काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले नैतिक रुपमा आफू संसद्मा उपस्थिति हुन नसक्ने बताए । उनले भने, “प्रतिनिधिसभाको यो कार्यकालमा आजको बैठक मेरा लागि अन्तिम हो ।”
निर्वाचन घोषणा भइसकेपछि संसद् चलिरहनु उपयुक्त हुदैन भन्ने पार्टीको धारणा रहेको र त्यसैले आजबाट आफू सांसदको रुपमा संसद्मा उपस्थित नहुने उनको भनाइ छ । अध्यक्ष लिङ्देलले आफू संसद्मा उपस्थित नहुने भएकाले आफ्नो नाममा पठाइने तलब भत्ता रोक्का गरिदिनसमेत आग्रह गरे । उनले झण्डै पाँच वर्षको कार्यकालमा पार्टीको एक्लो सदस्यको हिसाबले संसद्मा उपस्थित हुँदा केयौँ नीतिगत कुरामा आफूलाई उपेक्षा गरिएको जस्तो महसुस गरे पनि सबै दलका सांसदबाट पाएको स्नेह र सद्भावलाई सधैँ सम्झनामा राखिरहने बताए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।