि एक परम्पराजस्तै बनिसकेको छ ।

दिनभर माछा मार्ने र साझ त्यहीँ माछा तरकारीको रुपमा थारु समुदायले प्रयोग गर्दै आएका छन् । बढी भएको झिङ्गे माछा सुकाएर राम्रो मूल्यमा बिक्रीसमेत हुँदै आएको सुवर्ण चौधरी बताए । केही हिउँदको महिनाको लागि समेत जोहो गर्दै आएका छन् । बर्सातको समयमा मारेका झिङ्गे माछा सुकाएर हिउँदमा समेत खाने गरेको भजनी नगरपालिका वडा नं ६ कि कृष्णी थारु बताइन् । “थोरै भए आफैँलाई ठिक्क हुन्छ । बढी भए बिक्री गर्छौं । बिक्री भएन भने सुकाएर राख्छौँ ।” उनले भनिन्, “हामीले मारेको माछा खेर जाँदैन । घरका प्रायः सबै जना दिनभर माछा मार्न भनेर हिँडेका हुन्छौँ ।” घरका पाँच जना सदस्यले अलिअलि गरे पनि एकदुई केजी झिङ्गे माछा साँझको समयमा सङ्कलन हुने गरेको उनले बताइन् ।

बर्सातको समयमा थारु महिला मात्रै नभएर पुरुष पनि माछा मार्ने जाल लिएर खोला तथा पोखरीमा व्यस्त हुने गरेको देख्न सकिन्छ । “खासमा धान खेती तयार नहुँदासम्म काम केही हुँदैन । त्यो समयको सदुपयोग गरेका हौँ ।” सुवर्णले भने, “खाली बस्नुभन्दा केही न केही काम गर्नुपर्छ भन्ने मानसिकता हाम्रो हुन्छ । त्यही भएर पनि बर्सातको समयमा माछा मारेर बित्छ ।” माछा मार्नका लागि महिलाले हेल्काको प्रयोग गर्छन् भने पुरुषले जालको । ठूला माछाभन्दा पनि झिङ्गे माछाको खोजिमा थारु महिला व्यस्त रहने गरेको भजनी–६ कि बिन्द्रा चौधरी बताइन् ।

“लामो समयदेखि खाल्डाखुल्डीमा पानी जमेको भए हेल्का हाल्यो भने झिङ्गे माछा आइहाल्छन् । त्यस्तै परेको दिनमा एक केजीभन्दा बढी झिङ्गे माछा पनि भेटाउन सकिन्छ । त्यसैअनुसार घोंगी पनि ।” उनले भनिन्, “त्योभन्दा रमाइलो भनेको साथीहरूसँगै हुने रमाइला कुराहरू दिन बितेको थाहै हुँदैन ।” महिला समूहमा माछाको खोजिमा जाने गर्दछन् । समूहमा गएका महिला काम भने सामूहिक गर्दैनन् ।

पानी जमेको खाल्डाखुल्डीमा होस वा अन्य कुनै कुला नहरमा माछा मार्नको लागि जाँदा जोखिम पनि उत्तिकै छ । फोहोर पानीमा दिनभर रहँदा त्यसबाट छालासम्बन्धी रोगको जोखिम छ भने किरा फट्याङ्ग्राको जोखिम उत्तिकै छ । पहिलेदेखि नै यस्तै अवस्थामा हुर्केका कारण होला कुनै डर त्रास नलाग्ने गरेको भोजराज चौधरीले बताए ।

बजारमा अहिले घोंही प्रतिकेजी रु एक सयमा बिक्री हुने गरेको छ । झिङ्गे माछा प्रतिकेजी रु पाँच सयमा बिक्री हुन्छ । टीकापुर –८ मा रहेको जितु कटेजका सञ्चालक जितबहादुर चौधरीले होटलमा माछा बिक्री गर्न महिला आफैँ आउने गरेको बताए । उनले महिलाले माछा मार्ने कामलाई रोजगारीको रुपमा लिएको बताए । थारु महिलाका लागि यो क्रम कार्तिक महिनासम्म चल्ने जनाइएको छ ।

 

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार