खोटाङको भुत्ते–आयुर्वेद सडकखण्ड ढलान अधुरै

उज्यालो प्रतिनिधि ९ भाद्र २०७९, बिहीबार समाचार

खोटाङ । खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम अधुरै छाडिएको छ । काम गर्ने ठेकेदार कम्पनीले सो काम बीचमै छाडेको हो ।

जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारले ढलान गर्दागर्दै फलामे रड बिछ्याएर काम छाडेपछि हिँडडुल गर्नसमेत समस्या भएको छ । सडकको केही ठाउँमा ढलान गरिएको छ भने केही ठाउँमा रडमात्र बिच्छ्याइएको छ । ढलान गर्न तयारी गरिएको अवस्थामा दुई महिनादेखि ठेकेदार बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सडकमा रड बिच्छ्याएर छाडेपछि पशुचौपाया हिँडाउनसमेत समस्या भएको स्थानीय टङ्कप्रसाद आचार्यले बताए । “हामीले लेकबेँसी गर्नेदेखि पानीपधेँरो जाने बाटो यही हो”, उनले भने, “गाईबस्तु यही बाटो हिँडाउनुपर्छ तर, बाटोभरि रड बिच्छ्याएर छाडिएको छ । रडमा अल्झिएर खुट्टा भाँचिन्छ भन्ने ठूलो डर छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंको टोलीले बुधबार उक्त सडकको अनुगमन गर्नुभएको छ । अनुगमनकै क्रममा निर्माण कम्पनीका प्रमुखलाई प्रजिअ सेडाईंले फोनमार्फत तुरुन्त काम सम्पन्न गर्न निर्देशन दिएका छन ।

असी घनमिटर आरसीसी ढलान, ९१ घनमिटर सोलिङ र ८४ घनमिटर मेसीनरी वाल निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले रु ४२ लाख ३२ हजारको इस्टिमेट निकालेपनि निर्माण कम्पनीले रु २३ लाख ६८ हजारमा ठेक्का पाएको थिए । इस्टिमेटभन्दा झण्डै आधा रकममा यसै वर्ष वैशाखमा काम सक्ने २०७८ माघमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

बीचैमा छाडिएको सडकको काम तत्काल सम्पन्न गरेर सहजता नबनाए कानुनी प्रक्रिया अगाडि बढाइने नगर प्रमुख भट्टराईले बताए । “सडक ढलानमा ठेकेदारको लापर्बाही देखिएको छ”, उनले भने । म्याद सकिएको चार महिना भइसक्दा पनि ७० प्रतिशत मात्र काम पूरा भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सञ्जयकुमार चौधरीले बताए।

यसैबीच सोही निर्माण कम्पनीले नगरभित्रकै अन्य दुई योजना पनि अधुरै छाडेको पाइएको छ । हाडडाँडा काफ्ले गाउँ–धुम्ती बरडाँडा सडकको ढलान, सोलिङ र मेसिनरी वाल निर्माण ४५ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताए । रु ६६ लाख २२ हजारमा ठेक्का सम्झौता भएको उक्त योजनाको गत जेठमै म्याद सकिएको हो ।

यस्तै, दोर्पा–दुम्ली सडकको काम पनि सोही निर्माण कम्पनीले जिम्मा लिएपनि काम सम्पन्न नगरी छाडेको छ । रु ४२ लाख ३६ हजारमा ठेक्का सम्झौता भएको उक्त योजनाको म्याद पनि गत वैशाखमा सकिएको हो । काम सम्पन्न गर्न सम्झौता मिति सकिँदा पनि सरकारको सार्वजनिक खरिद १२औँ संशोधन नियमावली, २०७९ अनुसार देशभरका सबै योजनाको सम्झौता अवधि एक वर्षलाई थपिँदा निर्माण कम्पनीलाई सहज भएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार